पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीद्वारा लिखित आख्यान कृति ‘कारा’माथि शनिबार काठमाडौंमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
उक्त उपन्यासमाथि सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले टिप्पणी गरेका थिए।
‘कारा एउटा उपन्यासमात्र होइन, यो सुशीला कार्कीले देख्नुभएको नेपाली जनजीवनको यथार्थ पनि हो,’ कार्यक्रममा बोल्दै न्यायाधीश मल्लले भनिन्, ‘उहाँले आफूले देखे–भोगेका घटनाहरूलाई जसरी लेखनमा उतार्न सक्नु भएको छ, त्यसले यो उपन्यासलाई निकै सजीव र रोचक बनाएको छ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमिमा लेखेको ‘कारा’मार्फत् नेपाली कारागारभित्र देखिने फरक जीवनकथाहरुलाई औपन्यासिक लयमा समेटेकी छन्।
कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित पुस्तकमाथिको अन्तरसंवादमा बोल्दै पूर्वडिआईजी खरेलले प्रहरी सेवामा छँदा अनुभव गरेका कतिपय घट्नाको झल्को आफूले कारामा पाएको उल्लेख गरे।
‘एउटा छुट्टै नेपाल बुझ्ने भए एकपटक कारा उपन्यास पढ्नुपर्ने हुन्छ,’ उनले पुस्तकको कथावस्तुमाथि प्रकाश पार्दै टिप्पणी गरे।
कार्यक्रमको सञ्चालन पत्रकार एवम् लेखक जनकराज सापकोटाले गरेका थिए। काराको प्रकाशन किताब पब्लिशर्सले गरेको हो ।