महिलाको कथा, व्यथा बुझाउने तीज गीतको चलनभन्दा अलि बेग्लै विषयमा फरक स्वादको तीज गीत 'बीच्च बीच्चमा ३ ' युट्युब सार्वजनिक भएको छ।
'बेसार' शीर्षकको उक्त गीतमा कोरोना भाइरस महामारी र लकडाउन बीच देशमा घटेका घटना, सीमा विवाद, जातीय कारणले निम्त्याएको रुकुम हत्याकाण्ड, भ्रष्टाचारसम्मका विषयवस्तु छोइएको छ।
सरकारले उक्त विषयप्रति देखाएको चासो, प्रतिक्रियामा गीतले प्रश्न उठाएको छ। गायक दुर्गेश थापाको यो नयाँ तीज गीत अहिले ट्रेन्डिङमा छ।
गीतमा बसन्त थापाको शब्द र संगीत रहेको छ। यो गीतमा पछिल्लो समय चर्चामा आएको 'बेसार' शब्दलाई केन्द्रमा राखिएको छ।
सामाजिक राजनीतिक मुद्दालाई व्यंग्यात्मक शैलीमा गाइएको यस गीतका गायक दुर्गेश थापाको 'बीच्च बीच्चमा' गत वर्षको चर्चित गीत हो। यो वर्ष उनले त्यही चर्चित गीतको लयमा नयाँ शब्द थपेर दुइटा गीत सार्वजनिक गरिसकिएको छ।
गीतको भिडिओ मार्फत समेत केही सन्देश दिन खोजेको छ। भिडिओमा दुर्गेश थापासँगै चिरन्जिवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काको भिन्नै परिवेश देख्न सकिन्छ।
गीतको भिडिओ काजिस श्रेष्ठले निर्देशन र कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारी र उनको टोलीको सिनेमाटोग्राफी रहेको छ।
शनिबार सार्वजनिक 'बेसार' गीत अहिले ट्रेन्डिङमा छ।