लोक साहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवसको प्रसिद्ध लोककथा सङ्ग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ। बुक–हिल पब्लिकेसनले ‘क्लासिक सिरिज’ अन्तर्गत प्रकाशन गरेको यस पुस्तकमा नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने विविध जातिहरू तथा नेपालबाहिर बसोबास गर्ने नेपालभाषीका जनजीवनमा प्रचलित १२२ वटा लोककथा समावेश छ।
पुस्तकबारे लेखक, संकलक-सम्पादक तुलसी दिवस भन्छन्, 'पन्चायतकालमा सत्ताको कहर खप्दै करिब एक दशकभन्दा लामो समय लगाएर संकलन र सम्पादन गरिएको यो पुस्तकमा लोककथाको स्थान, जाति, वर्ग, भाषा आदिका आधारमा विश्वप्रसिद्ध लेखक र चिन्तकका सिद्धान्तलाई आधार मान्दै वैज्ञानिक विश्लेषण र वर्गीकरण गर्ने कोसिस गरेको छु।'
सांस्कृतिक, एतिहासिक, सामाजिक, अर्ति–उपदेश, ठगी–चलाखी, लोभी–कन्जुस्याइँ, विश्वासघात, पशुपक्षी, भूत, राक्षस, परी, जादू, दैवी, बहादुरीलगायतका विषयका लोककथामा स्थानीय भाषा, लवज र लोकजीवनको चित्रण गरिएको छ।
बढ्दो आधुनिकी र यान्त्रीकरणको युगमा लोककथाको यो पुस्तकले पाठकलाई आफ्नो अतीततिर फर्काउन र आफ्नो आदि–इतिहास बुझ्न मद्दत गर्ने र सामान्य पाठकदेखि प्राज्ञिक वर्गका निम्ति पनि यो पुस्तक सङ्ग्रहणीय रहेको प्रकाशक बुक–हिल पब्लिकेसनले जनाएको छ।
विश्वविद्यालयमा लोकसाहित्य अध्ययनको स्रोत पुस्तकका रूपमा समेत पढाइने करिब ६०० पृष्ठको सचित्र किताबको मूल्य ९९९ तोकिएको छ। यसअघि यो पुस्तक २०३१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको थियो।