काला पत्थरमा माउण्ट एभरेष्ट फेसन रनवे आयोजना हुने भएको छ।
१५ अन्तर्राष्ट्रिय र ५ नेपाली मोडलले माघ ११ गते ५ हजार मिटर भन्दा अग्लो स्थानमा रहेको काला पत्थरमा आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ।
उक्त फेसन शो कासा नामक संस्थाको आयोजना र आरबी ज्वेलर्सको सहकार्यमा हुन लागेको हो।
२० मोडलसहित ५० जनाको क्रु सदस्य लुक्लाबाट पैदल काला पत्थर पुगेर माघ ११ गते आफ्नो प्रस्तुति दिने छन्।
उक्त इभेन्टले ‘६० को दशकदेखिको हिउँदमा नेपाल ठीक छैन’ भन्ने सोचलाई परिर्वतन गर्ने पर्वत आरोही दावा स्टेभेन शेर्पाले बताए।
‘नेपाल सबै सिजनमा घुम्न लायक छ। यो इभेन्टले हाम्रो पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउँछ,’ उनले भने ‘हाम्रा स्टाफ खुम्बुको शेर्पाहरू छन्। समस्या पर्यो भने के गर्ने उनीहरूलाई सबै थाहा छ त्यस कारण पनि क्रु मेम्बरलाई अप्ठ्यारो पर्दैन।’
यस्ता इभेन्टहरूले नेपालको छुट्टै छवी संसारमा जाने आरबी ज्वेलर्सका अध्यक्ष रमेश महर्जनले बताए।
‘कुनै नयाँ काम विदेशीले गरे भने हामी स्वीकार्छौं तर नेपालीले गर्दा प्रश्न उठाउँछौं। यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेर हामी संसारसामू नयाँ उदाहरण दिन चाहन्छौं,’ उनले भने।