संकटको समयमा पर्दाभित्रका हिरोहरु पर्दाबाहिर मौन बसेको भन्ने गुनासो बेलाबखत सुन्न पाइन्छ। नेपाली सिनेमा क्षेत्रका केही कलाकारले भने यस्ता गुनासो गर्ने मौका नदिई सामाजिक सक्रियता देखाएका छन्।
हालै अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीलगायत सुदूरपश्चिमवासीका लागि ५० सिलिन्डर बराबर अक्सिजन सहयोग गरेका छन्। अभिनेता पुष्पले मैनादेवी फाउन्डेसन मार्फत यो सहयोग प्रदान गरेका हुन्।
'मेरो गाउँले मैनादेवी फाउन्डेसनका केपी खनालको नेतृत्वमा महामारीमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग वितरण भइरहेको देखेपछि मैले उहाँ मार्फत ५० सिलिन्डर अक्सिजन बराबरको सहयोग गर्ने जिम्मा लिएको हुँ।'
अभिनेता पुष्प खड्काले सुदुरपश्चिमको कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाका बासिन्दा हुन्। 'संकट हुँदाहुँदै पनि काठमाडौंको तुलनामा सुदूरपश्चिम क्षेत्रका कोरोना संक्रमितलाई अझ बढी गार्हो छ। यस्तो बेला स-साना सहयोगले पनि मान्छेको ज्यान बचाउन सकिने भएकोले मैले पनि सकेको सहयोग गरेको हुँ,' हालको लकडाउनमा बानेश्वर, काठमाडौंमा रहेका अभिनेता खड्काले भने।
हालसम्म २५ सिलिन्डर अक्सिजन वितरण गरिसकिएको र बाँकी २५ सिलिन्डर एक दुई दिनमै वितरण हुने उनले बताए।सुदुरपश्चिमका विभिन्न अस्पतालमा अक्सिजनको कमी नहोस् र अस्पताललाई अक्सिजन भर्न नसकेको पीडा नहोस् भनेर मैनादेवी फाउन्डेसनको माध्यमबाट विभिन्न अस्पतालका खाली सिलिन्डरमा अक्सिजन भरेर दिने काम भइरहेको छ।
अभिनेता पुष्पको जन्मथलो र सुदूरपश्चिम क्षेत्रमा भारतमा मजदुरी गरेर खाने श्रमिक वर्गले स्वास्थ्य उपचारदेखि खाद्यान्न संकटको अभाव झेलिरहेका छन्। अभिनेता पुष्पले भने, 'आगामी दिनमा अरु सहयोग जुटाउन पनि प्रयास गर्नेछु।'
पुष्पले आफ्नो जन्मथलोमा सहयोग गरेको यो पहिलो पटक होइन। यसअघि उनले बालबालिकालाई सहयोग गर्ने 'बाल सहारा' संस्थालाई पनि सहयोग गरेका थिए। उनले भने, 'बालसहाराका माध्यमबाट कैलाली महोत्सवबाट आएको पचास हजार रकम सहयोग गरेको थिए।'
अझै पनि, 'दर्पण छाया २', 'मंगलम', 'मारुनी'जस्ता फिल्मबाट स्थापित अभिनेता पुष्प आफ्नो कमाइलाई दर्शकको मायाबाट आएको आम्दानी भन्छन्। 'हामी कलाकारले पाएको नाम र काम जनताकै मायाको प्रतिफल हो। उहाँहरुबाट पाएको कुरा उहाँहरुको लागि खर्च हुनुपर्छ किनभने यसले कलाकार र दर्शकबीच कनेक्सन बनाइराख्छ।'
उनले भने, 'कोरोना संक्रमितलाई अकालमै मर्नबाट रोक्नबाट बचाउन सक्नु नै अहिलेको चुनाैती हो। अहिलेको बेला सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सके यो संकटसँग जुध्न सकिन्छ।'
पुष्पका 'कृष्ण लीला', 'तिम्रो मेरो साथ' र 'मनसँग मन' प्रदर्शनको तयारीमा रहेका फिल्म हुन् जुन लकडाउन सकिने सामान्य अवस्थाको पर्खाइमा छन्।