तपाईं पनि पछिल्ला दिनमा टिकटक स्क्रोल गरिरहँदा यी गीतहरू पक्कै सुन्नुहुन्छ होला।
कतिपय गीत तपाईंको मोबाइलमा बारम्बार आइरहेका पनि हुन सक्छन्। वा, यिनै गीतमा तपाईंले पनि टिकटक भिडिओ बनाउनुभएको समेत हुन सक्छ।
यतिबेला टिकटकमा कुन-कुन नेपाली गीतहरू छाइरहेका छन् वा ट्रेन्डिङमा छन् त?
टिकटकको गीतसम्बन्धी सेक्सनमा हेर्दा नेपालमा शुक्रबार देवी घर्ती र नन्दु परियारको स्वर रहेको 'यता हेरन' बोलको गीत पहिलो नम्बरमा देखिन्छ।
त्यस्तै, प्रकाश दूतराज र शान्तिश्री परियारको 'सुगा चरी' दोस्रो, अनुराग खड्का र आर्या आचार्यको 'कसरी' तेस्रो र कालीप्रसाद बास्कोटाको 'थाक खोला' चौथो नम्बरमा देखिन्छन्।
'यता हेरन' मा २ लाख ५७ हजारभन्दा बढी टिकटक भिडिओ बनेका छन्। त्यस्तै, 'सुगा चरी' मा ४ लाख ८८ हजारभन्दा बढी भिडिओ बनेको देखिन्छ।
तेस्रो नम्बरमा रहेको 'कसरी' गीतमा दुई लाख २५ हजारभन्दा बढी टिकटक भिडियो बनेका छन्। त्यस्तै, चौथो नम्बरमा रहेको 'थाक खोला' मा एक लाख ३४ हजारभन्दा बढी भिडिओ बनेको देखिन्छ।
'कलियुगको धर्म', 'शिरमै फूल माया', 'मेरो मन चोर्यो सुटुक्कै'लगायतका गीत पनि यतिबेला टिकटकमा ट्रेन्डिङमा देखिन्छन्।
युट्युबमा पनि राम्रो भ्युज
टिकटकमा ट्रेन्डिङमा रहेका यी गीतले युट्युबमा पनि राम्रो भ्युज पाएका छन्। चार दिनअघि मात्रै युट्युबमा सार्वजनिक 'यता हेरन' ले झन्डै १० लाख भ्युज पाइसकेको छ। छोटो समयमै गीतले पाएको यो भ्युजले दर्शकमाझ यसको आकर्षण देखाउँछ।
यो गीत ध्रुब हिमालीको प्रस्तुति हो भने यसमा नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीत छ। भिडिओमा आरके परियार र जुना विश्वकर्मा फिचर्ड छन्।
त्यस्तै, युट्युबमा सार्वजनिक भएको दुई साताको अवधिमा 'सुगा चरी' ४७ लाखभन्दा बढी पटक हेरिएको छ। प्रकाश दूतराजकै शब्द रहेको यो गीतको भिडिओमा प्रकाश स्वयंम फिचर्ड छन्।
११ दिनअघि सार्वजनिक भएको 'कसरी' गीतले पनि ११ लाखभन्दा बढी भ्युज पाएको छ। अनुराग खड्काको लेखन रहेको यो गीतको भिडिओमा उनी स्वयंसँगै अनुराधा थापा फिचर्ड छन्।
तीन साताअघि सार्वजनिक भएको 'थाक खोला' ले युट्युबमा ४० लाख भ्युज कटाएको छ। फिल्म 'कबड्डी ५'को यो गीतमा गायक कालीप्रसाद स्वयंको शब्द तथा संगीत छ। भिडिओमा दयाहाङ राई, सिर्जना गुरूङ, रिश्मा गुरूङ, मिरूना मगरलगायत फिल्मका कलाकारहरू देखिएका छन्।
टिकटकमा गीतका अंश प्रयोग गरेर छोटा भिडिओ बनाउने चलन बढ्दो छ। गीतमा नृत्य गर्ने, अभिनय गर्ने वा आफ्नै शैलीमा भिडिओ बनाउने क्रमले गीतलाई थप दर्शकमाझ पुर्याउन सहयोग गर्छ।
टिकटकमा ट्रेन्डिङमा रहेका यी गीतले युट्युबमा समेत राम्रो भ्युज पाउनुले नेपाली गीतहरू विभिन्न डिजिटल प्लेटफर्ममा दर्शकमाझ पुगिरहेको देखाउँछ।
यद्यपि, टिकटकमा बनेका भिडिओको संख्या र युट्युबमा प्राप्त भ्युज फरक मापदण्ड हुन्।