गायक सुरज कुमार थापाको स्वरमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। ईश्वर बल्लभको शब्द र शान्ति ठटालको संगीतमा 'तिमीलाई हरेक पानीमा' बोलको गीत युट्युबमा सार्वजनिक भएको हो।
'तिमीलाई हरेक पानीमा'को म्युजिक भिडिओलाई सन्तोष बस्नेतले निर्देशन गरेका छन् भने उनकै कन्सेप्ट एवम् सिनेमेटोग्राफीमा भिडिओ तयार भएको हो। भिडिओलाई शिभु श्रेष्ठले सम्पादन गरेका छन्।
भिडिओमा गायक सुरज र निरु बस्नेतको अभिनय छ।
सांगीतिक परिवारमा जन्मेका सुरजले संगीत क्षेत्रमा झन्डै तीन दशक बिताइसकेका छन्। सुरजका गीत सुन्नेहरुले उनलाई 'पश्चिम कोही पूर्व घर' र 'यसपालि त जन्तेबाख्रो खान पाइने भो' जस्ता गीतबाट चिन्लान्। कसैले उनलाई नेपथ्य ब्यान्डका सदस्य त कसैले 'पलेटी' का वाद्यवादक तथा गायकका रुपमा पनि चिनेका होलान्। उनलाई चर्चित लोकगायिका तीर्थ कुमारी थापाका छोराका रुपमा चिन्नेहरुको पनि छन्।
विगत १७ वर्षदेखि सुरजले नेपथ्य ब्यान्डमा रही विश्वका विभिन्न देशमा सांगीतिक भ्रमण गरिसकेका छन्। करिब बीस वर्षदेखि उनी विभिन्न स्कुलमा संगीत पनि सिकाउँदैछन्। सुरजले नेपालयबाट सञ्चालन हुँदै आएको लाइभ सांगीतिक कार्यक्रम 'पलेटी' मा गायक, संगीतकार तथा संगीत संयोजकका लामो अनुभव बटुलेका छन्।
सुरजले आफ्नो नयाँ गीत 'तिमीलाई हरेक पानीमा'मा आफ्नै युट्युब च्यानलबाट गत बुधबार सार्वजनिक गरेको छन्।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७, ०६:२१:००