‘लोकतन्त्रको विकास र सार्वजनिक दायित्व’ विषयको प्रवचनसँगै नेपाल साहित्य महोत्सवको आठौं संस्करण पोखरामा सुरू भएको छ। डा. देवेन्द्रराज पाण्डेको प्रवचनअघि पुराणवाचनमा पारङ्गत सुन्दास दिदीबहिनी (ममता, अनिता, मनिता) ले वेदका श्लोक उच्चारण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्दै एसियाकै महत्वपूर्ण महोत्सव आयोजना हुनु गण्डकी प्रदेशका लागि गौरवको विषय भएको बताए। उनले भने, 'यस्ता महोत्वस राज्यबाटै हुनुपथ्र्यो, गैरसरकारी तवरबाट हुँदा नेपाली साहित्यको वृद्धि विकासमा महत्त्पूर्ण टेवा पुगेको छ।'
सत्तारूढ नेकपाका प्रदेश इन्चार्जसमेत रहेका गुरूङले प्रदेशको कला, भाषा, साहित्यको विकासका लागि गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्न लागिएको जानकारी दिए।
महोत्सवको उद्घाटन स्थल र छलफल फेवा किनारको बाराहीघाट तोकिएको थियो। बिहानैदेखि झरी परेर पूर्वनिर्धारित स्थान बाराहीघाट, लेखकसाइडमा कार्यक्रम हुन सकेन। पानीका कारण केही समय ढिला भए पनि लेकसाइड नजिकैको रेस्टुरेन्टमा कार्यक्रम भइरहेको छ। आयोजकका तर्फबाट पानी रोकिएपछि पुरानै ठाउँमा कार्यक्रम हुने बताइएको छ।
फेस्टिभलका मुख्य प्रायोजक आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले फेस्टिभलले नेपाली भाषा–साहित्यको वृद्धि–विकास गर्ने बताए।
महोत्सवमा अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका १ सय १० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्व पोखरा आइपुगेका छन् । ३९ भन्दा बढी सेसन छन्।
महोत्सवमा दक्षिण एसियाली क्षेत्रको प्रतिष्ठित डिएससी पुरस्कार प्रदान गर्न लागिएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार) रुपैयाँको यो पुरस्कार वितरण नेपालमा पहिलो पटक हुन लागेको हो।