नेपाल स्रष्टा समाजले आफ्नो बाह्रौं साधारण सभाको अवसर पारेर दुई स्रष्टालाई सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक समारोहका बीच समाजले यस वर्षको 'सुभद्रा विश्वराज स्रष्टा सम्मान'बाट घनश्याम कँडेललाई र 'प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान' बाट महेश पौडेललाई सम्मान गरेको हो।
यी दुई पुरस्कारको राशी क्रमशः पन्ध्र हजार एक सय एघार र एघार हजार एक सय एघार रूपैयाँ छ।
कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले घनश्यामका रचनाले समाजमा चेतना छर्न सहयोग गरेको बताउँदै संस्थाले पुरस्कारका लागि उपयुक्त पात्र छनोट गरेकाले संस्था नै सम्मानित भएको अभिव्यक्ति दिए। उनले स्रष्टा समाजबाट प्रकाशित 'स्रष्टा दर्पण'को पच्चीसौं अंकको विमोचन समेत गरे। साथै समाजले नेपाली मौलिक रचनालाई विश्व बजारमा लैजाने विशिष्ट कार्य गरेको बताए।
संस्थाका संरक्षक पवन आलोकले पनि स्रष्टा समाजले निरन्तर साहित्यिक गतिविधिमा संलग्न हुँदै देशभित्र र बाहिरका स्रष्टालाई जोड्ने पुलको काम गरेको बताए। सम्मानित स्रष्टाको परिचय दिँदै गोविन्दमानसिंह कार्कीले उपयुक्त पात्र चयन भएकोमा सन्तुष्टि व्यक्त गरे।
सम्मानित स्रष्टा महेश पौडेलले पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै मानिसले आफ्ना हरेक क्षणलाई कला, चिन्तन र साहित्यसँग जोड्नुपर्ने भनाइ राखे। हाल नेपाली साहित्य भिडभाड, असन्तुष्टि, अस्तव्यस्तबाट शब्द टिपेर कलाको लेपन लगाउनुपर्ने अवस्थामा रहेको भन्दै दुःख व्यक्त पनि गरे। उनले राजनीतिलाई समातेर राष्ट्रको भावना निर्माण हुन नसक्ने बरू त्यस्तो भावना कला, साहित्यले निर्माण गर्ने बताए।
कार्यक्रममा बोल्दै कथाकार माया ठकुरीले युवाबाटै धेरै कुरा सिक्न सकिने बताइन्।
कार्यक्रममा संस्थाका महासचिव पुष्पा खनालले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् भने नवराज अवदोषीले कोषाध्यक्षको प्रतिवेदन पेश गरे।
सभापतिको आसनबाट बोल्दै कवि विधान आचार्यले स्रष्टा समाजले नेपाली साहित्यलाई विश्व बजारमा लैजान बंगलादेश, स्वीडेन, डेनमार्क, भारत, चीन लगायतका राष्ट्रसँग सहकार्य भइरहेको जानकारी दिइ। उनले मातृभाषा र नेपाली भाषाका साहित्यिक रचनालाई अंग्रेजीमा अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्नेतर्फ संस्था क्रियाशील रहेको पनि उल्लेख गरे। आचार्यले नेपाली सांस्कृतिक सम्पदामाथि साहित्यिक सिर्जना गरिनुपर्ने प्रस्ताव समेत पेश गरेका थिए।
कार्यक्रममा श्रीओम रोदन, नरेन्द्र बहादुर श्रेष्ठ, रमेश शुभेच्छुक, बिन्दु शर्मा, नेत्र एटम, चेतनाथ कँडेल, जानु धिताल, पुष्करराज भट्ट, रश्मि रिमाल, तर्कना शर्मा, रञ्जना निरौला लगायतका कवि, लेखकहरूको उपस्थिति थियो। कार्यक्रम संस्थाका सदस्य लेखजङ्ग खत्रीले सञ्चालन गरेका थिए।