असार तीनदेखि अमेरिकाको मेरिल्यान्ड राज्यमा चार दिने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ। भौतिक रुपमा आयोजना हुँदै आएको महोत्सव कोरोना महामारीका कारण भर्चुअल हुनेछ। नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० वटा चलचित्रहरु प्रदर्शन हुने प्रेस वक्तव्यमा जनाइएको छ।
जुन १७ (असार ३) मा बिहिबार साँझ भर्चुअल रुपमा चलचित्र महोत्सवको उद्घाटन भएर २० तारिक आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ। महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत निशुल्क हेर्न सकिनेछ।
प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिनेछ। प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्मलाई पुरस्कृत पनि गरिनेछ।
फिल्म महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ। नेपालबाट रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्। महोत्सवमा आवेदन परेका फिल्म छनोट समितिद्वारा छानिएका हुन्।
कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो। २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ।
नि:शुल्क चलचित्र हेर्नको लागि लिंक : https://nafilmsociety.org/
https://watch.eventive.org/naiffmaryland2021