'लिलिबिली' सिनेमाको हिसाब-किताब नदेखाएको आरोपमा पक्राउ परेका निर्माता तथा वितरक निर्माता गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
शाहीविरूद्ध अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’का निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले एक वर्ष अगाडि महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा प्रहरीले शाहीलाई बुधबार कमलपोखरीबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै प्रहरीले उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत पुर्याएको थियो ।
उनलाई प्रहरीले ‘अपराधिक विश्वासघात तथा अपराधिक लाभ’को मुद्धामा पक्राउ गरेको महाशाखा प्रमूख एसएसपी सहकुल थापाले सेतोपाटीलाई बताए ।
फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (सेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माता द्वय मिलन र सुदीपले उजुरी दिएका थिए।
कहिले निर्माता कुट्ने, कहिले वितरक कुट्ने, कहिले हल मालिकलाई कुट्ने लगायतका उजुरी परेपछि शाहीलाई निर्माता संघले संस्थाको अपेक्षित आचरणका विपरित काम गरेको भन्दै उपाध्यक्ष पदबाट केहि समय अगाडि बर्खास्तसमेत गरेको थियो।