कवि तथा गीतकार डिपी दाहाल परिश्रमीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारि’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमका बीच पुस्तक र भिडियो एकसाथ सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, विशिष्ट अतिथि, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा लगायतले दुई कृति सार्वजनिक गरेका थिए।
दुई कृति सार्वजनिकपछि प्रमुख अतिथि सत्यमोहन जोशीले कवि तथा गीतकार दाहाललगायत भिडियोको टिमलाई बधाइ दिए।
म्युजिक भिडियोको तारिफ गर्दै जोशीले राम्रो भिडियो निर्देशन र कलाकारहरुको अभिनयले जीवनदान दिने काम भएको बताए। जोशीले पुस्तक ‘अन्तर्मनका सुसेली’को पनि तारिफ गर्दै यस पुस्तकको बारेमा लामो व्याख्या गरेका थिए।
त्यस्तै, विशिष्ट अतिथि शम्भुजित बाँस्कोटाले पनि दुई कृतिका लागि कवि तथा गीतकार परिश्रमीलाई बधाइ दिए। क्षितिजपारि गीतको म्युजिक भिडियो राम्रो लागेको बताउँदै उनले कलाकार र निर्देशकलाई बधाइ दिए। म्युजिक भिडियोमा प्रस्तुत भएको कथा अझ राम्रो बनेको बाँस्कोटाले बताए।
चर्चित गायक प्रताप दास र चर्चित गायिका रचना रिमालले गाएको ‘क्षितिजपारि’ बोलको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन्। गीतमा दाहालको शब्द रहेको छ। म्युजिक भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका छन्।
मोडल सुधीर श्रेष्ठ र मोडल अशु न्यौपानेले अभिनय गरेको म्युजिक भिडियोमा अब्बल अभिनय र निर्देशनले गीतको म्युजिक भिडियो फिल्मी शैलीमा प्रस्तुत गरिएको छ।
भिडियो सिनेमाटोग्राफर ज्ञानेन्द्र हुमागाई शर्माले खिचेका छन्, भने अमृत चापागाईंले सम्पादन गरेका छन्।