बिहीबार तीन घन्टाअगाडि कलाकार हरिवंश आचार्यले फेसबुकमा एउटा भिडिओ सेयर गरे।
भिडिओसँगै उनले क्याप्सन पनि लेखे- डिप्रेसन पनि एक किसिमको रोग हो। कसैको केही काम बिग्रेको छ भने उसलाई सबै साथी, परिवार मिलेर साथ सहयोग गर्नुपर्छ।
हरिवंशको क्याप्सनले नै यो भिडिओको सन्देश अनुमान लाउन सकिन्छ। तर भिडिओ अझै रमाइलो र जानकारीमूलक छ।
हाँस्य व्यंग्य शैलीमै दर्शकलाई रमाइलो गराउँदै मदनकृष्ण श्रेष्ठ र हरिवंशले सचेतनामूलक जानकारी दिन सफल भएका छन्।
मदनबहादुर र हरिबहादुर पात्रका रूपमा महजोडीले यसअघि पनि यस्ता थुप्रै सन्देशमूलक भिडिओ बनाएका छन्।
यो भिडिओ भने मानसिक रोगसँग सम्बन्धित छ।
यसमा हरिबहादुर आफूलाई परेको एउटा चिन्ताको सल्लाह लिन मदनबहादुरकहाँ पुगेका छन्।
उनका छोरामा टोलाइरहने, कसैसँग नबोल्ने, कहीँ नजाने, केही नखाने, कसैलाई नहेर्ने, बसिरहनेजस्ता समस्या देखिएका छन्। अनि एकपटक त छोराले आत्महत्यासमेत प्रयास गरेको भन्दै हरिबहादुर सुनाउँछन्।
हरिबहादुरको कुरा सुनेपछि मदनबहादुरले यस्तो समस्या देखापरिसकेपछि छोरालाई तुरून्तै मानसिक स्वास्थ्यका डाक्टरकहाँ जँचाउन लैजान भन्छन्।
यसपछिको दृश्यमा हरिबहादुर र उनका छोरा अस्पताल पुग्छन्। डाक्टरले छोरालाई मानसिक पीडा हुनेखालको केही घटना भएको वा लागुपदार्थ सेवन गर्दा पनि यस्ता समस्या हुने बताउँछिन्।
हरिबहादुरका छोराको समस्या भने व्यापार बिग्रेर सुरू भएको हुन्छ। हरिबहादुरले पनि छोरालाई साथ दिनुको साटो गाली गरेका हुन्छन्। उनले तुरून्तै छोरासँग माफी माग्छन्।
डाक्टरले उनीहरूलाई डिप्रेसनका बारेमा बताउँछिन्- मानिसको जीवनमा नसोचेका समस्याहरू आइपर्न सक्छन्। यस्ता समस्याहरूले तनाव सिर्जना गर्छ। तनावको अर्को खुड्किलो मानसिक रोग हो। यसकै रूप हो डिप्रेसन।
हाँस्यव्यंग्यमा जमेका हरिवंशले गम्भीर विषयलाई साधारण शैलीमा बुझाउन यहाँनिर प्रश्न सोध्छन्- डाक्टर साब, यो डिप्रेसनको अप्रेसन गर्न मिल्दैन?
डाक्टरले डिप्रेसन शरीरमा लाग्ने घाउचोट नभएर मनमा लाग्ने रोग हो भनेर बुझाउँछिन्। यसले मनमा छटपटी र तनाव सिर्जना गर्छ। कसैको अनुहारमा तनाव देखिन सक्छ, कसैको नदेखिए पनि डिप्रेसन हुन सक्छ।
उसो भए मनको औषधि कसरी गर्ने त?
यस्तो बिरामीलाई क्षणिक रूपमा दिने औषधि हुन्छ जुन डाक्टरले दिन्छन्। तर यस्ता बिरामीलाई सबभन्दा ठूलो साथ परिवार र साथीसंगीले दिनुपर्छ। कामहरू बिग्रेको भए सपार्न समाजसम्मले महत्वपूर्ण भूमिका खेल्नुपर्छ।
एकपटक काम बिग्रेर के भयो र होइन?
हेर्नुहोस् हरिवंश आचार्यले सामाजिक सञ्जालमा राखेको भिडिओः