आगामी भदौ ७ गतेको गाईजात्रालाई लक्षित गरी हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘ओम बकम्फुसाय नमः’ सार्वजनिक गरेका छन्। उनको यो प्रहसन तथा प्यारोडीको भिडिओ युट्युब च्यानल मार्फत बुधबार साँझ सार्वजनिक गरिएको हो।
समसामयिक राजनीतिक विसंगतिप्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसाय नमः’ ल्याएका हुन्। रिजालको गाइजात्रे कोसेलीमा एउटा प्यारोडी गीत र प्रहसन समेटिएको छ।
उनले तीन वर्षबढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलापलाई प्रहसनको मुख्य विषय बनाएका छन्।
प्यारोडी गीतमा रिजाल तथा शंकर कार्कीको शब्द छ भने स्वर शशी विक्रम थापा तथा राधिका हमालले दिएका छन्।
भिडिओमा रिजालसँग दमन रुपाखेती, शशी विक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय रहेको छ। गायिका राधिका हमाल भिडिओमा राष्ट्रपतिको भूमिकामा देखिएकी छन्।
दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित नया काम सार्वजनिक गर्ने उनको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो। गतवर्षको गाईजात्रामा उनले ‘लकडाउन’लाई विषय बनाएका थिए।
यो प्रहसन तथा प्यारोडी भिडिओ ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।