गायक, गीतकार तथा कम्पोजर काली प्रसाद बास्कोटाको लोकप्रिय गीत ‘माझी’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतीहरु पेश गरिन्छ ।
बास्कोटाको निकै लोकप्रिय गीत माझी टुबोर्ग ओपन सेसन्स्को दोस्रो संस्करणमा प्रस्तुत गरिएको पहिलो गीत हो । गीतका शब्दहरुले एक सामान्य माझीको आशा, बेदना, भाग्य र गन्तब्यको कथा बताउँछ । बाँसुरीको आनन्ददायी धुन र बाँसकोटाको स्वरले गीतलाई जीवन्त बनाएको छ ।
चलचित्र ‘पुरानो डुङ्गा’ को लागि बास्कोटाले लेखेको यो गीतले सबैको मन छुन सफल भएको छ । टुबोर्ग ओपन सेसन्स् २ को यस पहिलो गीतको संगीत निर्माता तथा एरेन्जर रोहित शाक्य रहेका छन् ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् सिजन २ ले पहिलो संस्करणमा जस्तै नेपाली संगीतकारहरुलाई सँगै ल्याई थुप्रै नयाँ सांगीतिक प्रस्तुती र सहकार्यहरु पेश गर्ने क्रम जारी नै छ ।