लेखक सरिता अर्यालको 'मेरो अपहरण' पुस्तकलाई २०७६ सालको 'उत्तम शान्ति पुरस्कार' प्रदान गरिने भएको छ। एक लाख रुपियाँ नगद राशि भएको यो पुरस्कार 'उत्तम कुँवर स्मारक पुरस्कार गुठी'ले नियात्रा-निबन्ध विधामा लेखक अर्यालले गरेको योगदानका लागि दिन लागिएको गुठीका सचिव ठाकुर पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ। ताम्रपत्र र नगद दिइने उत्तम शान्ति पुरस्कार २०७८ साल जेठ १२ गते बुधवार गरिने छ।
रागात्मक मानवीय अनुभूतिलाई चुस्त शैलीमा अभिव्यक्त गरिएकोले 'मेरो अपहरण'लाई पुरस्कृत गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।