मीन भामको 'चिसो वर्ष (अ इयर अफ कोल्ड)' फिल्मको पटकथाले पचहत्तर हजार युरो (करिब १ करोड ३ लाख नेपाली रूपैयाँ) बराबरको पुरस्कार जितेको छ। पुरस्कार टर्कीको 'टुवेल्भ पुन्टो स्क्रिप्ट ल्याब'ले प्रदान गरको हो।
यो खबर हिजो राति सुनेका मीनले सेतोपाटीसँग टेलिफोन मार्फत भने, 'इन्टरनेसनल सहनिर्माणका लागि प्रदान गरिने आर्थिक अनुदान हो। यसले सकारात्मक ऊर्जा दिएको छ।'
उनका अनुसार 'चिसो वर्ष' नेपाल–टर्कीको सह-निर्माणमा बन्न लागेको फिल्म हो। चिसो वर्षको पटकथा २० पटक पुनर्लेखन गरिसकेका मीनका अनुसार अब पटकथा लेखन लगभग तयार छ।
यो पनि पढ्नुस्ः जो 'चिसो वर्ष' को पीडा र आनन्दमा रमाउँदै छन्
'छायांकन गर्ने तयारी हुँदै गर्दा कोरोना महामारी र लकडाउन भइदियो। कहिले स्थिति सामान्य होला भनेर कुरिरहेको छु,' उनले भने।
'कालो पोथी' फिल्मबाट चर्चा कमाएका मीनको चिसो वर्षको पटकथाले यसअघि विभिन्न अन्तर्राष्ट्रिय अनुदान तथा पुरस्कार पाइसकेको छ।
हालसम्म राइटिङ रिसडेन्सी प्रोडक्सन, मार्केट स्क्रिप्ट ल्याब, प्रोजेक्ट गरी सात महत्वपूर्ण अनुदान तथा पुरस्कार पाइसकेको छ। तीमध्ये नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार अमेरिकी डलरको अनुदान सहायता मुख्य हो।
मीनका अनुसार चिसो वर्षमा हिमाली गाउँको कथा छ। बहुपति प्रथाको पृष्ठभूमिमा यसमा पेमा र लामाको यात्रा समेटिएको छ। यी दुई पात्र हराएका आफन्तको खोजीमा निस्कन्छन्।
पेमा पतिको खोजीमा हुन्छिन्, लामा आफ्ना दाइको खोजीमा। यात्रा क्रममा पेमा र लामाको जीवनमा भौतिक तथा आध्यात्मिक अभ्यास र विश्वास एकअर्कासँग क्रसओभर भएर जाने उनी बताउँछन्।