भुइँमान्छेका कथाहरु लेखेर साहित्यलाई समाजका विभिन्न तह र तप्काको कथा भन्ने माध्यम बनाउने सूचीमा शनिबार एउटा नयाँ आख्यान थपिएको छ– फुर्लुङ।
लेखक तथा पत्रकारहरुको सानो समूहबीच अनौपचारिक अन्तर्क्रियात्मक कार्यक्रम गरेर पुस्तक सार्वजनिक भएको हो। लेखक महेश्वर पन्त लिखित उपन्यास फुर्लुङमा माछा मार्ने र डुंगा तार्ने पेसाबाट जीवन धान्ने बोटे परिवार विस्थापनको कथा बुनिएको छ।
फलेबास, पर्वतमा जन्मेका पन्तको यो आख्यानमा मोदोखोलो र कालीगण्डकीको उत्तर पश्चिम दोभानको परिवेश र लोकजीवनको चित्रण पाइन्छ।
पुस्तकबारे कार्यक्रममा समीक्षक ज्ञानु पाण्डे, अखिल नेपाल साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली र पत्रकार राजकुमार बानियाँले आफ्ना धारणा राखेका थिए।
‘सचेततासहित भुइँमान्छेको मुद्दालाई केन्द्रमा राखेर लेखिएको यो छोटो, मीठो उपन्यासले पाठकलाई भुइँमान्छे र ठूलो मान्छे भनेर छुट्याउने व्यवस्था कसरी बनिरहेको छ भनेर बताउँछ,’ समीक्षक पाण्डेले भनिन्।
उनले समाज व्यवस्थाका विसंगति र छुवाछुतमा आधारित विभेदको चित्रण गर्न सफल यस किताबका पात्रहरु सशक्त रहेको बताइन्। उनले थपिन्, ‘यसमा लेखक हैन पात्रहरु नै बोलेका छन्। शिथिल चरित्र भएको उपन्यास बलियो हुँदैन, फुर्लुङमा पात्रहरुको सशक्त चित्रण गर्न लेखक सफल छन्।’
माछा मारेर जीवन बिताउने माझीहरुको जीवन कथालाई सरल भाषा-शैलीमा लेखिएको उपन्यासमा आञ्चलिक स्वाद पाइने पत्रकार राजकुमार बानियाँले बताए। उनले भने, 'अहिले विकासे मल हालेर जेलाई पनि अर्ग्यानिक भन्ने चलन बढेको छ। तर फुर्लुङ उपन्यास साँच्चिकै अर्ग्यानिक छ।’
उनले उपन्यासमा बोटे जातिको एउटा पात्रलाई प्रतिनिधि बनाई त्यो समूहको जीवन संघर्षलाई जीवन्त रुपमा किताबमा प्रस्तुत गरिएको मत राखे।
लेकालीले लेखक महेश्वर पन्तका यसअघिका कथा संग्रहहरु 'मुन्द्री' र 'नबोल्नेहरु'को लेखनीबाट आफू प्रभावित भएको र फुर्लुङमा उनको लेखन थप निखारिएका बताए।
कार्यक्रमको अन्तमा लेखक पन्तले धेरैले उनलाई विदेशमा बसेर मान्छे किन उतैको विषयमा नलेखेको भनेर प्रश्न सोध्ने गरेको बताए। भने, ‘म उनीहरुलाई भन्छु, नेपालको विषयमा लेखेर सकिएकै छैन।’
पात्रहरुलाई समर्पित गरिएको फुर्लुङमा पात्रहरु काल्पनिक भए पनि यथार्थमा आधारित उपन्यास भएको उनले दाबी गरे। झन्डै २० वर्ष विदेशी भूमिमा बिताइसकेका छन्। भविष्यमा विदेशी भूमिका कथा पनि लेख्ने संकेतसमेत दिए।
साङ्ग्रिला बुक्सले प्रकाशित गरेको १४० पृष्ठको छोटो काँतको यो उपन्यासको मूल्य २९५ रुपियाँ तोकिएको छ।