संस्कृतमा एउटा कहावत छ- 'विनाश काले विपरीत बुद्धि।' मैले यो पूर्वयुवराज पारसका लागि भनेको होइन, आज पारसको तस्बिर हेरेर हाँस्ने र नानाथरिको चर्चापरिचर्चा गर्नेहरुको मानसिक दरिद्रता हेरेर भनेको हुँ। मेरो लागुऔषध दुरुपयोग नियन्त्रण र रोकथाममा लागेको २४ वर्षको अनुभवमा आज पूर्वयुवराज पारसको दुर्भाग्य र दयनीय अवस्थामा रमाएका र खुशी भएका नेपालीको उद्गार र प्रतिक्रिया देख्दा मलाई आश्चर्य लागेको छ।
सबैभन्दा पहिलो कुरा लागुऔषध दुर्व्यसन र अल्कोहलिक्सलाई एउटा खराब बानीभन्दा पनि निको पार्न सकिने रोगको रुपमा लिन थालिएको एक दशकभन्दा बढी भइसक्यो। १९९० देखि नेपालको लागुऔषधमा मेरो अनुभवले के देखाउँछ भने आज जोजो मानिस लागुऔषध काण्डमा पारसको हातमा लागेको हत्कडी देख्दा आत्मरतिमा रमाइरहेका छन् र उनीहरु आफू र आफ्नो परिवार र छोराछोरीहरुलाई पनि कहिल्यै त्यस्तो दुख पर्नै सक्दैन भन्ने दिवास्वप्नमा रमाइरहेका छन्। उनीहरुले यसबेला सद्भावना, सान्त्वना र सतर्कता देखाउनुपर्नेमा झन उल्टो प्रतिक्रिया देख्दा म निराश र दुखी भएको छु।
मैले जीवनमा नेपालको मात्र होइन, विश्वकै मै हुँ भन्ने सम्पन्नभन्दा सम्पन्न परिवारका युवायुवती यस दुश्चक्रमा परेको देखेको छु। परपीडकले कुनै विदेशी भुमिमा असहाय र दयनीय अवस्थामा हत्कडीमा बसेको नेपालीको छोरालाई देख्दा खुच्चिङ भनेर भन्ने नेपालीले आफ्नो निच मानसिकताको उदाहरण दिनुभन्दा अरु केही गरेको छैन।
यो पनि हेर्नुहोस्
अमेरिका र जर्मनीजस्तो विकसित देशमा आफ्नो देशको युवा विदेशमा कुनै गल्ती र अपराधमा पर्यो भने त्यस देशको सरकारले नै ड्यामेज कन्ट्रोल गर्न तुरुन्त आवश्यक कदम चाल्छ। नेपाल सरकारले के गर्यो? यसमा पारस शाहको नभई विश्वमा बस्ने सबै नेपालीको नाम र इज्जत मुछिएको छ। त्यो कुरा सरोकारवाला निकायले किन बुझ्न नसकेको। यस सम्बन्धमा नेपाल सरकार र नेपालको थाइल्याण्ड दूतावासले त्यसै हेरेर बस्न मिल्छ?
यसबाहेक नेपालमा आज अति सफल भएका आफू र आफ्नो सन्तान सबै अति सज्जन र स्वर्गैबाट झरेको हुन् भनी ठान्नेहरुले पनि स्वदेशमै रहेका आफ्ना सन्तानलाई हेरेर गुणेर जाँचेर हेर्नुहोस्, भोलि तपाईँको घरमा पनि त्यस्तै दृष्य दोहोरिन सक्छ। आजै पनि नेपालमा पारसभन्दा गएगुज्रेको अवस्थामा कति नेपाली केटाकेटीहरु छन्, तर ती नेपालभित्रै भएकाले नेपालीले तीनिहरुलाई जे जस्तो भए पनि माया, दया र स्नेहले राखेको हुनाले कसैले यो कुरा देख्न सकेका छैनन्। पारस शाहको परिवारले पारस शाहलाई पहिल्यै नेपाल आउन नदिनु वा पारस शाह नेपाल नफर्कनु उनकै ठूलो भुल हो। नेपालभित्रै भएका कैयौं पारसहरु आज चर्चामा छैनन् किनकि तिनीहरुमाथि कसैले चिन्ता गरेको छैन् किनकि ती हाम्रै देशमा र हाम्रै घरमा छन्। आमा बाबु र नेपालीको न्यानो मायामा सुरक्षित छन्।
जहाँसम्म बाबुको प्रश्न छ, पारसको असफलता र असहायपनलाई आँखा चिम्लिर नदेखेजस्तो गर्नु सबैभन्दा ठूलो भूल हुन सक्छ। यसमा कुनै पनि बहानामा पारसलाई बिदेशमा बसिरहन दिनु र पटके अपराधी बन्न दिनुमा बाबुआमा जोसुकै र जेसुकै भए पनि यसमा परिवारले ठूलो भूमिका खेल्न सक्छ। बिदेशमा रहेको आफ्नो सन्तानले सफलता पाएको अवस्थामा ऊ बिश्वको कुनै पनि कुनामा बसेको भए पनि कुनै चिन्ता गर्नुपर्ने जरुरत देखिँदैन। तर जब आफ्नो सन्तान बिमार छ, उसको गल्तीले होस्, अरुको गल्तीले उसलाई गाँजेको छ भने ऊ अपराधी, कुलंगार, बदमास जे सुकै भए पनि आफ्नो देशको इज्जत र आफ्नो परिवारको भविष्यको लागि परिवारले केही न केही गर्नैपर्छ। अखिर सन्तान भनेको सन्तान नै हो। यस्तो अवस्थामा असहाय र तमासे भएर बस्ने गरे यसले परिवार र आफन्तलाई समेत जिन्दगीभर पश्चातापको आगोमा सेकिनुपर्ने अवस्था आउनसक्छ। तर यस्तो कुराको जब चेतना खुल्छ, त्यसबेलामा ढिलो भैसकेको हुन पनि सक्छ।
यो पनि हेर्नुहोस्
जहाँसम्म देशको प्रश्न छ, भाग्यले होस् या जन्मले, एकपल्ट नेपालको उच्च स्थानमा पुगिसकेको जोसुकै होस्, त्यस्तो एक नेपालीको बदनाम हुँदा सम्पूर्ण नेपालीको नै बदनाम हुन्छ भनेर नदेख्नु नेपाली समाजको गलत सोचाइ र नयाँ सत्ता र पुरानो सत्ता भन्ने राजनीति प्रेरित दूषित धारणा र विचार गर्ने संस्कृतिलाई जान्छ। अप्ठेरो र संकटमा परेको कुनै पनि नेपालीलाई नयाँ सत्ता र पुरानो सत्ताको भनेर परपीडकको व्यवहार गर्नु बनेको रोगी र व्देषनिहित मानसिकताको उपजमात्र हो। आज कुन नेपाली हिजोको सत्ताको हो र कुन आजको। हिजो पारसले ज्ञानेन्द्रको छोरा भएर सहुलियतहरुको उपयोग र दुरुपयोग गरे होलान् (जुन आज प्रचण्डको छोराले र गिरिजाको छोरी र नातिनीज्वाइँले गरेका छन्)। यस्ता नेपालीले आफूलाई र आफ्नो परिवारलाई नपर्दा जे भने पनि जे गरे पनि ठिकै होला। तर आफ्नो परिवारको छोरानाति र नातासम्बन्धीलाई पनि त्यस्तो नपर्ला भनेर भन्न सकिन्न। यदि परिहाल्यो बने के गति हुन्छ भन्ने पनि मेले धेरैको परिवारमा भएको घटना र त्यसले पारेको अवस्था पनि रामैसँग देखेको छु।
लागुऔषध दुर्व्यसन एउटा रोग हो। आज नेपालमा एक लाखभन्दा बढी दुर्व्यशनी छन् भन्ने कतिपय अध्ययन र तथ्याङ्कले नै पुष्टि गरिसकेको छ। रक्सीबाज र अल्कोहोलिक भएका वयस्क र ज्येष्ठ नागरिकहरुको त कुरै नगरौं।
नेपालका लागुऔषध पुनर्स्थापना केन्द्रका र नेपालका पहिला लागुऔषध व्यशनीलाई सुधार गर्छु भनेर १९७६ मा मुक्तिकेन्द्र (फ्रिडम सेन्टर) पुनर्स्थापना केन्द्रका संस्थापक फादर ग्याफनेले कुनै पनि युवा लागुऔषधको कुलतमा फस्छ भने त्यसको मुख्य दायित्व अभिभावक र समाजमा जान्छ भन्नु हुन्थ्यो। यस बिषयमा नेपाली समाज आजसम्म पनि पानिमाथिको ओभानो भएर बसेको छ। अरुको छोरा कुलत र अफ्ठेरोमा पर्यो भने खाइस् र खुच्चिङ भन्ने आफ्नो सन्तानलाई पर्यो भने संसारलाई दोष लगाउने हाम्रो चलन र परम्परा छ। आज पारस शाहजस्ता दुखकष्ट र मानसिक यातनामा परेका र विपत्ति आइलाग्दा सद्भाव र दया देखाउनुको सट्टा नेपालमै ल्याएर सुधार गर्नुपर्छ भन्नुको सट्टा खुच्चिङ, खाइस्, मरोस् भन्ने चाहना राख्नु कहाँसम्म जायज हो।
यस सन्दर्भमा मलाई लाग्छ, हामी नेपालीले ठूलो गल्ती गर्दैछौं। यसमा सार्वभौम र स्वतन्त्र देश भन्नेहरुले पनि आफ्नो देशको नागरिकलाई विश्वसामु बेइज्जत गर्दा त्यसमा आगोमा घिउ थपेझैं गर्नु अझ ठूलो गल्ती हुँदैछ।
राजा होस् वा रंक, हिजोको युवराज हुन् वा आजको साधारण नागरिक, के जापान, साउदी र अरबमा कसुर वा बेकसुरमा परेका नेपालीहरुको उद्धारको लागि नेपाली एकजुट भएर उद्धारमा लागेका हैनन्? लागुऔषध दुर्व्यशनमा परेकालाई नेपालमै ल्याएर वा अन्य तेस्रो मुलुकमा लगेर उपचार गराउनुपर्छ भन्ने आवाज आउनुको सट्टा झन् ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भनेजस्तो गर्नु कहाँसम्म न्यायसंगत होला?
नेपाल र विश्वका अन्य देशमा यस्ता असंख्य संस्थाहरु छन् जसले पारसभन्दा कति गएगुज्रेका मानिसलाई समेत सुधारेर फेरि स्वस्थ नागरिकको रुपमा परिणत र पुनर्स्थापित गर्न सफल भएका छन्। उनलाई किन बन्चित गर्ने? पारस आज युवराज पारस होइनन्। उनी एउटा साधारण नेपाली नागरिक हुन् जो नेपालसहित विश्वका कुलतमा फसेका दशौं लाख दुर्व्यशनीमध्ये एक हुन सक्छन्। उनी दुर्व्यशनको कुचक्रमा फसेका पहिला पनि होइनन् र अन्तिम पनि हुँदैनन् होला। उनलाई सबैले तिरस्कार गर्दैमा नेपालको नाकमाथि हुने पनि होइन।
आज पारसलाई तलमाथि भयो भने राजतन्त्रमा आस्था राख्नेबाहेक अरु सबै नेपालीहरुले सिंदुरेजात्रा गर्ने? उनी आज युवराज कम तर विदेशमा बिनापरिवार तिरस्कार भएर, आफ्नो परिवार र छोराछोरीबाट बन्चित दुखित र तड्पिरहेका एक नेपाली युवा हुन् भनेर सबैले बुझ्नु जरुरी छ। यसरी कुनै पनि नेपालीले दुख पाएको बेला अर्को नेपालीले सहयोगको हात बढाउनुको सट्टा त्यहीं सडेर मरोस् भन्ने चाहना राख्नु कहाँसम्म जायज हो? यदि पारस मरे भने उनको निर्दोष परिवार सन्तानबिहीन हुन जान्छन्, उनको श्रीमती विधवा हुन्छन्, उनका नाबालक छोरीछोरा टुहुरा हुन जान्छन्; यो कुरा पारससँग रिस राख्नेले पनि बुझ्न जरुरी छ। पारसको परिवारले पारसको गल्तीको सजाय भोग्नु भनेको पनि जायज होइन जुन प्रत्येक दुर्व्यशनीको परिवार र आफन्तले भोगेका र भोग्दै आएका पनि छन्।