साहित्यपोस्टले २०७७ सालमा प्रकाशित कृतिमध्ये उत्कृष्ट नयाँ लेखकलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ। 'साहित्यपोस्ट उत्तम कृति पुरस्कार' नाम दिइएको यो पुरस्कार २०७७ सालदेखि प्रदान गरिन लागेको हो।
आख्यान, गैरआख्यान र काव्य विधामा कलम चलाउन युवा पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ युवा साहित्य परिषद्ले गत वर्ष घोषणा गरेको पुरस्कार व्यवस्थापन गर्ने जिम्मा साहित्यपोस्टले लिएको थियो।
यससम्बन्धी गएको हप्ता पुरस्कारदातासँग सम्झौता भइसकेको साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले बताए।
‘हरेक वर्ष बजारमा नयाँ लेखक थपिइरहेका हुन्छन्, तर कुन लेखकको कुन वर्ष यो क्षेत्रमा आधिकारिक पदार्पण भयो, लेखाजोखा राख्ने निकाय खासै देखिएन,’ कोइराला भन्छन्, ‘यदि लेखकको पहिलो कृतिलाई पुरस्कृत गर्ने हो भने यसको आधिकारिक तथ्यांक राख्न सकिन्छ। यसले नवोदित लेखकको पहिचान, उनीहरूको उन्नयन र प्रोत्साहनको बाटो पनि खुल्छ।’
आफू पनि कुनै बेला नवोदित लेखक भएका कारण यसको दुःख आफूले महसुस गरेका कारण नवलेखकको कृतिलाई पुरस्कार गर्ने सोच आएको कोइरालाले बताए।
साहित्यपोस्टले जारी गरेको प्रेस वक्तव्य अनुसार पुरस्कार आगामी वैशाख २५ गते प्रदान गरिनेछ। वर्षभरि निस्किएकामध्ये सुरुमा उत्कृष्ट १० पुस्तकको सूची आगामी वैशाख ५ गते सार्वजनिक गरिने कार्यक्रम छ।
ती पुस्तकलाई साहित्यपोस्टका १० जना लेखक–स्तम्भकार एवम् ५ जना विधागत सम्पादन मण्डलको समूहले अन्तिम निर्णय गर्नेछ।
आगामी वैशाख १५ गते 'साहित्यपोस्ट उत्तम कृति'को नाम घोषणा गरिने र साहित्यपोस्टको वार्षिक उत्सवका दिन बैसाख २५ गते सार्वजनिक समारोहमा ५० हजार रुपैयाँ र ताम्रपत्रले उत्कृष्ट कृतिका सर्जकलाई सम्मान गरिनेछ।
विज्ञप्तिअनुसार पहिलो एकल एवं मौलिक कृति मात्रै पुरस्कारका लागि योग्य हुनेछन्। नेपाली भाषामा लेखिएको एवं नेपालभित्र वा बाहिर बस्ने नयाँ लेखक यो दायरामा पर्ने बताइएको छ।
‘हामीसँग नव लेखकका २३ कृति प्राप्त भइसकेका छन् । अरु पुस्तकको खोजी भइरहेको छ। सकेसम्म कुनै पनि पुस्तक नछुटुन् भन्ने हिसावले खोजी र अध्ययन भइरहेको छ,’ प्रधानसम्पादक कोइरालाले भने।
पुरस्कार सौजन्य उत्तमप्रसाद पन्तले गरेका हुन्। पन्त राणाकालमा जलसमाधि लिएकी क्रान्तिकारी नेतृ योगमायाका अध्येता हुन्। साहित्यकार पारिजातको निर्देशनअनुसार पन्तले २०४१ देखि २०५२ सालसम्म योगमायाको प्रभाव क्षेत्रमा पुगेर अध्ययन गरेका थिए।