'म अर्जुन रेड्डी बन्न चाहन्छु।'
हालै एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न ‘अर्जुन रेड्डी’ नेपाली रिमेक अडिसनमा सहभागी सयौंले यस्तै भनिरहेका थिए। उनीहरुको सपना एउटै थियो- दक्षिण भारतीय तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा छनोट हुने।
'अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने खबर सार्वजनिक भएदेखि फिल्मबारे धेरैको चासो छ। नेपाली रिमेक भर्सनका लागि कलाकार छान्न आइतबार अडिसन सम्पन्न भएको हो। एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा ८ सय जना सहभागी थिए। अडिसनका लागि २ हजार जनाले इमेल पठाएको निर्माण पक्षले बताएको छ।
नेपाली रिमेकका निर्देशक बिशाल सापकोटाले चाँडै मुख्य कलाकारहरू छनोट गरी फाइनल वर्कसप गरिने बताए।
'अर्जुन रेड्डी'को नेपाली भर्सन कबड्डी, पुरानो डुङ्गा जस्ता फिल्म अमेरिकामा वितरण गरिसकेको युवा फिल्म्सबाट निर्माण हुँदैछ। तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबीर सिंह’ निर्माण भइसकेको छ। शाहिद कपुरको मुख्य भूमिका रहेको यो फिल्म व्यवसायिक रुपमा निकै सफल भएको थियो।
विदेशी फिल्मको नेपाली भर्सनमा फिल्म निर्माण हुन लागेको यो पहिलो पटक हो।