नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथौ संस्करणमा प्रदर्शन गरिने फिल्महरुको सूची सार्वजनिक भएको छ। आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवको सूची सार्वजनिक गरेको हो।
केपी पाठक हस्ताक्षरित संस्थाको तर्फद्वारा जारी विज्ञप्ति अनुसार यस पटक महोत्सवमा देशभित्र र बाहिरका गरी ६३ वटा फिल्म प्रदर्शन गरिने छन्। ती फिल्म संसारका ५२ देशबाट प्राप्त ४ सय ५० फिल्मबाट छानिएको हो।
निफले यसअघि फागुनको १२ देखि १६ सम्म महोत्सव गर्ने भन्दै विश्वभरका फिल्ममेकरसँग फिल्म मागेको थियो। कोरोना महामारीका कारण आउँदो वर्षको वैशाख २३ देखि २७ सम्म हुनेछ।
'विश्वका कथाहरुको कथ्य उत्सव' भन्ने नारा बोकेको यस पटकको महोत्सव महामारीको विषयमा बनेका फिल्महरु समावेश गर्ने निर्णय गरेका छौं। कोभिड १९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्।
अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड, प्रदान गरिनेछ भने इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड पनि प्रदान गरिनेछ।
सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिनेछ।
नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार र सर्टमध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ।
फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ।
‘महामारीको समयमा पनि यति धेरै संख्यामा फिल्म आउनु, हामीप्रतिको विश्वासको रुपमा लिएका छौं, केपी पाठक हस्ताक्षरित संस्थाको तर्फद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'विभिन्न कारण सबै फिल्म छान्न सकेनौं। आन्तरिक छनोट समितिले दिएको अंकका आधारमा उच्च अंक पाउने फिल्महरु समावेश गरेका छौं।’
सार्वजनिक सूचीमा सर्ट फिल्मतर्फ भने केही राष्ट्रिय-अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन राजेश खत्रीको ‘स्केरक्रो’, राजन कठेतको ‘बेयर ट्रिज इन दि मिस्ट’ आदि समावेश छन्।