पदम गौतमद्वारा लिखित उपन्यास 'विश्रामपुर' बजारमा आएको छ।
राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो 'विश्रामपुर'।
यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कविता संग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजल संग्रह प्रकाशित छन्।
राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथा हो- 'विश्रामपुर'।
उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन्।
आन्चालिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ।
राजनीतिले देखाएको सपना र सत्ताले गर्ने सपनाको हत्यापछि पिँधमा रहेका नागरिकले भोग्नुपर्ने भुक्तमानको दस्ताबेजीकरण हो- 'विश्रामपुर'।
उपन्यास लेखिनुको पृष्ठभूमिका बारेमा लेखक भन्छन्,‘यो उपन्यासको भावभूमि र मुख्य विषय तीन-चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो। मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरें धेरै पटक। पात्र र गाउँ काल्पनिक भए पनि सपना उही हुन्, मान्छेका कथा उही हुन्।’
सांग्रिला बुक्सले प्रकाशन गरेको 'विश्रामपुर' उपन्यास २७२ पृष्ठको छ र यसको मूल्य ४८४ रुपैयाँ छ।