अभिनेता विल्सन विक्रम राईले आफ्नो अभिनयमा विविधता नभएको र पैसामुखी भएको स्वीकार गरेका छन्।
आफ्ना चरित्रमा आफूलाई स्थापित गरेको 'तक्मे बुढा'को चरित्रकै ह्याङओभर रहेको उनको भनाइ छ ।
विल्सन अभिनित 'कबड्डी कबड्डी कबड्डी' शुक्ररबारबाट प्रदर्शनमा आउँदैछ।
यसपटक पर्दामा उनले सिनेमामा मुस्ताङे काजी बनेका दयाहाङ राईलाई घान्द्रुकको धनकाजी बनेर टक्कर दिदैं छन्।
‘म तक्मे पात्रमा कतिसम्म डुबेको रहेछु भन्ने ‘कबड्डी ३’ गर्दा चाल पाएं। छायाँकनको दौरान सुरुवाती दिनमा मेरो हाउभाउ, लवजमा तक्मेको प्रभाव देखिदो रहेछ', उनले भने, 'सिङ्घम बनाउन ल्याएको तक्मे नै बन्ने भयो भन्ने खालका टिप्पणी पनि भए । त्यसपछि आफुमा परिवर्तन ल्याउनु पर्छ भन्ने सोच पलायो।’
यसै साता भएको पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो अभिनयमा 'तक्मे बुढा'को ह्याङओभरसँगै पैसामुखी भएको पनि स्वीकारे।
योसँगै उनले त्यसको धङ्धङी मेटाउन आफूले रामबाबु गुरूङ निर्देशित सिनेमामा एकदमै मेहेनत गर्नुपरेको बताए।
‘तक्मेबाट आफुलाई धनकाजीमा ढाल्न एकदमै मिहेनत गर्नुपर्यो । धनकाजीको लवज, हिडाई, मनोविज्ञान भित्र आफुलाई प्रवेश गराएको छु भन्ने लागेको छ’, उनले भने।
यसैगरी उनले सो भेटघाटमा यो सिनेमा गरेपछि राम्रोसँग सिनेमाको स्क्रिप्ट पढेरमात्र काम गर्नुपर्ने ज्ञान पलाएको भनाइ राखे।
उनले यसअघि निर्माताले दिने चेकका अंकमा रहेको शून्य राम्रोसँग पढेपनि कथाको एक अक्षर नपढ्ने गरेको पनि खुलासा गरे।
‘हामी चेकको जिरो चाहिँ राम्रोसँग पढ्छौं तर कथाको एउटा अक्षर पनि राम्रोसँग पढ्दैनौं’, उनले भने- ‘यो फिल्ममा त मैले सेटमा गएर पनि कथा पढ्थेँ, जुन यसअघि कहिल्यै गरेको थिइनँ।’
उनले 'कबड्डी कबड्डी कबड्डी' गरेपछि सिनेमामा ध्यान दिनुपर्ने थुप्रै कुरा सिकेको बताउँदै त्यसलाई अब आफ्ना आगामी सिनेमामा लागु गर्ने बताए।