बुक-हिल पब्लिकेसनले विभिन्न कारणले सार्वजनिक गर्न रोकिएका पाँच पुस्तकहरू साउनको पहिलो साताबाट बजारमा पठाउने भएको छ।
यसमा अघिल्लो वर्ष प्रकाशन हुनुपर्ने नारायण ढकालको कथा सङ्ग्रह 'तमस' र पुनः मुद्रित अरु चार किताबहरु छन्।
'हामीले अघिल्लो वर्ष प्रकाशन गर्ने सूचीमा राखेका किताब कोरोना भाइरस संक्रमणका साथै अन्य कारणले प्रकाशन गर्न सकेनौं| अहिले पनि परिस्थिति सामान्य भएको त छैन तर बजारमा नयाँ किताबको अभाव देखेर यी किताब बजारीकरण गर्न लागेका हौँ,' बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए।
प्रकाशन हुन लागेका अन्य चार किताबमा डा. तीर्थबहादुर श्रेष्ठको सचित्र रङ्गीन किताब 'नेपाल नखुलेका पाटाहरू', पिटर जे. कार्थकको साझा पुरस्कार-२०३४ प्राप्त उपन्यास 'प्रत्येक ठाउँ, प्रत्येक मान्छे', सौरभको 'असहमति-१', र जगदीश घिमिरेको मदन पुरस्कार-२०६४ प्राप्त किताब 'अन्तर्मनको यात्रा' छन्।
'आज धान दिवसको अवसर पारेर 'मानो रोपे मुरी' भन्ने भनाइलाई मनन गरी हामीले किताब प्रकाशन गर्ने घोषणा गरेका हौँ| हामीलाई विश्वास छ, यी लोकप्रिय किताबका नयाँ कलेवरले पाठकलाई आनन्दित पार्नेछ,' विज्ञप्तिमा भनिएको छ।
बुक-हिलले दशैंसम्ममा थप आधा दर्जन नयाँ किताब प्रकाशन गर्ने लक्ष्य राखेको जनाएको छ।