कृष्णदीप सिग्देलद्वारा लिखित उपन्यास 'सेकुवा' प्रकाशित भएको छ। रोमाञ्चक स्वैरकल्पनासहितको यो उपन्यास शैली र प्रस्तुतिका कारण किशोर समूहका पाठकलक्षित छ। नेपाली साहित्यमा बालबालिका र वयस्क पाठकका लागि पठन सामग्री उपलब्ध भए पनि किशोर उमेर समूहका लागि जति लेखिनु पर्ने हो त्यति लेखिएको छैन।
'सेकुवा' उपन्यासले त्यही अभाव पूर्तिको काम गर्ने भन्ने सांग्रीला बुक्सका संस्थापक मणि शर्माले बताए। पुस्तकका सन्दर्भमा लेखक सिग्देल भन्छन्, 'यो उपन्यास किशोरकिशोरीका लागि एउटा कोसेली हो। किशोर-किशोरीलक्षित किताबको खडेरी रहेको अवस्थामा यो किताबले अभावपूर्ति गर्ने एउटा प्रयास हो।'
लेखक सिग्देलका यसअघि दुई बालउपन्यास प्रकाशित भइसकेका छन् । यसबाहेक उनका चित्रपुस्तक लगायतका ७५ भन्दा बढी किताब प्रकाशित छन्।
'सेकुवा' उपन्यासमा चित्र बनाउने काम सुमन महर्जनले गरेका छन्। एक सय असी पृष्ठको यो उपन्यासको मूल्य ३३५ छ।