शुक्रबार रिलिज भएको फिल्म 'छ माया छपक्कै'ले दुई दिनमै तीन करोड रूपैयाँभन्दा बढी कमाएर रेकर्ड बनाएको छ। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको प्रस्तुति तथा दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म देशभरमा तीन सयभन्दा बढी शो चलिरहेको छ।
निर्देशक लामाका अनुसार शुक्रबार फिल्मले एक करोड ५५ लाख रूपैयाँ कमाएको थियो भने दोस्रो दिन शनिबार योभन्दा दस लाख बढी कमाएको हो।
दीपकराज गिरी, दीपाश्री निरौला र उनीहरूको टिमले निर्माण गरेको यो चौथो फिल्म हो। यसअघि 'छक्कापञ्जा'का तीन शृंखला पनि सुपरहिट भएका थिए। 'छक्कापञ्जा-३'ले १९ करोडभन्दा बढी कारोबार गरेर रेकर्ड राखेको थियो।
यो वर्ष प्रदीप भट्टराईद्वारा निर्देशित 'जात्रै जात्रा' र रामबाबु निर्देशित 'कबड्डी कबड्डी कबड्डी'ले राम्रो कमाइ गरेको छ। चोथौ सातामा चलिरहेको 'कबड्डी कबड्डी कबड्डी'ले देशभरबाट साढे १३ करोड रूपैयाँ कारोबार गरेको वितरकको दावी छ। यसले पनि रिलिजकै दिन एक करोड ४७ लाख कमाएको वितरकको भनाइ छ।
'छ माया छपक्कै'मा दीपकराज गिरी, केदार न्यौपाने, जितु नेपाल, केकी अधिकारी लगायत कलाकारको मुख्य भूमिका छ।