कोरोना महामारीअघि रिलिज गर्ने घोषणा भइसकेका केही फिल्ममध्ये 'चपली हाइट ३' पनि पर्छ। महामारी फैलिनु अगावै छायांकन सकिएको यो फिल्म दर्शकले चाँडै हेर्न पाउने भएका छन्।
निकेश खड्का निर्देशित 'चपली हाइट ३' पुषको पहिलो साता रिलिज हुने घोषणा भएको हो। फिल्मका निर्माता अर्जुन कुमारका अनुसार यही पुष २ गते देशभरका हलबाट एकै पटक प्रदर्शन हुनेछ।
स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अर्पण थापा, अमिर गौतम, महेश त्रिपाठी, जीवन भट्टराई, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ।
झन्डै २ वर्षपछि सिनेमा हलमा दर्शक आउने सम्भावना देखिएकोले नेपाली निर्माता तथा निर्देशकहरु आफ्ना फिल्म रिलिज गर्ने अवस्थामा पुगेका हुन्।
'लामो समयको अन्तरालपछि हामी हलमा फिल्म रिलिज गर्ने तयारीमा छौं,' निर्माता अर्जुनले भने, 'दर्शकको माया र साथको अपेक्षा राखेका छौं।'
'चपली हाइट' शृंखलाका रुपमा बन्ने यो फिल्म हिन्दी भाषामा पनि सार्वजनिक हुनेछ। निर्माता अर्जुनका अनुसार यसको डबिङको काम भारतमा हुँदैछ। अघिल्ला दुई श्रृखंलालाई दीपेन्द्र के खनालले निर्देशन गरेका थिए।
यसअघिका चपली हाइटजस्तै फिल्मले दर्शकलाई हलसम्म तान्ने कुरामा निर्माता अर्जुन आशावादी छन्।