कोरोना भाइरसको विश्वव्यापी प्रकोपलाई हेर्दै सरकारले बिहीबार राति अबेर विभिन्न १९ वटा निर्णयहरू गरेको छ।
जसमा उसले ठूलो जमघट हुने सभासमारोह, विवाह, सिनेमा हल तथा महोत्सवमा सहभागी नहुन आममानिसहरुलाई आव्हान गर्ने जनाएको थियो।
सरकारले गरेका १९ निर्णयमध्ये १९ औं नम्बरको निर्णयले नेपाली तथा विदेशी सिनेमाको सार्वजनिक प्रदर्शन प्रभावित हुने भएको हो।
‘संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आमजनसमूदायलाई आह्वान गर्ने’, सरकारले गरेको सो निर्णयमा भनिएको छ।
सरकारको बिहीबारको निर्णयले वर्षको अन्तिम शुक्रबार रिलिजको तयारीमा रहेका दुई सिनेमा ‘चपली हाईट ३’ र ‘प्रेमगीत ३’ को रिलिजमा अन्योलता देखिएको छ।
सेतोपाटीसँग कुरा गर्दै चपली हाईट ३’का निर्माता अर्जुन कुमारले रिलिजका लागि २८ दिन बाँकी रहेकाले के गर्ने भनेर निर्णय भइनसकेको बताए।
उनले सरकारले गरेको पछिल्लो निर्णय दुविधायुक्त हुनाले अन्यौलता श्रृजना गरेको आरोप लगाएका छन्।
‘बरू इण्डियामा जस्तो बन्द गर्ने नै भने भयो नि जनतालाई हलमा नजान आव्हान गर्नुभन्दा। यसले हलवाला, निर्माता दर्शक सबैलाई कन्फ्यूज पार्छ’, उनले भने ‘अस्ति ट्रेलर हाल्दा ४-५ लाख खर्च भएको छ। एकातर्फ सरकार हल बन्द गर भन्दैन अर्कोतर्फ दर्शकलाई हल नजान आव्हान गर्छ? सरकारले स्पष्ट भन्नुपर्यो।’
निर्माता अर्जुनकुमारले यस्तो बताइरहँदा कोरना भाइरसको असर केही सिनेमामा सरकारले आव्हान गर्नु अगावै परिसकेको छ।
सम्भावित अवस्थालाई ध्यानमा राख्दै केही सिनेमाले आफ्नो रिलिज स्थगित गरिसकेका छन्।
हिजो शुक्रबार रिलिज हुने तय भएको ‘म यस्तो गीत गाउँछु २’ र आगामी महिना रिलिज हुन लागेको ‘नीरफूल’ र ‘लक्का जवान’ले गत साता नै आफ्नो रिलिज स्थगन गरिसकेका छन्।
देशको सबैभन्दा ठूलो फ्रान्चाइज रहेको क्यूएफएक्स सिनेमाजका सिईओ रोशन अडिगाले यसबारेमा आफूहरूलाई कुनै औपचारिक जानकारी नआएकाले के गर्ने भन्ने निर्णय नभएको बताए।
‘हलमा दर्शक नआए त आफै बन्द भइहाल्छ तर हालसम्म औपचारिक जानकारी नपाएकाले हल खुल्ला रहन्छ’, उनले भने।
कोरोनाभाइरसको डर र त्यसले पारेको असरलाई आफूहरूले नजिकबाट हेरिरहेको र अवस्था अनुसार निर्णय गरिने उनले बताएका छन्।
उनले पछिल्लो समय हलमा दर्शकको चाप कम भएको स्वीकार गर्दै दर्शक नआउनुको कारण कोरोना भाइरस हो या स्वयं सिनेमाप्रति दर्शकको आकर्षण नभएर हो भन्नेमा दुविधा रहेको भनाइ राखे।
कोरोनाभाइरसको त्रासलाई ध्यानमा राख्दै उनले आफू अन्तरगतका हलमा दर्शकका लागि ‘ह्यान्ड स्यानिटाइजर’को व्यवस्था गरेको जानकारी दिएका छन्।
यसैगरी नेपाली निर्माताहरूको छाता संगठन निर्माता संघले निर्माताहरुलाई सिनेमाहरूको सुटिङ रोक्न अनुरोध गरिसकेको छ भने चलचित्र प्राविधिक संघले पनि सोही प्रकृतिको अनुरोध गरिसकेको छ।
उनीहरूका अनुरोधका बाबजुद सिनेमाको सुटिङ भने रोकिएका छैनन्।
यस्तै नेपाली तथा विदेशी सिनेमाको वितरण गर्दै आएका वितरक मनोज राठीले करिब एक महिना नेपालमा कुनैपनि नयाँ विदेशी सिनेमा रिलिज नहुने बताएका छन्।
‘यसै नि मन्दी छ। हलमा खास असर त देखेको छैन। सायद 'अंग्रेजी मिडियम' पछि अर्को कुनै नयाँ सिनेमा तत्काल रिलिज हुँदैन’, राठीले भने।
उनले अप्रिलपछि मात्र नयाँ सिनेमा नेपाल भित्ने बताए।
‘पर्ख र हेरको अवस्थामा छौं’, उनले भने।
उनका अनुसार १ महिना हल बन्द हुनपुगे त्यसको असर ६ महिनासम्म देखिनेछ। उनले ५-७ करोडको दैनिक कारोबारलाई कोरोनाभाइरसको त्रासले असर पुर्याउने बताए।
कोरोनाभाइरसको त्रास र असरका कारण यो साता विभिन्न ठूला हलिउड र बलिउड सिनेमाहरूले आफ्नो रिलिज मिति सारिसकेका छन्।