सन् २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा विवेकशील पार्टीबाट राजनीतिमा प्रवेश गरेकी छन्।
पार्टी प्रवक्ता सूर्यराज आचार्यका अनुसार आइतबार बसेको केन्द्रीय समिति बैठकले सिग्देललाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
सिग्देल हात्तीहात्ती नामक संस्थाको संस्थापक अध्यक्षसमेत हुन्। उनले पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्दै आएकी छन्।
‘धेरैको अपेक्षा म सिने कलाकार, मोडल, फेशन डिजाइनर वा टेलिभिजन प्रस्तोता नै हुने होला भन्ने रहेछ। तर मलाई भित्रैदेखि राजनीतिक रूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्ने रहर छ,’ सिग्देलको भनाइ उद्धृत गर्दै प्रवक्ता आचार्यले प्रेस विज्ञप्तिमा लेखेका छन्।
युवा पुस्ता राजनीतिमा सक्रिय हुनुपर्ने आवश्यकता रहेकोले अग्रजसँग हातेमालो गर्दै अघि बढ्ने पनि उनले बताएकी छन्।