बलिउडकी चर्चित नायिका उर्मिला मातोडकरले भारतीय राष्ट्रिय कंग्रेस पार्टीमा प्रवेश गरेकी छन्। बुधबार कंग्रेस अध्यक्ष राहुल गान्धीले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उर्मिलालाई स्वागत गरेका हुन्।
कंग्रेसमा प्रवेश गरेपछि पत्रकारसँग कुरा गर्दै उर्मिलाले आफू पार्टीमा निर्वाचनपछि छोड्नका लागि नभई सधैँको लागि आएको बताइन्।
कांग्रेसको दर्शन र राहुल गान्धीमाथि आफ्नो विश्वास रहेको उनले बताइन्।
‘कांग्रेसको विचारधारा र यसले लिने अडानमा म विश्वास गर्छु त्यसैले त्यहाँ आएँ। म निर्वाचनका लागि मात्रै पार्टी प्रवेश गरेकी भने होइन,’ उर्मिलाले भनिन्।
अप्रिल ११ देखि भारतमा लोकसभाको निर्वाचन हुँदैछ। उनी उत्तरी मुम्बईको क्षेत्रबाट लोकसभा चुनाव लड्ने अनुमान गरिएको छ।
उर्मिला मासुम सिनेमामा बालकलाकारको रूपमा अभिनय गरेर बलिउड प्रवेश गरेकी थिइन्। त्यसको १३ वर्षपछि रंगिलाबाट उनले फिल्मफेयर अवार्ड जितेकी थिइन्।