पहिलो दिन वर्षकै सर्वाधिक ठूलो ओपनिङ गरेको आलिया भट्ट, वरूण धवन, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर, संजय दत्त तथा माधुरी दिक्षित अभिनित ‘कंलक’को त्यसपछिको व्यापार भने ओरालो लागेको लाग्यै छ।
८० करोड भारूको बजेटमा तयार भएको सिनेमाको लगानी उठ्न कठिन देखिएको छ।
करण जोहर निर्मित सिनेमा उनको करियरकै सबैभन्दा ठूलो फ्लप बन्न निश्चित भएको चर्चा भारतीय संचारमाध्यमले गरिसकेका छन्।
सिनेमाको यो अवस्थाकाबीच ‘कंलक’ अभिनेत्री सोनाक्षी सिन्हाले सिनेमाको वक्सअफिस आफ्नो नियन्त्रणमा नरहेको प्रतिक्रिया दिएकी छन्।
‘मेरा लागि हर सिनेमा उस्तै महत्वपूर्ण हुन्छ। आशासँगै सिनेमाको सफलताको लागि ईश्वरसँग प्राथना गर्छु तर केहि सिनेमाले दुर्भाग्यवशः राम्रो गरेका छैनन्’, सोनाक्षीले भनिन्, ‘तर म आशा मार्दिन। म सदैव आफ्नो उत्कृष्ट दिने प्रयास गर्छु तर वक्सअफिस मेरो नियन्त्रणमा हुँदैन। अभिनेत्रीका रूपमा मेरो नियन्त्रण मेरो काम र अभिनयमा मात्र हुन्छ। त्यसैले जुन कुरामा मेरो नियन्त्रण छैन, त्यसको बारेमा म चिन्ता गर्दिन।’
यस्तै सोनाक्षीले आफूले गरेका सिनेमाले सफलता पाए पनि नपाएपनि सँधै सिक्ने अवसर भने पाइरहेको पनि बताएकी छिन्।
सोनाक्षी यस वर्ष ‘मिशन मंगल’ तथा आफ्नो डेब्यू सिनेमा ‘दंबग’को तेश्रो सिक्वलमा देखिनेछिन्।