वैशाख १२ को महा-भूकम्प र त्यसपछिका परकम्पहरुले नेपालमा भूगर्भप्रतिको जिज्ञासा ब्यापक भएको छ। साथै धेरै नेपालीले भूकम्पको पूर्वानुमान सहजै गरिरहेका छन्। ताकि भूकम्पको पूर्वानुमान पनि रत्नपार्क छेउमा सुगा लिएर भबिष्यबाणी गर्ने भबिष्यबेत्ता जस्तै भएको छ। र आम मानिसको अपेक्षा पनि भूगर्वशास्त्रीहरूले यसबारे जानकारी देओस भने अपेक्षा गरेका हुन्छन्।
आम मानिसको यो अपेक्षा सरह धेरै पत्रकारहरूले समेत यस्तै अपेक्षा राखेको देखियो। भू-अनुसन्धान लगाएत विज्ञान प्रविधिमा ब्यापक लगानी गरेका मुलुक जापान र अमेरिकाले समेत गर्न नसकेको भविष्यवाणी नेपाल जस्तो हेपिएको र विना लगानीको वैज्ञानिक क्षेत्रबाट अपेक्षा गरिनु कुनै पनि हालतमा सहि होइन। हामीले बुझ्नु पर्ने कुरा के हो भने ठूलो क्षति भूकम्पले भन्दा पनि हामीले बनाएका कमजोर संरचनाहरू भत्केर हुने हो। भूकम्प रोक्न सकिँदैन तर राम्रोसँग पूर्वतयारी गरे क्षति न्युन गर्न सकिन्छ।
कति ठूलो थियो मुख्य कम्पन?
नेपालमा वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका परकम्पको शक्ति तुलना आणबिक बिष्फोट बाट उत्पन्न हुने उर्जासँग गर्दा अनुमान गर्न सजिलो हुन्छ। वैशाख १२ को मुख्यकम्प र त्यसपछिका परकम्पको शक्ती ६ अगष्ट १९४५ मा जापानको हिरोसिमामा खसालिएको आणविक बम ‘सानो केटो’ (Little boy) को शक्ती (१५ किलोटन टि.एन.टी. बराबर)सँग तुलनात्मक रूपमा यसरी गरिएको छ।
वैशाख १२, २०७२ र त्यसपछिका परकम्पबाट उत्सर्जित उर्जा र हिरोसिमा आणविक बमको शक्तिको तुलना |
---|
मिति | समय | स्थानिय म्याग्निच्युड (ML) | ईपिसेन्टर | उत्सर्जित उर्जा % | किलो टन टि.एन.टी | गुणा हिरोषिमा बम |
वैशाख १२, २०७२ 4/25/2015 | ११:५६ | ७.६ | गोरखा | ८२.२० | ३७८७.९९ | २५२.५३ |
वैशाख १३, २०७२ 4/26/2015 | १२:५४ | ६.९ | सिन्धुपाल्चोक/दोलखा | ७.३३ | ३३७.६० | २२.५१ |
वैशाख २९, २०७२ 5/12/2015 | १२:५० | ६.८ | दोलखा/सिन्धुपाल्चोक | ५.१९ | २३९.०१ | १५.९३ |
वैशाख १२, २०७२ 4/25/2015 | १२:३० | ६.६ | गोरखा | २.६० | ११९.७९ | ७.९९ |
वैशाख २९, २०७२ 5/12/2015 | १३:२१ | ६.२ | दोलखा | ०.६५ | ३०.०९ | २.०१ |
साउन ११, २०७२ गते सम्मको बाँकि सबै परकम्पको जोड | बिभिन्न स्थान | २.०३ | ९३.६१ | ६.२४ |
(यो गणनामा ४ रेक्टरस्केलभन्दा माथिका कम्पनमात्र समावेस गरिएको छ र उत्सर्जित उर्जामा परिणत गर्न रेक्टर गुटनवर्ग फर्मुला प्रयोग गरिएको छ)
वैशाख १२ गतेदेखि साउन ११ (जुलाई २६) सम्मको भूकम्प र परकम्पमा उत्सर्जन भएको जम्मा उर्जा जापानको हिरोसिमामा पड्काईएको ३०७ आणविक बमको शक्ति बराबर देखियो। एउटा हेक्का राख्नुपर्ने कुरा हिरोसिमामा भएको ठूलो क्षति बमबाट उत्सर्जित उर्जाबाट भन्दा पनि आणविक विकिरणले गरेको थियो।
वैशाख १२ को ७.६ म्याग्निच्युडको एउटै मुख्य कम्पन २५२ हिरोसिमा बमको शक्ती बराबर थियो, जुन सम्पूर्ण उत्सर्जित उर्जाको ८२ प्रतिशत हुन आउँछ। त्यस पछिको ६.९, ६.८ र ६.६ म्याग्निच्युडको परकम्पले क्रमस ७.३३, ५.१९ र २.६ प्रतिशत उर्जा उत्सर्जन गरेको रहेछ। त्यसभन्दा साना सबै परकम्पहरुले जम्मा २.६८ प्रतिशत उर्जा उत्सर्जन गरेको देखियो।
ठूलो भुकम्प कति शक्तिको थियो भन्ने यसबाट अनुमान लगाउन सकिन्छ। यदि दशमलब एक वा दुई मात्र बढी भएको भए पनि यसबाट उत्सर्जित उर्जामा धेरै फरक पर्न गएर क्षति धेरै गुणा हुन जाने थियो। उदाहरणको लागि यदि यो म्याग्निच्युड ७.७ मात्र भएको भए त्यो कम्पनबाट उत्सर्जन हुने उर्जा लगभग ३५७ वटा हिरोसिमाको आणबिक बम बराबर हुने थियो, अर्थात (०.१) दशमलब एक म्याग्नुच्युडको फरकले १०४ वटा बम बढीको उर्जामा फरक पर्न जाने थियो। जति ठूलो म्याग्निच्युडको भूकम्प भयो दशमलब एक मात्रको फरकमा पनि धेरै मात्रमा फरक पर्न जाने यसबाट प्रष्ट हुन्छ। सानो कम्पनहरूमा यो फरक पनि कम हुन्छ। ४ म्याग्निच्युडभन्दा साना कम्पनहरुले उत्सर्जन गर्ने उर्जा धेरै थोरै हुन्छ। माथिको तालिकाबाट मुख्य कम्पन र त्यसपछि आएका परकम्पहरू कति शक्तिशाली थिए भन्ने बुझ्न सकिन्छ। वैशाख २९ गतेको परकम्पको शक्ति मुख्य कम्पको ६.५ प्रतिशतमात्र थियो। तर हामीले भूकम्पको ईन्टेन्सिटी (जुन मर्काली स्केलमा नापिन्छ र यस्ले क्षतिको गणना गर्छ) पत्ता लगाउने र जमिन कहाँ कति हल्लिएको थियो भन्ने भन्दा कति म्याग्निच्युडको थियो भन्ने कुरामा विवाद गरिरह्यौ।
अनुसन्धानका तह
अनुसन्धनको पहिलो तह कोरा डाटा जम्मा पार्नुबाट सुरू हुन्छ। भुकम्प सम्बन्धी डाटाको लागि नेपालमा पहिलो साईस्मोलोजिकल स्टेशन फुल्चोकी डाँडामा वि.स. २०३५ मा स्थापना गरिएको थियो। १९९० को महाभूकम्प पछि पनि नेपालका शासकहरुलाई साईस्मिक स्टेशनको आवश्यकता अनुभूति भएन। यसो हुनुको पछाडि धेरै लामो समयको अन्तरालमा मात्र महाभूकम्पहरू गएको कारणबाट शासक बर्गले महत्व नदिएको हुन सक्छ, जुन अहिलेका शासकहरूबाट पनि दिईएको छैन। नत्र साईस्मिक स्टेशन स्थापना हुन महाभूकम्प गएको ४५ वर्ष कुर्नुपर्ने थिएन। नेपालको भूकम्पमापन केन्द्र स्थापना, अनुसन्धान र त्यस पछिका थप स्टेशनहरु स्थापना गर्न भुवैज्ञानिक स्व. माधवराज पाण्डेको ठूलो योगदान छ।
दोस्रो तहमा संकलित डाटाहरुको विश्लेशण गर्नू हुन्छ। भूकम्पहरुको हकमा यो बिश्लेशणबाट कहाँ र कत्रो भूकम्प गयो भन्ने तत्थ्य आउँछ। अझ गहन अनुसन्धानमा लामो समयको भूकम्पको तथ्याङ्क, जमिनको सर्ने दरको अध्यन र धाँजाहरूमा ट्रेन्च खनेर ऐतिहासिक भूकम्पहरुको अनुसन्धान कुन क्षेत्रको जमिन छिरिरहेको छ र कहाँ अड्केको छ पत्ता लाग्छ। यसमा अन्य भौगर्भीक अध्ययनहरुका नतिजाले पनि परिकल्पना गर्न सहज बनाँछ। जहाँ धेरै वर्षसम्म अड्केको छ त्यहाँ शक्ति सञ्चय भइरहने हुँदा त्यो उत्सर्जित हुँदा भूकम्प जान्छ, तर बिस्तारै जमिन सरिरहेको (जस्लाई क्रिपिङ भनिन्छ) छ भने भूकम्प आउने सम्भावना हुँदैन। भौगर्भिक सर्भे अमेरिकाले धेरै वर्षसम्मको संसार भरको भूकम्पको तथ्याङ्क जम्मा गरेको छ।
यस्तै तथ्याङ्कबाट बनाईएको मोडलबाट परकम्पको सम्भावनाको अनुमान गरिएको थियो, जुन पूर्वानुमान थिएन र अरूनै ठाउँको भूकम्पको तथ्याङ्कको आधारमा गरिएको सम्भावनाको अनुमान नेपालको सन्दर्भमा गर्नु सही थिएन। नेपाल जस्तो वैज्ञानिक चेतना कम भएको समाजमा यसले ठूलो भ्रम सृजना गर्न सहयोग पुर्यायो। भुगर्भको सन्दर्भमा अन्य भौगर्भिक वबस्थितिमा विकास गरिएको मोडल सोझै नेपालमा प्रयोग गर्नु र त्यसको आधारमा निष्कर्ष निकाल्नु कदापि सही होइन।
यसरी गरिने अनुसन्धान तथा निकालिने निष्कर्षमा बैज्ञानिकको मतैक्यता नहुन पनि सक्छ। कम र छोटो समयको डाटा भएको कारण नेपालको सन्दर्भमा विभिन्न भूवैज्ञानिकहरुको फरक-फरक धारणा आउनु स्वभाविक हो। भूगर्भको सन्दर्भ एउटा चुट्किला नै ‘दुई जना भुगर्भविदहरू बसे भने ३ वटा फरक फरक निष्कर्ष निकाल्छन्’।
हिमालय क्षेत्रका हिमाल पहाड र उपत्यकाको निर्माण
.png)
हिमालय क्षेत्रका पहाडको निर्माण नै भारतीय प्लेट युरेसियन प्लेटसँग ठोक्किएर भित्र छिर्न थालेको कारण भएको हो। यो धसिने क्रममा हिमालहरू उचालिएका हुन्। अर्थात यो उचालिने प्रकृया कहिले बिस्तारै त कहिले ठूला भूकम्पसहित ह्वात्तै उचालिएका हुन्। काठमाडौं उपत्यका भौगर्भिक रूपमा काठमाडौं नाप्प( Nappe) को रूपमा उत्तरबाट सरेर आएको चट्टानमा अवस्थित छ। चन्द्रागिरी र फुल्चोकी पहाडमा भएका टेथिस सागरको पिँधमा बनेका चट्टान लगभग लाङटाङ हिमालको चुचुरोमा पनि पाईन्छ, (किजाकी, १९९४)।
यसरि उत्तरबाट सर्ने क्रममा विगतमा भएको खोला नालालाई दक्षिणमा उचालिएको महाभारत पहाडले छेकेर लगभग ५० लाख वर्ष अगाडि ताल बनेको थियो। त्यो तालमा जमेका थिग्रेनिबाट बनेको लुकुण्डोल फर्मेशनमा हात्ती (ईलेफास प्लानिफ्रोन्स र स्टेगोडोन गणेशा) तथा हिप्पोपोटाम (हेग्जाप्रोटोडोन सिभालन्सिस)का जिवावशेष पाईएको छ। त्यसबेलाका जिवावशेष परागकणले त्यसबेलाको हावापानी न्यानो र ओसिलो भएको देखाउँछ। त्यस बेला (४०- ५० लाख वर्ष अगाडि) काठमाडौं उपत्यका सिवालिक वा चुरेकै उचाईको हाराहारीमा थियो। काठमाडौं उपत्यका र महाभारत श्रृंखलाको उचाई लगभग २० लाख वर्ष अगाडिबाट ह्वात्तै बढ्न गएको देखिन्छ, अर्थात यो उचाई बढ्ने क्रममा धेरै पटक भूकम्प गए कै थियो र गईनै रहने छ।
काठमाडौं उपत्यका मुनि किन गइरहेको छ परकम्प?
माथि नै भनियो, काठमाडौं उपत्यकाका चट्टान ठूलो तह उत्तरबाट सरेर आएको हो। लगभग कन्भेएर बेल्टमा बसे सहर काठमाडौं उपत्यका दक्षिण सरेर उचालिएको छ। यसरी सर्ने सतह मेन सेन्ट्रल थ्रस्ट (एम.सि.टी.) काठमाडौं मुनिबाट दक्षिणसम्म अवस्थित छ। अहिले गईरहेको काठमाडौं केन्द्रीत परकम्प0 त्यही सतह चलयामान भएर माथिल्लो तहका चट्टानहरु दक्षिण सर्दा भएको हो। ठ्याक्कै मुनिबाट आएको परकम्प भएको हुँदा हामीलाई यसको झन्झनाहट धेरै अनुभव भएको हो।
विक्रम संवत १८९० को महाभूकम्प?
धेरै भूवैज्ञानिक वैशाख १२ को महाभूकम्पलाई विक्रम सम्वत १८९० को भूकम्पको पुनरावृत्ति मान्छन्। अर्थात १८२ वर्ष पूर्व चलाएमान भएर रोकिएको सतह फेरि चलायमान भएको हो। भारतीय प्लेट युरेशियन प्लेट मुनि धस्सिने दर २ सेन्टीमिटर प्रतिवर्ष मान्दा १८२ वर्षमा लगभग ३ मिटर ६० सेन्टिमिटर रोकिएर बसेको हुनुपर्छ। हालको भूकम्पले काठमाडौं उपत्यका लगभग ३ मिटर दक्षिण सरेको प्रारम्भिक डाटा छ। तसर्थ अब केही समयको परकम्पहरू गएर फेरि लामो समय अड्किएर फुस्कँदा मात्र ठूलो भूकम्प जाने देखिन्छ। प्लेट धस्सिने क्रममा २ मिटर अड्किन १०० वर्ष लाग्छ। तर कति बेला अड्किएको चट्टान फुट्छ भन्ने कुराको पूर्वानुमान गर्ने प्रबिधिको हालसम्म विकास भएको छैन।
पश्चिममा क्षति किन कम भयो?
गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको मुख्यकम्पले केन्द्रबिन्दु भन्दा १०० किलोमिटर पूर्व सिन्धुपाल्चोकसम्म ब्यापक क्षति गर्यो भने पश्चिममा ३६ किलोमिटर पश्चिम रहेको बेसिशहर र ७० किलोमिटर पश्चिम पोखरा जस्ता नजिकका क्षेत्रमा कम क्षति पुगेको छ। भारतीय प्लेट युरेसियन प्लेट मुनि धस्सिने क्रममा सबै क्षेत्रमा एकै पटक धस्सिन सम्भब छैन त्यसैले विभिन्न ब्लक ब्लकमा छुट्टिएर धसिएको छ। पूर्वी ब्लक धस्सिने क्रममा १९९० को भूकम्प आएको थियो। अहिले चलाएमान भएको ब्लक गोर्खादेखि सिन्धुपाल्चोकसम्म रहेको देखिन्छ। तसर्थ चलाएमान भएको ब्ल्का बस्तीमा बढी कम्पन भएको देखिन्छ। यसरी गोर्खा पश्चिम कतै साईस्मिक ब्यारिएर रहेको देखिन्छ, जुन थप अनुसन्धानको विषय हो।
स्थानीयका अनुसार चेपे खोला बारि र पारीमा भूकम्पको अनुभव कम बढी अनुभुति भएको जानकारी पाईएको छ। जसरी यताको भूकम्पले पश्चिममा कम क्षति गर्यो, पश्चिममा भविष्यमा जाने भूकम्पले पनि काठमाडौं लगाएत पूर्वी क्षेत्रमा कम क्षति पुग्ने सम्भावनाको बारेमा गहन अनुसन्धान हुनुपर्छ।