मानवअधिकार चलचित्र केन्द्रले यही फागुन २१ गते बुधबरदेखि काठमाडौंमा आयोजनागर्न लागेको आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित गर्ने निर्णय गरेको छ।
मानवअधिकार चलचित्र केन्द्रले सोमबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन, महोत्सवहरु नगर्न गरेको आह्वानलाई सम्मान गर्दै महोत्सव स्थगित गर्ने निर्णय सार्वजनिक गरेको जनाएको छ।
केन्द्रले वार्षिक रुपमा सञ्चालन गर्दै आइरहेको महोत्सवमा नेपाल र नेपालबाहिर मानवअधिकारका विषयमा बनेका चलचित्रहरु प्रदर्शन गर्दै आएको छ। यस वर्ष ३२ देशका ८४ चलचित्र महोत्सवमा प्रदर्शनका लागि छानिएका थिए। महोत्सवमा भाग लिन १७ देशका २२ जना विदेशी फिल्ममेकरहरु नेपाल आउन लागेका थिए।
आठौं महोत्सवमा प्रदर्शनका लागि छानिएका चलचित्रहरु नै आगामी मितिमा पनि प्रदर्शन गरिने छन्। महोत्वस स्थगित भएका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ममेकरहरु, दर्शक स्रोता, सहयोगी, प्रायोजक तथा अन्यमा परेको असरका लागि मानवअधिकार चलचित्र केन्द्र क्षमा याचनासमेत गरेको छ।