व्यवसायका सबै क्षेत्रलाई झैँ नेपाली प्रकाशन व्यवसायलाई पनि कोरोना महामारीले प्रभावित पारेको छ। यो संकटलाई नेपाली प्रकाशन उद्योगलाई इ-कमर्सको क्षेत्र नियाल्ने र इ-प्लेटफर्ममा अवतरण हुने अवसर पनि दिएको छ।
नियमित परम्परागत छापा संस्करणका साथसाथै विभिन्न अतिरिक्त माध्यमहरूबाट समेत आफ्ना प्रकाशनलाई पाठकसामु ल्याउने प्रयासमा पब्लिकेशन नेपालयले काम गर्दै आएको छ। नेपालयबाट प्रकाशित सबै किताबहरू हाल अमेजन, बार्न्स एंड नोबल लगायतका माध्यम मार्फत् संसारभर उपलब्ध छन्। अंग्रेजी भाषाका पुस्तकहरु 'ई-बुक'का रुपमा किन्डलमा पनि उपलब्ध छन्।
अन्तर्राष्ट्रिय ‘ई-बुक’ का माध्यमहरुमा विद्यमान, नेपाली भाषाको स्वीकार्यतामा समस्या रहेकोले नेपाली कृतिहरू इ-किताबका रुपमा व्यापक हुन सकिरहेका थिएनन्। नेपालभित्र खरिद गर्दाको भुक्तानी समस्या पनि छँदैछ।
‘विगतमा हामीले, यहीं विकास गरिएका विभिन्न इ-बुकका प्लेटफर्मलाई प्रयोग गर्ने प्रयत्न नगरेका होइनौं। तर, ती सबै माध्यममा केही न केही प्रविधिक कमजोरी रहे र निरन्तरता पाउन सकेनन्,' नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्। ‘माहामारीबीच आइपरेको लकडाउनको दौरान, इन्टरनेट मार्फत पुस्तकको अर्डर लिएर घर दैलोमा पुर्याउने सेवा दिंदै आएको बिक्रेता मध्येको 'थुप्रै'ले 'ई-बुक'को नयाँ अवधारणासहित समाधान लिएर आयो र हामी यससँग सन्तुष्ट भयौं। तत्कालै, हाम्रा सबै प्रकाशनहरू ‘थुप्रै’को ‘प्लेटफर्म’मा अपलोड गरेका थियौँ।
यो बन्दाबन्दी बीचको करिब एक महिनामै, हाम्रा प्रकाशनका हजारभन्दा बढीप्रति पुस्तकको ई-बुकप्रति पाठकहरूले किनेका छन्। यो निकै उत्साहजनक नतिजा हो,’ किरणले प्रष्ट्याए।
यही सम्भावनालाई विस्तार गर्दै नेपालयले आफ्नो आउँदो नयाँ प्रकाशनलाई यही माध्यमबाट प्रारम्भमै 'इ-बुक’ मार्फत् सार्वजनिक गर्ने योजना बनाएको छ। यो योजना, आर्थिक टिप्पणीकार सुजीव शाक्यद्वारा लिखित 'अर्थात् परिवर्तन' रहेको छ। यो किताब 'इ-बुक'मार्फत् सार्वजनिक हुने नेपालयको पहिलो प्रकाशन हुनेछ।
सुजीव शाक्यको अर्थतन्त्रमा आधारित नेपाली पुस्तक, ‘अर्थात् अर्थतन्त्र’ नेपालयबाटै प्रकाशित छ, भने अंग्रेजीमा लेखिएको, ‘अनलिसिङ नेपाल’ र ‘अनलिसिङ द बज्र’ पेंगविन प्रकाशनबाट प्रकाशित छ।
‘मेरो नयाँ पुस्तक 'इ-बुक' मार्फत् नेपाली पुस्तक बजारमा आउन लागेको कुराले म उत्साहित छु,’ लेखक सुजीव शाक्य भन्छन्। 'मेरो पुस्तकको शीर्षकमै परिवर्तन अंकित छ, पुस्तक बजार पनि परिवर्तनतर्फ अग्रसर छ। पुस्तक बजारका निम्ति यो एउटा नयाँ आरम्भ हो। 'इ-बुक' को बिस्तार मार्फत् नेपाली पुस्तक बजारले नयाँ आयाम भेट्ने छ भन्ने कुरामा म आशावादी छु’ सुजीवले थपे।
नेपाली अर्थतन्त्रको सकारात्मक सम्भावनाको सेरोफेरोमा लेखिएको यो पुस्तक, नयाँ नेपाली आर्थिक वर्षको प्रारम्भसँगै सार्वजनिक हुने भएको छ।
'यस क्रममा एउटा थप प्रयोग पनि गर्दैछौं’ नेपालयका किरणले भने। ‘पुस्तक विमोचन हुनुभन्दा पहिले हामी यस पुस्तकको केही अध्यायलाई एकल अध्यायको रुपमा सार्वजनिक गर्ने छौं,' 'यो सम्भावनालाई हामीले संगीतमा प्रयोग हुँदै आएको नमूनाबाट टिपेका हौँ। संगीत क्षेत्रमा एल्बम सार्वजनिक हुनुभन्दा पहिले कुनै एउटा गीतको एकल गीत वा सिंगल ट्रयाकमात्र सार्वजनिक गरिएको हामीले देख्दै आएका छौं । त्यस्तै अनुरुप, हामी पुस्तक सार्वजनिक गर्नुभन्दा पहिले किताबका ४ वटा अध्यायलाई छुट्टाछुट्टै सार्वजनिक गर्ने छौं,' किरणले थप प्रष्ट्याए।
एकल अध्यायलाई साप्ताहिक रुपमा सार्वजनिक गरिने छ जसको शुरुवात बिहिबार, असार ४, २०७७ (१८ जून, २०२०) बाट हुनेछ।
'थुप्रै' को एपमार्फत् पुस्तकको एकल अध्याय पन्ध्र रुपैंयामा पढ्न सकिन्छ भने पूरै पुस्तक सार्वजनिक भएपछि २५० रुपैयाँमा उपलब्ध हुनेछ । एकल अध्याय किनेर पढ्नेले पूरै पुस्तक किन्दा पहिलेको रकम छुटको रुपमा कट्टी गरिने व्यवस्था एपले गरेको छ।
'ई-बुकको यो प्रयोग सम्पूर्ण नेपाली पुस्तक बजारका निम्ति अगुवा प्रक्षेपण हुनसक्छ’ लेखक सुजीव शाक्यले भने। ‘अर्थशास्त्रको विद्यार्थीको दृष्टिबाट हेर्दा, सम्पूर्ण नेपाली पुस्तक उद्योगका निम्ति म यसलाई एउटा अवसरका रुपमा देख्छु।'
यो एकल अध्याय खरिद गर्ने पाठकले पुस्तकका अध्यायहरु पढ्दा सँगसँगै लेखकले आफै वाचन गरेको ‘अडियो’ पनि सुन्न सकिने गरी प्राविधिक तयारी गरिएको छ। ‘एपमा भएको यो अडियोले हाम्रो आगामी कामको झलक दिने छ, हामी अब हाम्रा सबै नेपाली पुस्तकहरुलाई संस्थागत रुपमा ‘अडियो बुक’ को संस्करणमा ल्याउने प्रयासमा छौं’ नेपालयका किरणकृष्ण श्रेष्ठले प्रकाश परे।
असार ४ गते (१८ जून) बिहिबार देखि साप्ताहिक रुपमा एकल अध्याय सार्वजनिक हुने पुस्तक अर्थात् परिवर्तन असार ३० गते (१४ जुलाई) पूर्ण रुपमा ‘इ-बुक’ मार्फत् सार्वजनिक हुनेछ।
सार्वजनिक एकल अध्याय थुप्रैको एपमा वा यो लिंकमा उपलब्ध हुनेछ : https://thuprai.com/read/nepal-sano-desh-hoina/