बैतडीका दुई महिने शिशु शिवांश अवस्थीलाई उनकै बुबा महेश अवस्थीले कलेजो दान गरेर बचाएका थिए।
अवस्थी परिवारको यही वास्तविक कथामा आधारित भई कमला सापकोटाले गीत लेखेर संगीत भरिन्। उनको शब्द र संगीतको ‘मेरो जिन्दगी’ बोलको यो गीत हालै युट्युबमा सार्वजनिक भएको छ जसमा अहिलेका चर्चित गायक निशान भट्टराईले स्वर दिएका छन्।
गीतको म्युजिक भिडिओ गायक निशानको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडिओमा शिशुका बुबा महेश र आमा गीताले छोरा बचाउन गरेको संघर्ष देखाइएको छ।
शिवांश जन्मेको १३ औं रातदेखि बिरामी पर्न थालेका थिए। उनलाई के भएको बुझ्न त्यसको भोलिपल्ट कान्ति बाल अस्पताल पुर्याइएको थियो। शिवान्सलाई एनआईसियूमा भर्ना गर्नुपर्ने भयो तर त्यहाँ बेड खाली नभएका कारण महेश र गीता छोरा लिएर त्रिवि शिक्षण अस्पताल पुगे।
त्यहाँबाट शिशुलाई भारतको ‘डाक्टर रेला इन्स्टिच्युट एण्ड मेडिकल सेण्टर’ मा पुर्याउनुपर्ने भयो।
उनका अभिभावकले छोरालाई औषधिले नै निको होस् भन्ने प्रार्थना गरे पनि कलेजो प्रत्यारोपण नै अन्तिम विकल्प देखियो। शिशु सानै भएका कारण बुवा-आमाको मात्र कलेजो दिन मिल्ने थियो। यसमा बुवा महेशले कलेजो दिने भए।
'मेरो जिन्दगी' म्युजिक भिडिओमा प्रत्यारोपणअघि सामना गर्नुपरेको समस्या समेट्न खोजिएको छ। युवराज वाइवाले निर्देशन गरेको यो भिडयोमा शिवांशका बुवा र आमाको भूमिकामा निर्मल न्यौपाने र रेखा घिमिरेको अभिनय छ।
शिशु शिवांशको स्वास्थमा सुधार भइरहेको छ। उनका बुवा महेश पनि अपरेसनपछि तङ्ग्रिदै छन्। तर टाउकोमा भने लाखौंलाख ऋणको भारी छ। यो गीतबाट आउने सम्पूर्ण रोयल्टी शिवांशको सहयोगका लागि जम्मा गरिने जनाइएको छ।