पानी तिरतिरे
ल्याउ भन्थे बाबैले
मार्यो पिरतीले
नेपथ्य ब्याण्डका अमृत गुरुङले झण्डै अढाइ दसकअघि संकलन र त्यसको आठ वर्षपछि सार्वजनिक गरेको यो गीत अब भिडियोमा हेर्न पाइने भएको छ। ‘सन् १९९७ मा म तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै थिएँ,’ ब्याण्डका मुख्य गायक अमृत त्यो क्षण सम्झदै सुनाउँछन्, ‘त्यतिबेलै बाटोमा अचानक यो गीतको पहिलो हरफ भेटिएको थियो।’
कसरी ? त्यसको पनि रोचक प्रसंग रहेछ ।
पैदल हिँड्दै जाँदा बाटोमा गुफापोखरी पर्थ्यो। त्यहाँको दृश्य बयान गरेर साध्य थिएन। गुफापोखरी छेवैमा देउराली थियो।
‘त्यही देउरालीमा बसेर म कुम्भकर्ण हिमालका दृश्यहरु क्यामरामा कैद गरिरहेको थिएँ,’ अमृत सम्झन्छन्, ‘त्यतिबेलै वनतिर हिँडेका दुई तन्नेरीहरु हाम्रा नजिकै आइपुगे।’ उनीहरु अमृतले बोकेको क्यामरा देखेर जिज्ञासु थिए। उनले त्यसका लेन्सहरु चलाउँदै दृश्यलाई नजिक ल्याएर देखाइदिए। तन्नेरीहरु प्रभावित भए।
‘मैले उनीहरुले गाउने कुनै गीतहरु छन् भने सुनाउन अनुरोध गरेँ,’ अमृत भन्छन्, ‘त्यतिबेलै यो गीतको पहिलो अन्तरा उनीहरुले गाएका थिए।’
पानी तिरतिरे...ल्याउ भन्थे बाबैले... मार्यो पिरतीले....
अमृतलाई यो भाका मन परेपछि अगाडिको भाका पनि सुनाउन अनुरोध गरे। तर, तन्नेरीहरु ‘ढिला भयो’ भन्दै वनतिर हिँडेछन्। ‘त्यसपछि म अलिक दिन लगाएर ताप्लेजुङ पुगेँ, बाटोमा राफ्टिङ पनि गरेँ र काठमाडौं फर्र्किएँ,’ उनले थपे, ‘त्यो मनमा छोइरहेकै पहिलो अन्तरालाई समातेरै बाँकीको गीत आफैँले काठमाडौंमा तयार पारेको हुँ।’
यसरी तयार भएको यो गीत नेपथ्यको एल्बम ‘भेँडाको ऊनजस्तो’का लागि सन् २००३ मा पहिलोपटक रेकर्ड गरिएको थियो। यस गीतको विशेषतामध्ये ‘क्वायर’को प्रयोग पनि एक हो। नेपथ्यको ‘भेँडाको ऊनजस्तो’ एल्बमका सबै गीतहरुमा संगीत संयोजन गर्ने काममा डानियल कार्थक (दानु) को अहम भूमिका थियो।
इशाई धर्मावलम्बी उनी चर्चको संगीतसँग नजिक हुने नै भए। ‘त्यतिबेला कालोपुल चर्चबाट दाजुभाइ दिदीबहिनीको एउटा समूह नै आएको थियो,’ अमृतले सम्झना गरे, ‘गीतमा उनीहरुले निकालेका विभिन्न स्वरको क्वायर मिसिएकै कारण पनि यो अझ मिठो बन्न पुग्यो।’
यसरी तमोर नदीको किनारै किनार घाँस दाउरा गर्नेहरुको गुनगुनबाट निस्केको यो गीतले नेपथ्यको शिल्प पाएर ‘लोक रक’सम्मको यात्रा गरेको थियो। सुनेर मात्र श्रोताहरुले आनन्द लिँदै आएको यो गीत अब हेर्न पनि पाइने भएकाे छ।
केहि दिनअघि नेपथ्यले ‘लिरिक भिडियो’का रुपमा आफ्नो एउटा पुरानो गीत ‘सिमानामा’लाई पनि पुनःप्रस्तुत गरेको थियो । त्यसैगरि अर्को पुरानो ‘छोटो गीत’ले पनि केहि साता अघि भिडियोका रुपमा आफूलाई प्रस्तुत गरिसकेको छ। यी तीनवटै गीत ‘भेँडाको ऊनजस्तो’ एल्बममा समावेश छन्।
‘नेपथ्यका पुराना एल्बममा समेटिएका गीतहरुलाई पुनः ताजा बनाउँदै भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा हाम्रा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क पनि निरन्तर स्थापित गरिरहने प्रयासका रुपमा हामीले युट्युब पालैपालो भिडियो अपलोड गर्न थालेका हौं,’ नेपथ्यको व्यवस्थापनका साथसाथै ब्याण्डका भिडियोहरुको निर्मातासमेत रहेको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हामी छिट्टै नै नेपथ्यका सबै गीतहरुलाई हेर्नसमेत मिल्ने हिसाबले आधिकारिक युट्युब च्यानलमा राख्ने जमर्को गरिरहेका छौं।’
यो भिडियोको पृष्ठभूमिबारे बताउँदै अमृत गुरुङले यसको छायांकन अष्ट्रेलियामा गरिएको जानकारी दिए। ‘यसको छायांकन हामीले अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरेका हौं,’ उनले भने, ‘एक सहरबाट अर्को सहरमा आयोजित कन्सर्टका बीच फुर्सद्को सदुपयोग गर्दै यो काम गरेका थियौं।’ अहिले त्यसै छायांकनलाई यो पुरानो गीतको भिडियोका रुपमा नेपथ्यले सार्वजनिक गरेको हो।