लगातार हिट फिल्म दिइराखेकी बलिउड अभिनेत्री आलिया भट्ट अहिले सफलताको शिखरमा छिन्। फिल्मका सफलतासँगै उनको अभिनय तारिफ र अवार्डहरूले उनलाई सम्मान दिएको छ। रणवीर कपुरसँगको प्रेम सम्बन्धले पनि उनको खुसीमा अर्को कारण थपेको छ।
करिअर र व्यक्तिगत जीवन दुबैमा आफू खुसी भएको आलियाले नै बताएकी छन्।
तै उनी दुःखबाट टाढा छैनन्। आलियाले हालै फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा आफूमा 'एन्जाइटी' का लक्षण भएको बताएकी छन्। उनले कुनै कारणैबिना रून मन लाग्ने र चिन्तित हुने बताउँदै विगत ५-६ महिनादेखि एन्जाइटीको शिकार भएको खुलासा गरेकी हुन्।
'मलाई डिप्रेसन त भएको छैन। तर केही समयदेखि एन्जाइटी भइरहेको छ। यो आउँछ, जान्छ। आउने जाने क्रम भइरहेको छ। एन्जाइटी एट्याक नै त भन्दिनँ तर मलाई एकदमै निराश महशुस गर्छु,' उनले भनेकी छन्।
आलियाले आफ्नी बहिनी शाहिन भट्टको किताब पढेर पनि आफ्नो अवस्थाबारे सचेत भएको बताएकी छन्। आलियाकी बहिनी शाहिन डिप्रेसनको शिकार भएकी थिइन्। र, उनले यसबारे लेखेको किताब आलियाले पढेको बताइन्।
'म मेरो समस्याबारे ढाँट्दिनँ। मलाई कहिलेकाँही यसै रून मनलाग्छ। अनि त्यो समय बित्छ। फेरि ठिकै हुन्छ,' उनले आफ्नो अनुभव सुनाउँदै भनेकी छन्, 'सुरूसुरूमा के भएको होला भनेर म अलमल परेको थिएँ। कामको भार र कसैलाई भेट्न नपाएर पो हो कि जस्तो लाग्यो। पछि साथीहरूसँग कुरा गरेँ। सबैले मलाई सम्झाए कि यो विस्तारै जानेछ। यसमा आत्तिनु हुँदैन। अनि मैले यसलाई स्वीकार्न सकेँ।'
आलियाले गत वर्ष 'राजी' र 'गली ब्वाइ' जस्ता सफल फिल्मबाट राम्रो प्रतिक्रिया पाइन्। यो वर्ष उनी रणवीर कपुरसँग 'ब्रह्मास्त्र' मा र बरूण धवन र आदित्य रोय कपुरसँग 'कलंक' मा देखिँदैछन्। आयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा अमिताभ बच्चनको पनि मुख्य भूमिका छ। उता कलंकमा माधुरी दिक्षित, सोनाक्षी सिन्हा र सञ्जय दत्त पनि मुख्य भूमिकामा छन्।
योबाहेक आलिया एसएस राजामौलीको महँगो फिल्म 'आरआरआर', करन जौहरद्वारा निर्देशित 'तख्त' र आफ्नै बाबु महेश भट्टको 'सडक-२' मा देखिनेछन्।