उपत्यकाको साँझ–बिहान अझै चिसै छ। मंगलबार साँझको बढ्दो चिसोसँगै ललितपुर, पाटनस्थित यलमाया केन्द्रको प्रांगणमा जमघट पनि बढ्दै थियो
‘कर्णालीका रंगहरू’ लेखिएको ब्यानरमुनि कहिले सारंगी, कहिले आरबाजो, कहिले मुर्चुंगा त कहिले च्याब्रुङको अभ्यास चलिरहेको थियो ।
क्षितिजमा गोधूली रंग देखिँदै गर्दा कवि शकुन्तला जोशीले डोल्पाकी गायिका फुर्वा साङ्मोलाई मञ्चमा बोलाइन्। डोल्पो लवजमा सम्बोधन गर्दै उनले सोही भाषाको गीत गाउँदा माहोल तरंगित भयो।
माहोलमा जोडिए रैथाने संगीतकी अभियन्ता झुमा लिम्बू र उनको समूह। उनको समूह मौलिक बाजाको नेपाली धून प्रस्तुत गर्यो। झुमाले पश्चिमको देउडा गाइन्, मध्यक्षेत्रको लोकगीत गाइन् र पूर्वको हाक्पारे गाउँदै संगीतमार्फत पूर्व पश्चिम यात्रा गराइन्।
त्यो यात्रामा संगीतज्ञ डा. लोचन रिजाल जोडिए। उनले आरबाजो र सारंगीमा हृदय कम्पित गराउने दार्शनिक गीत सुनाए। संगीतपछि कविताको पालो, जसमा जोडिए ‘कर्नाली ब्लुज’ अर्थात बुद्धिसागर। उनले कर्णालीका मौलिक अनुभूतिलाई आधा दर्जन कवितामा आवाज दिए।
यो विशेष प्रस्तुति पनि कर्णालीको सपनालाई आवाज दिनकै निम्ति तय भएको थियो। डेढ दशकदेखि कर्णालीको मुगु जिल्लामा कला गतिविधि सञ्चालन गरिरहेको कर्नाली आर्ट सेन्टरले ढोकैमा क्याफे, पाटन, ललितपुरमा ‘कर्णालीका रंगहरू’ शीर्षक चित्रकला प्रदर्शनीको पहिलो दिनको विशेष प्रस्तुति थियो। यसमा भौतिक–अभौतिक कला पुस्तान्तरण गर्ने कर्नाली आर्ट सेन्टरका स्कुल–टु–स्कुल अभियानका लागि कोष संकलनमा योगदान गरेका व्यक्तित्वहरू उपस्थित थिए।
समुदायमा रहेको समृद्ध कला र सीप लोप हुँदै गइरहेको अवस्थालाई ध्यानमा राखी सेन्टरले विद्यालय–विद्यालय पुगेर त्यस्ता कला र सीप विद्यार्थीलाई सिकाउने अभियान थालेको उनले बताए।
त्यसै सन्दर्भमा मुगुकै कलाकार कोशल हमालको संयोजनमा ललितकलाका १५ विद्यार्थीको सहभागितामा दुई बर्षअघि मुगुमा ७ दिने आवासीय चित्रकला कार्यशाला आयोजना गरिएको थियो। त्यहाँ कलाकारले बनाएको सम्पूर्ण चित्रहरू अभियानलाई सहयोग गरिएको ललितकला क्याम्पसका सहप्राध्यापकसमेत रहेको हमालले जानकारी दिए।
कार्यशालामा कलाकार दुर्गा सुनुवार, मेनुका शाही ठकुरी, झंकार सापकोटा, के.बी. पाल्पाली, अनिल मचामसी, अनिल खड्का, अनिलकुमार भुजेल, अनिता लिम्बू, नितेश श्रेष्ठ, रोशन राई, प्रज्ज्वल सुवेदी र योगेनजंग क्षेत्री सहभागी थिए ।
वातावरण, युवा, बालबालिका, महिलाका साथै फोहोरमैला तथा प्राकृतिक विपत्ति व्यवस्थापनमा काम गर्दै आइरहेको गैरसरकारी संस्था क्रियसन र सामाजिक उद्यममा सक्रिय भरोसा प्रिन्टको सहकार्यमा भइरहेको प्रदर्शनमा यलमाया केन्द्रको ढोकैमा क्याफेले स्थान उपलब्ध गराएको छ।कर्णालीका कला, संस्कृति, मिथक, पर्यावरण, लोकजीवनलगायत विषय रंगमार्फत अभिव्यक्त गरिएको छ।
‘प्रदर्शनीमा राखिएका चित्रहरु बिक्रीमा छन् जसबाट आएको सम्पूर्ण रकम स्कुल–टु–स्कुल अभियानमै खर्च हुनेछ’, सेन्टरका अध्यक्ष हिरा बिजुली नेपालीले भने। प्रदर्शनमा राखिएका चित्रहरूको मूल्य १५ देखि ४० हजारको हाराहारीमा राखिएको छ।
१५ कलाकारका डेढ दर्जन चित्र समावेश प्रदर्शनी बिहीबारसम्म चल्नेछ।