कोरोना भाइरस संक्रमण जोखिम कम गर्न गत सातादेखि सबै विद्यालय बन्द छन्। पढ्दै खेल्दै दिन काट्ने केटाकेटी घरमा थन्किनुपरेको छ। यो महामारीले केटाकेटी मात्रै नभई अभिभावकलाई पनि घरमै बस्न बाध्य पारेको छ।
घरबाहिर खेल्न नपाइने अहिलेको वातावरणमा केटाकेटी घरमै बसेर के गर्ने भन्ने कुरामा धेरैमा अन्योल होला। बालबालिकाको मन कसरी बहलाउने र उनीहरुलाई रचनात्मक गतिविधिमा संलग्न गराउने भन्ने पीर धेरै अभिभावकमा होला। अनि बालबालिका पनि कहिले कोरोनाको डर सकिएकला र बाहिर खेल्न र घुम्न पाइएला भनेर कुरिरहेका होलान्।
यस्तै मनोदशा बुझेर 'स्टोरी टाइम इन नेपाल'ले 'फेसबुक लाइभ' मार्फत बालबालिकाका लागि हरेक दिन कथा सुनाउने भएको छ। चैत ११ मंगलबारदेखि हरेक दिन दिउँसो तीन बजे लेखक तथा कथाकारले 'फेसबुक लाइभ' मार्फत आफूलाई मनपर्ने कथा सुनाउँदै छन्।
'स्टोरी टाइम इन नेपाल'को फेसबुक पेजमा पहिलो कथा कवि तथा संचारकर्मी रुपेश श्रेष्ठले कथा सुनाउने छन्। हालसम्म उनीबाहेक माया थापा, यशु श्रेष्ठ, शास्वत पराजुली, मोनिका प्रधान, कृष्णदीप सिग्देल, चैतलक्ष्मी श्रेष्ठ, ध्रुव घिमिरे र राजीवधर जोशी लगायतले दिन बिराएर पालैपालो कथा सुनाउने छन्।
फेसबुक लाइभ कथा वाचनको संयोजन बालबालिकाका लागि किताब प्रकाशन गर्दै आएको प्रकाशन संस्थाका संस्थापक राजीवधर जोशीले गरेको हुन्। यसअघि 'स्टोरी टाइम इन नेपाल' नाम दिइएको फेसबुक पृष्ठमा 'कथालय'ले कथा वाचन गतिविधिका भिडियो राख्दै आएको थियो।
'कथाले बालबालिकालाई सिर्जनशील र सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले साथीहरुसँग मिलेर कथा वाचन गर्ने निर्णयमा पुगेका हौं,' सेतोपाटीसँग भएको टेलिफोन कुराकानीमा उनले भने, 'यतिबेला केटाकेटी र अभिभावक सँगै र फुर्सदिलो हुनुहुन्छ। निराशा र डरबाट एकछिन भए पनि मन बहलाउन यो कथावाचन गतिविधि उपयोगी हुने आशा राखेका छौं।'
कथा वाचन अवधि आधा घन्टाको हुने जनाइएको छ।