कविता, गजल र मुक्तक लेखनमा सक्रिय स्रष्टा दुर्गा किरण तिवारी ‘क्षितिज’ आफ्नो दोस्रो कृति ‘नजरभरि माछापुच्छ्रे’ लिएर पाठकसामू आएकी छन्। आञ्चलिक स्वादले भरिएको पुस्तकमा गण्डकी प्रदेशको सुवास मग्मगाउँछ। उनको पुस्तकमा ३ सय ५१ वटा मुक्तक संग्रहित छन्।
बिम्ब र प्रतीकको मीठो संयोजन गरेर माया, प्रेम, राष्ट्रियता, समाज, अध्यात्म र राजनैतिक विषय उठान गर्ने खुबी भएकी तिवारीका मुक्तक चोटिला छन्। साथै रसिला पनि।
‘जीवन भोगाईका अनुभूतिहरूलाई नै मुक्तकमा पस्केकी हुँ’, मुक्तककार तिवारी भन्छिन्, ‘साहित्यिक सृजना गर्दा मन हलुँगो हुन्छ। आत्मसन्तोष मिल्छ।’
गण्डकी साहित्य परिषद्ले गएको शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘नजरभरि माछापुच्छ्रे’ लोकापर्ण गरिएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गुरुङसहित सर्जकहरू रामकाजी कोने, रमेश पौडेल, डा. भरतकुमार भट्टराई, भुवनहरि सिग्देल, मदनराज थापा, विधान आचार्य र देवी काफ्लेलगायतले तिवारीको लेखनशैलीको प्रशंसा गरेका थिए।
कौशलकुमार भट्टराईले प्रकाशन गरेको ‘नजरभरि माछापुच्छ्रे’ को मूल्य तीन सय पचास रुपैयाँ राखिएको छ। निरन्तर साहित्य साधनामा समर्पित तिवारीको पहिलो कृति ‘नचुमेको क्षितिज’ कविता संग्रह हो। उनको तेस्रो कृति ‘निलगगनको अँगालोमा’ कविता संग्रह पनि प्रकाशनको तयारीमा छ।