लोकगीत भन्ने बित्तिकै सबैको मानसपटलमा लोकले गाउने गीत अथवा लोकको गीत भन्ने बुझिन्छ।
विशेषतः लोकगीतमा सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक, ऐतिहासिक र साँस्कृतिक परिस्थितिहरूको चरित्र चित्रण गरेको पाइन्छ।
लोकगीत कुनै पनि जाति, स्थान, समाजको साझा सम्पत्ति हो। लोकगीत समाजको गीत हो यो समाजले गाएको हुन्छ, बचाएको हुन्छ समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ।
लोकगीत राष्ट्रको गहना हो, सम्पत्ति हो। तर पछिल्लो समय लोकगीतमा आएको विकृतिलाई ध्यान दिन जरूरी छ। लोकगीत भन्ने बित्तिकै स्याङ्जा जोडिन आइपुग्छ। स्याङ्जालाई गीत, संगीत र संस्कृतिको भण्डार भने हुन्छ। स्याङ्जा जिल्लाबाटै रेडियो नेपालमा गीत रेकर्ड गराउने प्रथम कलाकार चन्द्रबहादुर सेन ‘मसाने’, लगायतका पुराना अग्रज कलाकारहरूलाई बिर्सन सकिन्न।
कति साह्रै जमेको पिरती, बीचमै छुटायो दैवले,
पर्ख तिमीलाई, जाल बुन्नेलाई,
मसानेले गाएको यही एउटा गीत मात्र रेकर्ड भएको पाइन्छ भने उनका अन्य चर्चित र लोकप्रिय गीत भने त्यत्तिकै हराएर गए। स्याङ्जामा कुनै समय अत्यन्तै लोकप्रिय बनेको एउटा भाका ‘साइलो दाइ काँ गयो, पानी खाँदा न्याउली जुरायो’ का स्रष्टा पनि मसाने थिए।
गायक मसानेले राजाबाट तक्मा समेत पाएका छन्। यसरी गीत तथा अभिनय कलामा लागेर राजाबाटै सम्मानित र पुरस्कृत हुने ‘मसाने’ सम्भवतः पहिलो स्याङ्जाली कलाकार हुन्।
हाल मसाने हामीसामू नभए पनि उनका ती कालजयी गीत आज सबै कलाकारका लागि प्रेरणाको स्रोत बनेको छ, त्यसैको कारण त अहिले हामीले लोकगीत संगीतमा स्याङ्जालीहरूको भूमिकालाई हेरेर गौरव महशुस गर्न पाइरहेका छौं।
व्यवसायिक र राष्ट्रियस्तरमै उल्लेखनीय रूपमा चर्चा नभए पनि सावित्री शाह, चन्द्रबहादुर गाहा, दिलबहादुर श्रेष्ठ, रत्न बानियाँ, नविन गुरुङ, चेतमान गुरुङ, बेलबहादुर गुरुङ, राममाया गुरुङ, बासमती गुरुङ, दोलमाया गुरुङ, विष्णु गुरुङ स्याङ्जाली, जगन्नाथ न्यौपाने, रामप्रसाद पाठक लगायतका दर्जनौं कलाकारहरूको योगदान पनि लोकगीत संगीतको इतिहासको कहिल्यै भुल्न सकिन्न। जसका कारण यी कलाकारहरू स्याङ्जाली गायन क्षेत्रकै नमूनाका रूपमा परिचित छन्।
लोकगीत संगीतको नयाँ पुस्ताका बारेमा हेर्ने हो भने स्व. सूर्यकुमार क्षेत्रीको नाम पनि महत्वपूर्ण छ। ३३ वर्षको कलिलो उमेरमै अस्ताएका क्षेत्रीले पनि लोकगीत संगीतमा छोटो समयमै उल्लेखनीय योगदान पुर्याएका छन्।
उनका डाली पलायो, उडी जाने जेट, धानको सिरौला, धोका दिनेलाई के भनु र खोइ, लगायतका दर्जनौं गीत चर्चामा रहेका छन्।
यसरी पुराना अग्रजदेखि अहिलेको अवस्थामा आउँदा पनि नेपाली गीत संगीतमा चर्चित र राष्ट्रिय स्याङ्जाली लोककलाकारहरूको संख्या बढ्दो छ। यहाँ हामीले स्याङ्जाली कलाकारहरूको बारेमा चर्चा गरेका छौं जो लोकगीत संगीतमा जल्दोबल्दो हस्तीका रूपमा लोकप्रिय र चर्चित छन्।
राजेन्द्र लम्साल क्षेत्री
‘‘धान झुलेको छ,
कहाँ जाउँ कहाँ जाउँ भैरहन्छ मन डुलेको छ’’
यो लोकप्रिय गीतका सर्जक हुन् राजेन्द्र लम्साल क्षेत्री। स्याङ्जाली भूमिमा जन्मिएर हाल युरोपमा बस्ने वरिष्ठ लोककलाकार क्षेत्रीको पनि लोकगीत संगीतमा योगदान रहेको छ।
२०४० सालदेखि रेडियो नेपालमा गीत गाउन सुरू गरेका लम्सालका ज्याग्दी खोला किनारै बसेर, धान झुलेको छ, शिरमा रिबन सलको पछ्यौरी, हिरा जस्तो सररर छ तिम्रो मुहार, अब मैले बिर्सु कसरी, शून्य भयो डाँडैको चौतारी लगायतका दर्जनौं गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
पुरुषोत्तम न्यौपाने
कालीगण्डकी गाउँपालिका–५ बलाम बेलटारीमा जन्मिएका अग्रज लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर लोकगीत संगीतको क्षेत्रमा प्रवेश गरेका हुन्।
हालसम्म हजार बढी गीतमा आवाज दिएका न्यौपानेले राष्ट्रिय गीत, भजन एवं तीजका गीतहरू समेत बजारमा ल्याएका छन्। न्यौपानेले स्वर दिएका गीतमा ‘ऐना हेरेर’, ‘मिर्मीमुनि काली थुनेको’, ‘लर्के जोवन’, ‘श्रीखण्ड चन्दन’, ‘ऐना हेरेर’, ‘फूलको बासना’, ‘झिलझिल सितारा’, ‘रुन्छ नि मन किन रुँदैन’ र ‘घामजस्तो चम्किलो जून हुँदैन’ लगायत चर्चित छन्।
गोपाल जिटी
वालिङ न.पा. वडा नं ८ भिमटारीमा जन्मिएका गायक गोपाल जिटीको नाम अग्र स्थानमा आउँछ। अझ स्याङ्जाली कलाकारको विषयमा चर्चा गर्दा त उनको नाम छुटाउनै सकिन्न। २०४६ सालमा ‘रुन्छु सधै मुटु समाउँदै’ रेडियो नेपालमा रेकर्ड गरेर लोकगीतको औपचारिक यात्रा थालेका जिटीले संख्यात्मक रूपमा धेरै गीतहरू बजारमा नल्याए पनि लोकगीत संगीतको क्षेत्रमा उनले गरेको योगदान सम्झन योग्य छ।
उनका ‘डोरी छिन्छ कि’, ‘सलल यो आधिखोला’, ‘वालिङ भिमटारी’, ‘रात दिन सम्झना आउँछ’, ‘बालिङमाथी गह्रौसुर भीर’ लगायतका केही गीतहरू चर्चामा छन्।
रमेश विजी
पुतलीबजार नगरपालिका वडा नं १४ लामागेमा जन्मेका अर्का चर्चित अग्रज लोककलाकार रमेश विजीले २०५५ सालदेखि दोहोरी प्रतियोगिता गायनबाट यस क्षेत्रमा प्रवेश गरेका हुन्।
आजकल एक, दुइटा गीतहरू गाउने बित्तिकै सयौं गाइयो भन्ने प्रचलन भए पनि आफूले सयौं गीतहरू गाएपनि २/३ सय चाहिँ पक्कै राम्रो गरेको उनले बताए। लाइछौं फेसन, सररर पानीघट्टामा, सान्नानीले झुक्कायो मलाई, पूर्वैमा झ्याल राखे लगायतका थुप्रै गीत चर्चामा छन् जुन गीतले उनलाई चिनाए पनि। स्याङ्जा जिल्लाको प्रतिनिधित्व गरेकै कारण बिजीले थुप्रै पटक राष्ट्रिय अर्वाडहरू पनि हात पारेका छन्।
शर्मिला गुरुङ
वालिङ नगरपालिका–४ खाल्टेकी लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले २०५७ सालमा स्वर परीक्षा पास गरेर लोकगीत संगीतमा सक्रिय भएकी हुन्। उनले गाएका नीलो पछेउरी, राम्दी पुल, ‘मिर्मीमुनि काली थुनेको’, ‘रानीघाटैमा’ लगायत थुप्रै सालैजो र एकल गीत चर्चामा छन्। लोक तथा दोहोरीसँगै गुरुङले एकल, सालैजो, कौडा गरी हालसम्म २५ सय बढी गीतमा स्वर दिइसकेकी छिन् भने करिब ५० गीतहरूको रचना समेत गरिसकेकी छिन्। विशेषत: तीजका गीतमा मौलिकता पस्कने गायिकाको रूपमा गुरुङलाई चिन्न सकिन्छ।
भगवान भण्डारी
नेपाली सांगीतिक क्षेत्रमा स्थापित र चर्चित अर्का नाम हो भगवान भण्डारी। स्याङ्गजाको चापाकोटमा जन्मेका चर्चित लोक गायक भण्डारीका दर्जनौंको सुपर हिट गीतहरू छन्। सिर्जनात्मक तथा आवाजको माध्यमबाट नेपाली लोकसंगीतको क्षेत्रमा निकै योगदान पुर्याएका भण्डारी हाल अमेरिकामा छन्। ब्रिग्यो चाल पनि, खैरेनीमा गेट, फूलमा भमरा, दिलको ढोका बन्द, वनमा काँडा छ, आमा तिम्रो दस धारा दूधको भारा तिर्न सकिनँ, डाली लर्कायो, लोकतन्त्रको कोपिला लाग्यो र मेरी माया आइनन् फर्केर, लगायत धेरै चर्चित गीतहरूले नेपाली लोकसंगीतको क्षेत्रमा राम्रो चर्चा एवम् लोकप्रियता बटुल्न सफल छन्।
एकनारायण भण्डारी
स्याङ्जाली भूमिमा जन्मेका अर्को चर्चित लोककलाकार तथा संगीतकार एकनारायण भण्डारी हुन्। गल्याङ नगरपालिका ९ गेझामा जन्मेका भण्डारीका करिब ५ सय बढी गीतहरूको सिर्जना गरिसकेका छन्। २०५५ मा लोकगायक बुद्धिसागर बस्यालको स्वरमा ‘देउरालीमा हावा चल्यो मनभित्र हुरी’ बोलको गीत भण्डारीको रचनामा निर्माण भएको पहिलो गीत हो भने भण्डारीको लोकगीत संगीतमा चलेका अन्य गीतहरूमा ‘सुपारी चाम्रो’, ‘लालुपाते नुघ्यो भुइँतिर’, डाँफे नाचेर, जिम्माल बाको आँगनीमा, हातमा रातो झोला लगायतका दर्जनौं गीतहरू हिट छन्। उनी लोकसँगै आधुनिक गीतमा पनि सक्रिय छन्।
पशुपति शर्मा
नेपाली लोकसंगीत भन्ने बित्तिकै छुटाउनै नसिकने र सबैले सम्झने नाम हो, पशुपति शर्मा। पुतलीबजार नगरपालिका वडा नं ३ मा जन्मिएका शर्माका सयौं गीतहरू लोकप्रिय छन्।
शर्मा सधैंभरि हिन्दी गीत र आधुनिक गीतमा मस्त हुने युवा पुस्तामा पनि लोकगीत संगीतको छाप बसाउन सक्ने कलाकारका रूपमा समेत स्थापित छन्। सानै उमेरदेखि घर परिवारको सहमतिबिना लोकगीत संगीतमा हात हालेका शर्माले २०५८ सालमा ‘स्याङ्जामाथि वन’ पहिलो गीत गाए। त्यसपछि क्रमशः उनका दिन खुले बजारमा ल्याएका गीतहरू एकपछि अर्को हुँदै हिट हुन थाले।
शर्माका ‘क्याम्पस पढ्न आउनी’, ‘मलाई अमेरिका यहीँ’, ‘ढाड दुखेर मार्यो’, ‘क्या उत्तानो पार्यो ’, ‘बल्ल पो पीर पर्न थाल्यो, ‘झम झम दर्कियो पानी’, ‘बत्ती बाल्नै पर्दैन् त्यो गाउँमा’ लगायत धेरै गीत चर्चामा छन्। स्वदेश तथा विदेशमा हुने महोत्सव र विविध कार्यक्रमका लागि पनि शर्माकै नाम पहिला आउने गर्दछ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रथम उपाध्यक्ष समेत रहेका शर्मा समाजमा घट्ने घटनाहरूलाई रोचक तथा घोचक माध्यमबाट गीतमा उर्तान सिपालु मानिन्छन्।
विष्णु माझी
चापाकोट नगरपालिका वडा नं ७ माझी गाउँमा जन्मिएकी विष्णु माझी लोकगीतमा सबभन्दा चर्चित नाम हो भन्दा फरक नपर्ला। उनी नेपाली संगीत जगतमा विगत ११ वर्षदेखि सक्रिय छिन्।
नेपाली लोकगीतको क्षेत्रमा उनको ठूलो योगदान छ। कसलाई सोध्ने होला मै छोरी सलल..., न जाउ है सानु पँधेरीमा, घामले नि पोल्दियो, जून लेनी जाडो भो, रुमाल हल्लाई हल्लाई, भैटै हुन्न होला र लगायतका सयौं गीतहरू लोकप्रिय छन्।
पछिल्लो समय सबैको मन मुटुमा बसेको सालको पातको टपरी हुने गीतमा समेत उनै माझीको स्वर रहेको छ। जुन गीतले युट्युबमा २ करोड भ्युअर नाघिसकेको छ। माझीका विषयमा उनी व्यक्तिगत जीवनमा अप्ठ्यारोमा परेकोले बाहिर त्यति नखुलेको भन्दै अनुमान गरिए पनि हालसालै उनले जिल्ला प्रशासन कार्यालय स्याङ्जा पुगेर आफ्नै कारणले गुमनाम भएको बताइसकेकी छिन्।
शकुन्तला थापा
पुतलीबजार नगरपालिका वडा नं १३ चारखुट्टेमा जन्मिएकी शकुन्तला थापाको सानै उमेरदेखि लोकगीतमा रुची भए पनि औपचारिक रूपमा २०५८ सालमा सुन्तला र स्याउ, जडीया पोइ लगायतका गीतबाट लोकगीत संगीतमा हात हालिन् र चर्चा पनि कमाइन्।
हालसम्म २ सयभन्दा बढी गीतमा स्वर दिइसकेकी थापा हाल भने इटालीमा छिन्। प्रवासमा रहेर समेत लोकगीत संगीतमा सक्रिय रहेकी थापाले प्रवासबाटै पनि बेलाबेलामा एल्बमहरू सार्वजनिक गरेर समेत लोकप्रिय छिन्।
विशेषतः तीजमा मौलिक गीतहरूको सिर्जना गर्ने कलाकारको रूपमा परिचित थापाका सुन्तला र स्याउ, जडिया पोई, रातो पछ्यौरी, बाबाले सारेको सुन्तलाको बिरुवालगायतका थुप्रै गीतहरू चर्चामा छन्।
खुमन अधिकारी
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ गुरुङ्दीमा जन्मेका अधिकारीले २०६३ सालमा ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीतबाट लोकगीत क्षेत्रमा कदम चालेका अधिकारीले हालसम्म ८ हजार बढी गीतहरूमा स्वर दिइसकेका छन् भने सयौं गीतको रचना गरेका छन्।
‘त्यो मन रुन्न होला र’, ‘जोर शंक फुकेर’, ‘मनको देउतैले’, ‘कपाल कोर्ने काइयो’, ‘स्याङ्जालीलाई नभन जाली’ लगायत थुप्रै गीत अधिकारीलाई चिनाउन सफल रहे भने उनका उल्टो सुनेर, केटी पट्याउन, चोली ढाकाले, लयो पराइले लगायतका दर्जंनौ गीतहरू सुपरहिट छन्।
रामजी खाँण
चापाकोट नगरपालिका ४ मा जन्मिएका खाँणले झण्डै १८ वर्षअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘वालिङ बजारमा’ बोलको गीतबाट लोकगीत संगीतमा पाइला चाले। गायनसँगै मोडलिङमा पनि उत्तिकै सिपालु खाँणका धेरै चर्चित गीत बजारमा छन्।
खाँणले स्वर दिएका गीतमा ‘पछ्यौरी लेऊ बैना’, ‘फूल फूलेर पहेंलै भयो’ ‘दामी देखिन्छ’, चिनो हरायोलगायत दर्जनौ गीतहरू चर्चित छन्। देश तथा विदेशमा हुने विविध महोत्सवका कार्यक्रममा उनको माग बढ्दै गइरहेको छ।
शंकर बिरही गुरुङ
बिरुवा गाउँपालिका वडा नं ८ मा जन्मिएका शंकर बिरही गुरुङ २०५३ सालदेखि नै लोकगीत गाउने गरे पनि २०६० सालमा ‘लाग्न थाल्यो आश’ को रेकर्ड गराए। त्यसपश्चात लोकगीतमा औपचारिक रूपमा प्रवेश गरे।
२ दर्जन बढी गीतहरूको सिर्जना गरिसकेका गुरुङका खोली तरौला, तिम्लाई पाउन गाह्रो भयो, फोनै आएन त्यसैगरी सालैजो भाकाहरूमा पोखरा बजार, देउराली भन्ज्याङ, राम्दी पुल पारी हिट छन्।
शिव हमाल
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ४ मा जन्मिएका गायक शिव हमाल पछिल्लो समय लोकगीत संगीतमा प्रशिद्ध नाम हो। २०६१ सालदेखि नै लोकगीतमा सक्रिय भएर लागे पनि उनले जब वि.स. २०६६ सालमा ‘पछ्यौरी लेऊ बैना’ को शब्द लेखे। त्यसपछि उनी सबैमाझ परिचित भए।
हालसम्म हजार बढी गीतहरूमा स्वर दिइसकेका हमालका देउरालीको भट्टी पसल, रक्षा गर हरी, कसलाई सोध्नी होला, सानू कहाँ छौं, हाँस्न सिकायौ, हावा चल्यो सरर, आकाशैमाथि लगायतका दर्जनौं गीत हिट छन्।
राजु गुरुङ
वालिङ नगरपालिका वडा नं ४ एलादी खाल्टेमा जन्मिएका गुरुङ २०६० सालदेखि लोकगीत संगीतमा सक्रिय रहेका छन्।
‘तीते करेली’ नामक गीतबाट अत्यधिक चर्चा कमाएका गुरुङले करिब ५ सय बढी गीत गाइसकेका छन्। ‘तीते करेलीले’, ‘झल्को आउँछ त्यो आधिखोलाको’ ‘बसेर खाउली’, ‘यतातिर हेर्नै भुलेछु’ सहित थुप्रै सालैजो गीतहरू चर्चामा छन् ।
लोकनाथ सापकोटा
आधिखोला गापा वडा नं ६ फाफरथुममा जन्मिएका गायक सापकोटाले २०५८ सालमा ‘नजर जाली छ’ भन्ने गीतबाट लोकगीतमा प्रवेश गरे तर त्यतिबेला उक्त गीत चलेन। नचले पनि उनले सांगीतिक यात्रालाई निरन्तरता दिए र ‘माइक्रो मिनिबस-२०५९’, बजारमा त्यसले उनलाई चिनायो।
उनले चलचित्र मुग्लाङका लागि लेखको लोकशैलीको गीत ‘दसैं आयो’, म तिम्रै राजेश हमाल, झ्याइ पारौ निरुता सिंह, पन्चेबाजाको बसन्ती, मोबाइलमा मिसकल, आधिखोले स्याङ्जाली ठिटो लगायतका हिट छन्। सापकोटाले पछिल्लो समय निर्माण गरेको स्याङ्जा जिल्लाको पर्यटनलाई सघाउँ पुर्याउने उद्धेश्यले ‘आइ लभ यु स्याङ्जा’ गीत बजारमा उक्त गीत अहिले चर्चाको शिखरमा छ।
कला पंगेनी
गल्याङ नगरपालिका मालुङ्गा टुनीबोटको बसिन्डाँडामा जन्मिएकी कला पंगेनी स्कुल पढ्दाको उमेरदेखि नै स्टेजमा चढेर उत्साहित हुँदै गीत गाउने गर्थिन्। २०६५ सालमा ‘माया मारेर’ नामक एकल गीत रेकर्ड गराएपछि उनको औपचारिक लोकगीतको यात्रा सुरू भयो। जुन गीत त्यो समयमा हिट पनि भयो। त्यसपछि दोहोरीमा जम्ने खालका बोले हुन्न, मुहार हसिलो, जोगाउनु छ कालापानी, जवानीको जोश लगायतका गीतहरू चले। हालसम्म करिब एक सय गीतहरूको गाइसकेकी पंगेनीका मौलिक तीज गीतहरू पनि बजारमा हिट छन्।
घनश्याम रिजाल
हालको वालिङ न.पा. वडा नं ४ केराबारी स्याङ्जामा जन्मिएका गायक रिजाल विशेषतः महोत्सवहरूमा माहोल तताउने गायकका रूपमा परिचित मानिन्छन्।
पारिवारिक माहोल नै गीतसंगीतको भए पनि २०६० सालमा रेडियो नेपालको देउराली कार्यक्रममा ‘मनमुटुमा तस्बिर कोरेर’ गीतबाट सांगीतिक यात्रा सुरू गरे।
पछिल्लो समय स्याङ्जाबाट उदाउँदो कलाकारका रूपमा देखिएका रिजालले २०६७ मा भर्भर आगो बल्दै हुनेछ गीत सार्वजनिक गरे जसले उनलाई सर्वत्र चिनायो। त्यसपछि उनका सबको पछि लाग्ने भा छु, घर शून्य भो, बाख्रा पालम्ला लगायतका गीतले थप चर्चामा पुर्यायो।
राजन कार्की
२०६३ सालदेखि लोकगीत संगीतमा प्रवेश गरेका स्याङ्जा आधिखोला गाउँपालिका ३, बिचारी चौताराका कार्कीको ‘पान खायो मायाले’ अहिले सर्वत्र चर्चामा रहेको छ। हालसम्म करिब ५० गीतहरूमा स्वर दिइसकेका कार्कीको आँसु नझार, छोराले बाउ भुल्ने बेला भो, मेरी आमा आउँदिनन् फर्केर लगायतका गीत चर्चामा छन्।
कृष्णा गुरुङ
वालिङ न.पा. ३ माझकोट शिवालयमा जन्मिएकी स्याङ्जाकी चेली कृष्णा गुरुङ पनि लोकगीत संगीतमा स्थापित नाम हो। २०६१ सालमा एकादेशी बजारमै गीत बजारमा ल्याएकी गुरुङलाई त्यही गीतले नै चर्चाको शिखरमा पुर्यायो र राष्ट्रियस्तरको लोक गायिकाको रूपमा परिचित बनायो। हालसम्म दर्जन बढी गीत गाएकी गुरुङका ‘दामी देखिन्छ, म, त हजुर नेपाली, जाम भन्यो लाहुँरेले, निधारैमा लेखेसी, एक एक गरे दुइ हुन्छ, सालैजोहरू लगायतका गीत चर्चामा छन्।
गोपीकृष्ण पंगेनी
स्याङ्जाको स्वरेक –१ मा जन्मेका पंगेनी हाल रोजगारीको सिलसिलामा प्रदेशमा छन्। उनलाई बाध्यताले प्रदेश पुर्याएपनि उनको आफ्नो लोकगीतको माया प्रेमलाई बिर्सन सकेनन्। सन् २००३ मा युएई छिरेसँगै उनी प्रवासमै बसेर पनि लोकगीतप्रति सक्रिय रहे। त्यसपछि उनी परदेशमा हुने विविध कार्यक्रमहरूमा सहभागी हुँदै गर्दा परदेशीको कथा व्यथा समेटेर म त परदेशी गीत बजारमा ल्याए। त्यही गीतले उनलाई चिनायो। त्यसपछि परदेशीको सम्झना सालैजो र मायाले मन बराल्छ नामक गीत बजारमा ल्याए।
यसबाहेक स्याङ्जाली कलाकारको पहिचान बनाइसकेका अन्य कलाकारमा बहुचर्चित गीत ‘भैंसी पालेर’ गएका अर्जुन गैरे, दुर्गा गुरुङ, इन्द्रा गुरुङ, नेत्रप्रसाद पाण्डे, जगन्नाथ न्यौपाने, मधुर गिरी, सुजन लम्साल, दीपक भट्टराई लगायतका दर्जनौं कलाकारहरू रहेका छन्।
लोकगीत संगीतमा जसरी अग्रज र चर्चित राष्ट्रिय कलाकारहरू रहेका छन् त्यसरी नयाँ उदयीमान कलाकारहरूको लर्को छ। यसरी उदयीमान कलाकारको रूपमा लोकगीत संगीतमा हात हालेका विष्णु कुमार गिरी, मनिषा शर्मा, शंकर ढकाल, तारा शर्मा पौडेल, सन्तोष सुनार, उमादेवी खनाल, लगायतका सयौं युवापिँढी कलाकारहरू समेत रहेका छन्। यिनै उदयीमान कलाकारहरूले नेपाली लोकगीत संगीतको भोलिको भविष्य जीवित राख्नेमा कुनै दुई मत छैन।