'आज रातभरि निद्रा लागेन,' अन्य विषयमा कुरा हुँदाहुँदै एक जना पत्रकारले भनिन्।
'किन र?' मेरो जिज्ञासा थियो।
'पारसका तस्विर देखेर साह्रै दिक्दार लाग्यो,' उनले थपिन, 'फेसबुकतिर आएका ती कुनै तस्विर मैले हेर्न सकिँन। मन त्यसै त्यसै एक तमासको भयो। रातभरि तिनै तस्विरहरू अनुहारमा आइरहे।'
पूर्व युवराजाधिराज पारस शाहलाई थाइल्याण्ड प्रहरीले लागु औषधसहित पक्राउ गरेको खबर नेपाली सञ्चार माध्यममा शुक्रबारदेखि छाएपछि घरघरमा प्रतिक्रिया छ, 'कठै यिनलाई के भएछ?'... 'लौ न कस्तो हट्टाकट्ट मान्छेको गतिपति सकिएछ।'
एउटा हाफ बाहुले बुट्टे सर्ट, कालो ट्राउजर, सेता स्पोर्टस सुज, लामो कपाल, दुब्लो ज्यन, फुङ उडेकोे अनुहार देख्दा कसको मन द्रविभूत नहोला? अझ हत्कडी लगाइएका हात नमस्ते मुद्रामा रहे पनि पारस अवोध झै मुस्काइरहेका देखिए।
पाषाण हृदयहरूलाई अरूको दुःखमा सुखानुभूति हुन्छ। तर, सबै मानिसमा अरूको दुःखमा सुखी हुने दुष्टात्माको बास हुन्न।
पूर्वयुवराज पारस कुनै बेला शक्तिवान थिए। आज दीनहीन अवस्थामा विदेशी भूमिमा बाँचेका छन्। उनको परिवारले दुःख पाएको छ। त्यत्रो ठूलो हृदयघातबाट तिनी बाँचे। शक्तिबाट हटाइएपछि सामान्य नागरिकसरह उनको परिवार बसेको छ। भर्खरै पूर्वराजा ज्ञानेन्द्र शाह आफैं मुटु उपचारका निम्ति अस्पताल भर्ना भए। कुमालेको चक्रजस्तो हिजोको वैभव सकिएर आज यो अवस्थामा पूर्व राजपरिवार आएका छन्। फेरि राम्रो दिन आउँला भनेर प्रतिक्षा पनि गरेकै होला।
व्यक्तिको जीवनमा यस्तो भइरहन्छ। आज वैभव छ भोलि नहुन सक्छ। आजका करोड हुने भोलि 'रोड' (सडक)मा आएका छन्। त्यो पनि स्वाभाविक हो। र, कसैले दुःख पाउँदा खुसीले तीन हात उफ्रिनु आवश्यक छैन। पारसको यो अवस्थाप्रति सर्वसाधारण नागरिक बाहेक किन सत्तामा भएका कसैलाई टिठ लाग्दैन? हिजो उनी राजपरिवारसँग सम्बन्धित थिए। उनले गल्ती गरे पनि होलान्।
यो अवस्थामा उनलाई ल्याइपुर्याउने अल्कोहलिजम र लागु पदार्थको नसा हो। पत्रकार बिजयकुमारले आफ्नो पुस्तक 'खुसी'मा उनको उपचारका निम्ति ज्ञानेन्द्रलाई जानकारी गराएको प्रसंग उल्लेख गरेका छन्। उनले उपचार निम्ति दिएको सुझावमा पिताबाट कुनै प्रतिक्रिया व्यक्त नभएको बिजयले देखेका छन्।
यसो भन्दैमा उनलाई त्यतिकै छाडिदिनुपर्छ भन्ने होइन। लागूपदार्थको दुर्व्यसनीलाई हेला होइन स्नेह र उपचारको आवश्यकता हुन्छ। कुनै ठूलो घरको छोरो चाहिँ बिग्रिएरै जाओस् भन्ने सोच राख्न पनि सकिन्न। एउटा मानव जीवनको यो दुर्गति भइरहेको छ। त्यसमा पनि हाम्रो मुलुकको एउटा कालखण्डमा शासन गरेको परिवारको सन्तानको यो अवस्थाप्रति वेवास्ता गर्न सकिन्छ भन्ने लाग्दैन। मान्छेलाई सधैँ वर्गका आधारमा मात्र हेर्न सकिन्न। मानवता सबैभन्दा ठूलो पक्ष हो।
पारसको यो अवस्था देखेर आज पूर्वराजा वा त्यो परिवारलाई गाली गरेको पनि देखियो। यस्ता बिरामी सन्तान भएका सबैको यो कथा हो। कसैलाई पनि सन्तान यस्तो बनाऔं भन्ने लाग्दैन। पारस आफैंले पनि अरूबेला ठीक हुने तर मदिरा वा लागूऔषधको प्रभावमा परेपछि आफूलाई के हुन्छ के थाहा नहुने अवस्थामा रहेको स्वीकार गरिसकेका छन्। तिनलाई उपचार गर्न नसकिने होइन। र, अझै पनि पारस सामान्य नागरिकसरह जीवन यापन गर्न सक्ने अवस्थामा फर्कन सक्छन्। त्यसका निम्ति कोसिस हुनुपर्छ।
यो बेला पारसलाई एक नागरिक सरहको अवसर दिनुपर्छ। अचेल विदेशी मुलुकमा काममा जाने सर्वसाधारण नेपाली कुनै घटना विशेषमा परेर हत्याको आरोपमा थुनामा पर्छन्। कैयन पटक तिनको जीवन रक्षाका निम्ति भनेर नेपालीहरूले 'ब्लड मनी' जम्मा गरेर पनि पठाएका छन्। सरकारले पनि तिनलाई सहयोग पुर्याएको छ। पारसलाई नागरिकका रूपमा जोगाउनु हाम्रो कर्तव्य हो।
प्रत्येक नागरिक राष्ट्रको इज्जत हो। अमेरिका किन संसारभरि प्रभावशाली छ भने उसले आफ्ना नागरिकको ख्याल गर्छ। इबोला भाइरसले विश्वका विभिन्न मुलुकमा सयौं मानिस मर्दा पनि ध्यानाकर्षण भएको थिएन। तर, अमेरिकामा पहिलो मृत्यु हुनासाथ त्यसको चर्चा संसारभर भएको छ। अमेरिकाकामा कुनै पनि नागरिक कम महत्वको मानिन्नन्।
पारसको यो अवस्थाका निम्ति सरकार, नागरिक समाज र सर्वसाधारण सबैको ध्यान जानुपर्ने देखिन्छ। उनी ती गतिविधिमा संलग्न भएकै हुन् वा कुनै परिवन्दमा परिरहेका छन्? उनको अवस्थाबारे राज्यले बुझ्नु पर्दैन? सामान्य नागरिकले पनि राज्यको यो वास्ता गराइबाट वञ्चित हुनु पर्ने अवस्था आउनु हुँदैन। हामीले राजतन्त्र हटाएका भए पनि यो परिवारसँग जोडिएको मुद्दाका कारण संसारभर हाम्रोबारेमा चर्चा हुन्छ। त्यसैले पनि मुलुकको बद्नामी र एउटा नागरिकको जीवन रक्षाका निम्ति पनि ध्यान जानु पर्छ।
सरकारले केही गर्दैन भने व्यक्ति व्यक्तिले पनि पारसको जीवन जोगाउनका निम्ति पहल गर्नु आवश्यक छ। हाम्रो मुलुकमा ठूल्ठूला आन्दोलन भएका छन्। तर, यहाँ कसैले कसैलाई जितेको होइन। झन् त्यसमा पनि २००७ देखि यताका प्रत्येक परिवर्तनमा नयाँ आउने शासक वर्गसँगै पुराना पनि यही रहेका छन्। त्यसमा पनि हामीले अँगालेको व्यवस्था प्रजातन्त्र हो। प्रजातन्त्र त्यही हो जहाँ व्यक्तिको अधिकार सर्वोपरि हुन्छ र प्रत्येक नागरिकप्रति राज्यको ध्यान जान्छ।
व्यक्तिगत रीसइवीमा हत्या गरेर त राजनीतिक संरक्षण पाइरहेको यो मुलुकमा एउटा सामान्य नागरिक गल्तीले यो अवस्थामा पुग्दा सहयोग गर्नु हुँदैन?
कसैले पनि पारसलाई गाली गर्नु आवश्यक छैन। एउटा विरामी, कुनै दुर्व्यसनमा परेको व्यक्ति गाली वा घृणाका पात्र होइन बरु उसलाई उपचार गराउन एउटा सभ्य समाजले ध्यान पुग्नु पर्छ। कसैलाई उनको मानवीय हितमा बोल्दा दरबारियाको आरोप खेप्नुपर्छ भन्ने डर मान्नु पर्दैन। उनीहरूले अहिले यो भनेबापत केही दिँदैनन्। र, केही पाउनका निम्ति यसो भन्ने पनि होइन। एउटा मानव सम्झेर तिनको उपचार, स्वदेश फिर्ती र सामान्य जीवनमा फर्काउन कोसिस गर्नु पर्छ।- यो पनि हेर्नुहोस्-पारस शाहले ह्विलचियर दिएपछि म ढाडमा बोकिनु परेन
मैले काठमाडौंका सडकमा पशुपंक्षीका निम्ति क्रियाशील व्यक्ति देखेको छु। तिनको त्यो कर्म देखेर असाध्यै श्रद्धा हुन्छ। मान्छेलाई हेर्ने कोही छैन पशुपंछीका निम्ति यत्रो ध्यान भन्दै तिनको आलोचना पनि सुनिन्छ। तर, हामी मान्छेहरूमा पशुपंछी, रूखविरूवा, वातावरण, हाम्रो समाज र देशप्रतिको संवेदनशीलता अनिवार्य हुन्छ। मानव जीवनको सदस्यका रूपमा पनि पारसप्रति संवेदनशीलतालाई हेर्नुपर्छ। हामीले आपसमै चुक्चुकाएर र कठै भनेर मात्र पनि पुग्दैन। यसका निम्ति तत्काल पहल चाहिन्छ।
मैले पारसलाई कान्तिपुर टेलिभिजनको उद्घाटनका बेला नजिकबाट देखेको हुँ। अरू कतिपय कार्यक्रममा तिनलाई परैबाट देखियो। तिनीसँग कहिल्यै बोल्ने मौका पनि मिलेन। त्यसमा पनि माघ १९, २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले नेपाली सेनाको बलमा 'कु' गरी शासन सत्ता हातमा लिएपछि कहिल्यै त्यो परिवारलाई सकारात्मकरूपमा हेर्न सक्ने वातावरण बनेन। मुलुकबाट राजतन्त्र हटेपछि त्यो परिवारसँग हाम्रो कुनै दुश्मनी बाँकी रहिरहनु पर्छ भन्ने पनि लाग्दैन।
राजा ज्ञानेन्द्रको सक्रिय शासनकै बेला एक दिन गोकर्ण भिलेज रिसोर्टमा दिउँसो सानो छलफलमा पुगेका बेला रेस्टुराँबाट गल्फ कोर्समा पारस गोकार्टिङमा व्यस्त रहेका देखिए। हामीले लेखेका समाचार र विचारबाट दरबार असन्तुष्ट भएको त्यो बेला पारससँग जम्काभेट भइहाल्यो भने जाती नहोला भनेर हामी त्यहाँबाट तुरुन्तै फर्केको घटना फेरि दिमागमा ताजा भयो।
टेलिफोन, इमेल, इन्टररनेटसमेत काटेर देशलाई ठूलो जेल बनाएको एउटा त्रासदीको समयमा हामी बाँचेकै हौं। तर, एउटा सभ्य समाजले अर्को नागरिकप्रति दुर्भावना राखिराख्न मिल्दैन। शासन लिने वित्तिकै कारवाही चलाएको पनि होइन। राज्यले बस्ने ठाउँ दिएर राखेको परिवारका सामान्य पनि होइन।
पारस शाहज्यादा हुँदादेखि गायक प्रवीण गुरूङको हत्यालगायतका विषयले उनीप्रति हाम्रो जनमानस कहिल्यै सकारात्मक भएन। तर, उनलाई नजिकमा भेट्नेहरूले राम्रो बोली बचन भएका व्यक्तिका रूपमा चित्रण गर्ने गरेका छन्। त्यो टापुजस्तो राजदरबार हामीले देख्दादेख्दै डुब्यो। एक दिन ज्ञानेन्द्रले संसदको निर्णय अनुरूप राजपाठ छाडेर हिडे। सर्वसाधारणका मनमा उनीप्रति सहानुभूति बढ्यो। उनले दरबार छाडेर हिडेको त्यो क्षण परम प्रतापी राजामहाराजाहरूले आफ्नो गद्दी छाडेर हिडेको जस्तो अवस्था थियो। तर यिनी प्रतापीपनले छोड्न वाध्य थिएनन्।
हिजोका घटनासँग जोडेर आज पारसलाई हेर्न मिल्दैन। सामन्ती राजाका सन्तान हुन् भनेर पनि वेवास्ता गर्न सकिन्न। उहिले राणा प्रधानमन्त्री र दरबारले आफ्ना आसेपासे र अनुचरहरूलाई बक्सिस बाँडेजस्तो अहिलेका हाम्रा 'क्रान्तिकारी', 'प्रजातन्त्रवादी' र 'जनताका नेता'हरूले दशैं खर्चसमेत बाँड्ने गरेका छन्। त्यति मात्र होइन नेताको उपचारका निम्ति करोड करोडको बिल राज्यले तिरेको छ।
यस्तो अवस्थामा एउटा पारस नामको हाम्रो नागरिकका निम्ति केही उपचार खर्च, तिनलाई मुलुकमा फिर्ता ल्याउने व्यवस्था यो सरकारले गर्नु पर्छ। हो, यहीबाट हाम्रा घरघरका पारस, हाम्रा घरघरका राजाहरूको उपचार र पुनर्स्थापनाका निम्ति पनि राज्यको कार्यक्रम बन्नु पर्छ।
पारसका कारण लागूऔषध दुर्व्यसनको दुःखदायी अवस्था सार्वजनिक भएको छ। प्रत्येक परिवारले एक्लै रोएर यो स्थितिबाट निस्किन खोजेको हुन्छ। यस्तो अवस्थामा जस्तै शक्तिशाली र धनी भनिएका व्यक्ति पनि निरिह हुन्छन्, जसरी आज पूर्वराजा छन्। उनी पारसप्रति स्नेह नभएर अन्यमनस्क भावले बसेका होलान् र?
धेरै व्यक्तिले पारसप्रति दयाभाव देखिएको छ। तस्विर सार्वजनिक भएयता सयौं मानिसले टेलिफोन वा भेटमा पारसकै कुरा गरेको मैले सुनेँ। बौद्धका एउटा राम्रो चल्ने क्याफेका साहुजीले आफ्नो मोबाइलमा पारसको फोटो देखाउँदै भने, 'बिरामी मानिसलाई हेला होइन उपचारको खाँचो छ।'
ती साहुजीको भावनाले म गदगद भएँ। हामीबीच एउटै भावना तरंगित भइरहेको थियो। हाम्रो समाजमा एकथरीलाई राक्षस देखाएर अर्कोथरीले आफूलाई महामानव ठानेर शासन गर्ने चलन छ। नागरिकको तहमा भने संवेदनशीलता अझै मरेको छैन।
पारसप्रतिको ती पत्रकार वा साहुजीको त्यो भावना नागकिप्रतिको नागरिक भावना हो। सायद यी साहुजी पनि ती पत्रकारजस्तै रातभरि सुतेनन् र पारस हालतप्रति दुःखी भइरहे ।