लकडाउन सुरू भएपछि अहिले घर–घरलाई पिरोलिरहेको प्रश्न हो– स्कुल कहिले खुल्छ?
युवा सर्जक यमन श्रेष्ठले यही प्रश्नलाई शीर्षक दिएर भर्खरै लघु चलचित्र बनाएका छन्।
लोकप्रिय हास्य अभिनेता मदनकृष्ण श्रेष्ठका छोरा यमन सानैदेखि पिताको पदचिह्न पछ्याउँदै आएका छन्। मदनकृष्णले जस्तै उनी अभिनय गर्छन्, गीत गाउँछन् र फिल्म पनि बनाउँछन्।
यसैबीच उनीसँग समता स्कुलका शिक्षक अजय अधिकारीले देशभरका विद्यार्थीले भोगिरहेको समस्याबारे चर्चा गरेछन्। समता स्कुलमा ७० हजार विद्यार्थी अध्ययनरत रहेको बताइन्छ। ती सबै कम आय भएका परिवारका हुन्। उनीहरू सस्तोमा गुणस्तरीय शिक्षानिम्ति समता स्कुल पुगेका हुन्।
लकडाउनमा विभिन्न बोर्डिङ स्कुलले आफ्ना केटाकेटीलाई ‘अनलाइन शिक्षा’ दिइरहेका बेला आफूहरूले त्यसरी इन्टरनेट प्रयोगबाट केटाकेटीसँग सम्पर्क स्थापित गर्न नसकेको गुनासो अधिकारीले गरेछन्।
‘त्यस्ता केटाकेटी निम्ति के गर्न सकिन्छ भन्ने उपाय त मसँग पनि थिएन,’ यमनले सेतोपाटीसँग भने, ‘यस्तो बेला केही नगर्नुभन्दा जे सकिन्छ त्यो गर्नु उपयुक्त लागेर यो सिनेमा बनाएको हुँ।’
लकडाउन बेला बनाइएको सिनेमा भएकाले कतिपय फुटेज मोबाइलबाटै खिचिएका छन्। त्यसरी संकलन गरिएका दृश्य आफैंले जोडेर फिल्म तयार पारेको यमन सुनाउँछन्।
साढे आठ मिनेट लामो यो सिनेमामा विद्यार्थीहरू कोही अनलाइन कक्षा पढिरहेका त कोही बाख्रा चराइरहेका स-साना झलक देखिन्छन्। त्यसपछि शिक्षकहरूबीच बहस हुन्छ, जसमा उपलब्ध सम्पूर्ण माध्यम प्रयोग गरेर विद्यार्थीसँग सम्बन्ध स्थापित गरिनुपर्ने निष्कर्ष निस्कन्छ। उनीहरू इन्टरनेट, टिभी, एफएम रेडियो लगायत सम्पूर्ण माध्यमबाट पढाइलाई निरन्तरता दिने टुंगोमा पुग्छन्।
‘केही नगरेर त्यसै बसिरहँदा त बाटै निस्कँदैन,’ यमन भन्छन्, ‘सबै प्रयास अघि बढाएपछि त्यसका राम्रा-नराम्रा पक्ष देखिँदै जान्छन्। सुधार्दै लैजान सकिन्छ।’
यति बेला समस्याबारे थुप्रै बहस चलिरहँदा यो फिल्ममार्फत् ‘राउन्ड टेबल’ मा आफ्नो तर्फबाट एउटा सुझाव पेस गर्ने काम गरेको उनी बताउँछन्।
शिक्षकहरूसँगको सल्लाहपछि आफैंले पटकथा तयार पारेको र सानो टोली बनाएर सबैलाई घर-घरमै मोबाइलबाट भिडियो खिच्न लगाएको यमनले जानकारी दिए।
यमनले यसअघि पनि ‘लकडाउन’ शीर्षकमै गीत तयार पारेर म्युजिक भिडियो पनि आफैंले सिर्जना गरेका थिए। त्यो गीत युट्युबमा चर्चित थियो।
‘त्यति बेलै प्रयोग गरिएको भिडियो सम्पादन गर्ने सफ्टवेयर प्रयोग गरेको हुँ,’ उनले भने, ‘कतिपय कुरा नजानेर युट्युबसँग सोध्दै काम गरेँ।’
प्राविधिक रूपले अहिले पनि धेरै त्रुटि रहेको स्वीकार्ने यमनका अनुसार उनको मूल उद्देश्य यसको सन्देश नै हो।
यो लघु सिनेमालाई सामाजिक सञ्जालमा धेरै महत्वपूर्ण व्यक्तिहरूले सेयर गरिदिएको र युलेन्स, रातो बंगला लगायत स्कुलमा शिक्षकहरूबीच यसलाई लिएर चर्चा भएको पनि उनले सुनाए।
‘मानिसले जीवनमा जे-जस्तो परिस्थिति आइपर्छ, त्यसबाट सिकेरै अघि बढ्नुपर्छ भन्ने मान्यता राख्दै आएको छु,’ उनले थपे, ‘लकडाउनबाट पनि केही सिकेरै आफूलाई नयाँ बनाउने यो मेरो प्रयास हो।’
सिनेमा तयार भएपछि अब के गरिरहनुभएको छ?
यो प्रश्नको उत्तरमा उनले पिताकै झल्को आउने गरी जवाफ दिए, ‘जिल्ल परेर बसेको छु।’