-महान् दार्शनिक सुकरातले भनेका छन्, जे भए पनि बिहे गर,असल श्रीमती पायौ भने तिमी सुखी हुनेछौ, खराब परे दार्शनिक।
-त्यसैगरी वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले भनेका छन्, विवाहको अवधारणा पक्कै पनि एउटा सोच्न नसक्ने सुँगुरले ल्याएको हुनुपर्छ।
-जन्म ,विवाह र मृत्यु स्वर्गमै तय भएको हुन्छ।
-बिहे यस्तो चीज हो कि गर्ने मान्छे पनि पछुताउँछ नगर्ने मान्छेपनि पछुताउँछ।
-बिहे भनेकोे सुनौलो पिजँडा हो जहाँ पस्न नपाएकाहरु कतिवेला ढोका खुल्ला र पसौंला भनेर कुर्छन भने पसेकाहरु कतिखेर खुल्ला र निस्कौला भनी उचित समयको पर्खाइमा हुन्छन्।
-बिहे गरेको भोलिपल्ट पुरुषले आफु ७ वर्ष थप बूढो भएको अनुभव गर्छ।
हाम्रो समाजमा विवाहसम्बन्धी यस्ता धेरै रोचक प्रसंगहरु सदैव चल्ने गर्छन् र अधिकांश धारणाहरु बढी पुरुषवादी दृष्टिकोण पनि लाग्छन्। आधुनिक नारीहरुको सवालमा भने यस्तो पनि भन्ने गरिन्छ कि नारीहरु हृदयको प्रयोग गरी प्रेम गर्छन् र दिमागको प्रयोग गरी विवाह गर्छन्। त्यसैले उनीहरुका प्रेमी र लोग्ने फरक फरक हुन्छन्। विवाहको जतिसुकै आलोचना गरिए पनि अपवादवाहेक यो हरेक समाजमा लामो कालदेखि चल्दै आएको परम्परा हो।
विवाहको उत्पत्ति यति नै बेला भयो भन्ने आधिकारिक तथ्यांक त कतै छैन तर यसको उद्विकासका सन्दर्भमा भने विभिन्न समाजशास्त्री तथा मानवशास्त्रीहरुले विविध धारणा राखेको पाइन्छ जसमा मानवशास्त्री लुइस मोर्गानका अनुसार शुरुमा विवाह नामको कुनै संस्था थिएन, महिला पुरुषले स्वतन्त्ररुपमा यौन सम्बन्ध राख्थे र समयसँगै स्वास्नीलाई ऋणमा दिने चलनको विकास भयो,त्यतिवेला सन्तान आमाका नामबाट चिनिन्थे र बाबुको विशेष स्थान पनि थिएन।
सामाजिक रुपमा विवाह एउटा यस्तो समारोह हो जसले कुनै एक स्त्री र पुरुषलाई नैतिकरुपमा सँगै बस्न, यौनसम्वन्ध स्थापित गर्न र वंश विकास गर्न वैधानिकता प्रदान गर्दछ। समाजको आधुनिकिकरण सँगसँगै लिभिंग टुगेदरको अवधारणा पूर्विय समाजमा पनि देखिन थालिसकेको छ जहाँ विधिवत विवाह नगरीकनै केटाकेटी आफ्नो स्वेच्छाले सँगै बस्दछन् र मन नलागे छुटिन्छन् जस्को कुनै कानुनी वैधता भने हुँदैन। यो प्रचलनले समाजको पुरातन मान्यतालाई ठाडै चुनौती दिएको पनि देखिन्छ।
नेपाली वृहत शव्दकोशले विवाह शव्दलाई स्त्री र पुरुषका बीचमा पति पत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कृत्य भनी परिभाषित गरेको छ। विवाह परापूर्वकालदेखि समाजमा चल्दै आएको परम्परा हो जसका अनेक रुप र आयाम छन्। विवाह एउटा सामाजिक संस्था हो जसअन्र्तगत एउटा नियम, पद्धति र संस्कारमा रहेर लोग्ने स्वास्नीले सामाजिक अधिकार र दायित्व निर्वाह गर्दछन्। आधुनिक समाजमा भने कानुनले पनि विवाहलाई वैधानिकता दिएको छ। हाम्रो जस्तो समाजमा पहिलेदेखिनै कुल,जात,खानदान हेरेर बिहेवारी गर्ने चलन पुरानै हो। उखानै पनि छ बिहे गर्नु कुलको पानी खानु मुलको। समाजको विकासक्रमसँगै वैवाहिक सम्वन्ध स्थापित गर्ने मापदण्डमा भने व्यापक परिवर्तन आएका छन् भने पुरानो धारणा पनि बाँकी नै छ। तर पुरानो मापदण्ड खानदान हेर्नुपर्छ भन्ने शव्दसँग सोझै आर्थिक कुरा प्रतिविम्वित हुन्छ जुन केटीपक्षले केटापक्षको हकमा हेर्ने गरेको देखिन्छ यसकारण कि आफ्नी छोरीलाई खानलाउन दुख नहोस् र कुल हेर्नुपर्छ चाहिँ केटापक्षले केटीको परिवार हेरेर केटीको पनि चालचलन र चरित्र बुझ्न सजिलो होस् भनि बढी प्रयोग गरेको देखिन्छ। तर कुल र खानदान भन्ने कुरा यतिवेला गौण विषय हुँदै गएको छ किनकी आजको परिवेशमा आफ्ना छोराछोरी काम वा पढाइका सिलसिलामा धेरै समय घर र परिवारभन्दा टाढा बस्दछन् ,त्यसैले उनीहरु आफ्नो कुल वा खानदानको नितीनियम र परिधिमा वसेका होलान् भनेर ठोकुवा गर्न सक्ने स्थित छैन। आजकल छोराछोरीमाथि अभिभावक र परिवारको लगाम र पकड छुट्दैगएको छ र उनीहरुले व्यतिmगत स्वतन्त्रताको भरपूर उपयोग गरीराखेका छन्। त्यसैले आज पनि कुल खानदान हेरेर बिहे गर्दा असल वरवधु नै पाइन्छ भन्नु त्यति वैज्ञानिक र समयसापेक्ष देखिन्न।
समय र समाजको परिवर्तनसँगै विद्यमान संस्कार र रितीरिवाजहरुमा पनि व्यापक बदलावहरु आइसकेका छन् र यसका मूल्य र मान्यताहरुमा पनि त्यही अनुरुप परिस्कार भईरहेको छ। वस्तुत त बिहे गर्नुलाई जीवनसाथीको चुनाव गर्ने भनिन्छ। स्वयंवर गर्नुको अर्थ आफैले वर चुन्नु हो भन्ने बुझिन्छ जस्तो कि हामीले रामायण या महाभारतमा सीता र द्रौपदीले लायकको वर चुन्नको लागि गराइएको प्रतियोगात्मक आयोजनाका कथा सुनेका छौ। मुख्यत नेपाली समाजमा अझै पनि विवाह भनेको परिवार वा आफन्तको रोजाइ र खोजाइमै गरीनुपर्छ भन्ने मान्यता यथावतनै छ। तर पछिल्लो समयमा केटा वा केटीले एकआपसमा रोजेर सो सम्बन्धलाई पारिवारिक मान्यता दिलाई आपसी सहमतीमा जातीय वा अन्र्तजातीय विवाह गर्ने ,गराउने थालनी पनि मुख्यत सहरी क्षेत्रमा राम्रै हुन थालेको छ। अहिले आएर विवाह परिवारको खुशीको लागि मात्र भन्दा पनि विवाह गर्ने जोडी खुशी छ भने भईगयो त भन्ने तहमा आईपुगेको छ जसले अब विवाह सामाजिक , पारिवारिक नियन्त्रणबाट विस्तारै फुत्किदै व्यतिmगत निर्णय र हितको लागि बढ्ता गाँसिने सम्बन्ध बन्दै गईरहेको देखिन्छ।
पुरानो समाजमा बिहे गर्ने भनेको बुहारी ल्याएर घरको कामकाज चलाउन, वंश विस्तार गर्न, खेतीपातीमा सघाउन,परम्परा धान्न र अन्त्यमा मात्र एकअर्काको सुखदुखमा पनि साथ दिने भन्ने थियो। यस अर्थमा वैवाहिक सम्वन्धको प्रयोजन व्यतिmगत कम तर पारिवारिक र सामाजिक उपादेयता बढी थियो। बिहेवारीको टुंगो लगाउँदा परिवारको भूमिका बढी हुन्थ्यो। धेरै अवस्थामा परिवारको मन्जुरी भएपछि केटा र केटीका विचमा बिहे हुनुअघि अनौपचारिक कुराकानी पनि हुँदैनथ्यो र आवश्यक पनि ठानिदैनथ्यो। बिहेपछि पनि कति दिन वा महिना दम्पतीबीच आपसी कुराकानी हँदैनथ्यो वा राम्रोसँग अनुहार पनि हेरेको हुँदैनथ्यो भन्ने कहानी हामी अझै सुन्छौ। बिहेको लागि दुई परिवारले निश्चित मापदण्ड बनाएका हुन्थे र आपसी स्वार्थमा तादात्मयता देखिएपछि बिहेवारीको टुंगो लगाईन्थ्यो र वैदिक परम्परा अनुसार विवाह हुन्थ्यो। यसरी भएको बिहेमा खासगरी केटाकेटीको पनि खासै प्रतिवाद हुँदैनथ्यो र जीवन यसरी नै चल्दैआएको पनि थियो। निचोडमा भन्नुपर्दा पहिला विवाहको भूमिका सामाजिक आर्थिक उत्पादन प्रणलीसँग पनि गाँसिएको थियो। तर समयक्रमसँगै मानिसमा व्यतिmवादिता हावी हुँदै गएपछि विवाह आजकल व्यतिmगत फैसलाले बढी भूमिका खेल्दछ भने परिवार र समाजको भूमिका देखावटी मात्र हुँदै गएको छ। आजकल चाहि केटाकेटी पहिले भेट्छन् र मनपराउँछन् र त्यसपछि परिवारको सहमती लिने प्रयास गरीन्छ र समाजको भूमिका चाहि वोलाए जन्त जाने र भोज खानेमा सिमीत भएको छ। विश्वभरनै पूँजीवादी अर्थव्यवस्थाले गाँज्दै लगेपछि त्यसको असर व्यतिmगत रुपमा र सामाजिक सम्वन्धहरुमा पनि प्रष्टैरुपमा परेको अनुभव गर्न सकिन्छ।
आखिर जे जस्तोसुकै व्याख्या गरीएपनि आजकल कि त प्रेमविवाह या मागी विवाह नै बढी भईरहेको देखिन्छ। पहिले पहिले केटो पल्टनमा छ भनेपछि ल हेर्नै पर्दैन भनिन्थ्यो भने आजकल केटो ग्रीनकार्ड छ भनेपछि ल हेर्नै पदैैंन भन्ने गरीन्छ। स्वरुप फेरिएको छ तर व्यतिm र समाजको मानसिकता फेरिएको देखिदैन। अहिले पनि बिहेवारी हुँदा केटीपक्षले मुख्यत केटापक्षको आर्थिक हैसियतलाई नै मुख्य मापदण्ड बनाउने गरेको देखिन्छ। खासमा बिहे हुँदा प्रथमत केटा र केटी एकआपसमा आफना भावना ,मान्यता र विचारको आपसमा आदानप्रदान गरी व्यवहारिक रुपमा सँगै बस्न सक्छन् या सक्दैनन् भनी निक्र्यौल गरीनुपथ्र्यो तर विवाह संस्कार भन्दा बढी लेनदेनको कारोवार हो कि जस्तो बढी देखिन्छ। केटा पक्षको के के हैसियत र केटी पक्षको के के हैसियत भनेर नाप्ने गरीन्छ। दाइजो लिने र दिने परम्परा अझै दृश्य वा अदृश्य रुपमा कायम नै छ। खासमा जीवनसाथी चुन्दा केटाकेटीले केही समय लिएर संगत गरी आफू अनुकुल अनुभव गरेपछि निर्णय लिनुपर्ने हो तर धेरै वैवाहिक सम्वन्धहरु सामाजिक र आर्थिक हैसियतको आधारमा निर्माण हुन्छन् जस्ले गर्दा कालान्तरमा दम्पतीविच मतभेद उत्पन्न भई सम्वन्ध विच्छेदका घटना व्यापकरुपमा बढ्दै गएको छ।
अव नेपाली समाजमा बिहेवारी गर्दा अपनाइने छनौट विधि र मापदण्डका केही विषयमाथि चर्चा गरौँ।
प्रेम विवाह कि मागी विवाह
भनिन्छ विवाह गर्दा स्त्रीले पुरुषको आर्थिक हैसियत हेर्छन् भने पुरुषले सौन्दर्य। तर आजकल प्रेम सम्बन्धपनि भावनात्मक रुपले भन्दापनि आर्थिक हैसियतलाई नै केन्द्रविन्दु मानेर स्थापित गर्ने विकृति आएको पाइन्छ। त्यसैले कतिपय हकमा थप सम्पन्न उम्मेदवार भेटिदा प्रेमलाई नै तिलाञ्जली दिएर विवाहको निर्णयमा पुगेका उदाहरणहरु पनि भेटिन्छन्। यसरी स्वार्थगतरुपमा स्थापित भएको वैवाहिक सम्वन्ध कालान्तरमा परेर दुर्घटनामा परेको पनि उत्तिकै सुनिन्छ। प्रेम पनि गरीवसँग गर्ने कि धनीसँग भनेर वर्ग विभाजित भएको छ त्यसैले नियत नै खोटो राखेर रचिएको त्यस्तो उद्धेश्यपूर्ण प्रेम विवाह पनि सुरक्षित हुन्छ भन्न सकिन्न। मागी विवाह पनि यदि आर्थिक हैसियत मात्र हेरेर स्थापित गरीन्छ भने यसले भविष्यमा संकट निम्त्याउने खतरा उत्तिकै हुन्छ। सम्बन्धको किनबेच हुनु कदापि राम्रो हैन, ढिलो या चाँडो यस्ले समस्या निम्त्याएरै छोड्छ। प्रेम विवाह होस् वा मागी विवाह होस् यो स्वार्थ केन्द्रित हुनु घातक छ। धनसम्पत्तिको प्रलोभनमा परेर गाँसिएका सम्बन्धहरु दिगो हुनै सक्दैनन्। आपसी विश्वास, समझदारी र हार्दिकतायुक्त सम्वन्धले नै जीवनलाई सुन्दर बनाउँछ। पैसाको जगमा बनाइएको सम्वन्ध कहिल्यै दिगो हुँदैन भन्ने सत्यलाई समयमै बुझ्न सके पछि पछुताउनु पर्दैन।
व्यक्तिगत योग्यता कि पारिवारिक योग्यता
मुख्यत विवाहको लागि हेर्नुपर्ने भनेकै केटा र केटीको व्यक्तिगत योग्यता हो। यदि केटो हाललाई आर्थिकरुपमा विपन्न छ भने भविष्यमा मेहनत र क्षमताले सम्पन्न हुन सक्छ जसमा केटीको पनि उत्तिकै भूमिका हुनसक्छ। अझैपनि केटीलाई विवाह गरेर पठाउँदा मारे पाप पाले पुण्य भनेर जिम्मा लाउने गरीन्छ। यो पशुवत व्यवहार हो। केटी र केटीपक्षले पनि केटाले पाल्न सक्नुपर्छ र सुखसयलको जिन्दगी दिनसक्नुपर्छ भनेर सुरुमै ग्यारेन्टि खोज्ने हो भने यो सम्बन्ध नभएर लेनदेनकै रुपमा पछिसम्म रहनेछ। यसको साटो केटाकेटी दुवैले हामी पाल्न र पालिन हैन आपसी रुपमा सुखदुख आदानप्रदान र जिम्मेवारी वहनगरी जीवनको रथ अघि बढाउन राजी भएका हौ भनी प्रतिबद्ध भए स्वस्थकर हुनेछ। विवाहपछि पुरुषको घरमा जाने चलन भएपनि स्त्रीले आफूलाई पालिन लगिदैछ भन्ने र पुरुषले घरको सहयोगीको रुपमा मात्र व्यवहार देखाए नारी पुरुष बीचको विभेद कहिल्यै हराउने छैन र नारीमाथिको थिचोमिचो कायम नै रहनेछ। अहिले आएर नारीहरुले पनि आर्थिक कामकाजमा संग्लग्न छन् तर पूर्णत पुरुषकै छत्रछाँया वा आर्थिक संरक्षणमा भरपरि विवाह गर्नु राम्रो हैन। विवाह अगाडि नारीले पनि कमाउन सक्ने सीप वा शैक्षिक योग्यता हासिल गर्नु जरुरी छ। परिवारको मात्र आर्थिक हैसियत हेरेर विवाहको निर्णय गर्नुभन्दापनि यदि केटा र केटीले आफ्नो शैक्षिक योग्यता,चारित्रिक योग्यता,आपसी शारिरीक स्वास्थ्य , आपसी गुण अवगुण ,आपसी चाहना, जिन्दगीको व्यवहारिक दृष्टिकोण, आपसी समझदारी ,समान अवधारणा ,भावनात्मक समानता, जीवनयापनका लागि अर्थोपार्जनको आपसी योजनाका विषयमा केही समय लिई खुलेर छलफल गरी जीवनसाथी रोज्ने निर्णयमा पुग्नु स्वस्थकर हुनसक्छ। यी सबैको लागि परिवारले पनि वातावरण तयार गरीदिए भविष्य सुन्दर हुनसक्छ र दुर्घटनाको जोखिम कम हुन्छ। परिवारको सम्पत्तिको आडमा भन्दा पनि एकआपसको योग्यता र आफ्नै पौरखले स्थापित हुने प्रतिबद्धता सहित अघि बढ्न सके जीवनसाथी हुनुको तात्पर्य पनि पुष्टि हुनसक्छ। जिन्दगीमा एक दम्पती आफ्नै संघर्षले स्थापित हुनु पौरखको विषय हो। र्पुख्यौली सम्पत्तिको रवाफ देखाउनु पाखण्डीपन हो। स्थापित पुरुषसँग मात्र विवाहको चाहना राख्नु भनेको आफूलाई महँगो मोलमा बेच्न खोज्नुजस्तै हो। पुरुषले केटीको शारिरिक सुन्दरताको भरमा मात्र बिहेको निर्णय लिनु पनि हानिकारक हुन्छ किनकी उमेर र यौवन एकनास रहन्न र पछि वितृष्णा उत्पन्न भई पछुतो हुनसक्छ र अन्य कारणले समेत मतभेद उत्पन्न भई दोस्रो विवाहको निर्णय लिनुपर्ने परिस्थितको सिर्जना हुनसक्छ जुन कसैको लागि पनि राम्रो हैन।
परिवार र समाज
सकेसम्म परिवारको चाहना आफैले खोजिदिएको व्यतिmसँग छोराछोरीले विवाह गरुन भन्ने हुन्छ त्यो पनि नराम्रो हैन तर केको आधारमा सम्बन्ध जोड्ने काम हुँदैछ त्यसमा भने ख्याल गर्नुपर्ने हुन्छ। छोराछोरीले आफैले रोजेको खण्डमा पनि समन्वयकारी भूमिका खेली सुरक्षित अवतरणको लागि भूमिका खेलिदिए उनीहरु थप उर्जाशील भई भविष्यमा अघि बढ्न सक्छन्। अन्तरजातीय विवाहलाई पनि परिवार र समाजले मान्यता दिदै जाने हो भने र मागी विवाह पनि अन्तरजातीय हुन थाल्ने हो भने धेरै सकारात्मक परिवर्तनहरु देखापर्छन। समाजलाई देखाउनकै लागि सम्पन्न घरमात्र हेरी बिहे गराइनु र बिहेलाई भडकिलो हुन नदिनुमा परिवारको भूमिका ठूलो हुन्छ। विवाहमा गरीने अनावश्यक भोज र तडकभडकपूर्ण खर्चले बोझ त थप्छ नै साथसाथै संस्कारलाई विकृत पनि तुल्याउँछ।आपसी सहमतीमा दुवै परिवार मिली गर्नै परेको खण्डमा संयुक्त भोज गरेमा दुवै पक्षको बोझ निकै हल्का हुनसक्छ। विवाह पछाडि पनि देखभेटको नाममा उपहार, गरगहनाको लेनदेनले विवाहको संस्कारलाई प्रदुषित बनाउँदै लगेको छ जस्लाई पूर्णत निषेध गर्नु जरुरी भैसकेको छ। केटो युरोप ,अमेरिका बसेकै आधारमा आफ्नी छोरीको लागि योग्य छ भनेर ठान्नु र केटीले पनि विदेशमा सुखसयलको जिन्दगी विताउन पाइन्छ भन्ने सपनामा विवाहको निर्णयमा पुग्नु वुद्धिमता हैन। सुख र सुुविधामा ठूलो अन्तर हुन्छ भन्ने सत्यलाई भुल्नु हुँदैन्। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु पर्ने हुनसक्छ। समाजलाई देखाउनकै लागि विवाहको समारोह महँगो पार्टीप्यालेसमा गर्नुको साटो विधिपूर्वक सामान्य भेला गराई आफनो धर्म र परम्परा अनुसार मण्डप बनाएर मठमन्दिर, चर्च आदिमा गरीए समाजमा वर्ग विभेद हुँदैनथ्यो। यस्ले विवाहलाई संस्कारयुक्त कार्य बनाउँथ्यो। विवाह गर्दा अनावश्यक भीड जम्मा गरी बाटो नै कव्जा गरी अरुको आवतजावतमा वाधा पुरयाउनु पनि पाखण्डपूर्ण काम हो,यसतर्फ पनि सचेत हुनु जरुरी छ।
जात र खानदान
समाज जतिसुकै आधुनिक भएपनि यदि मागी विवाह छ भने वरवधु आफ्नै जात र समुदायमै खोज्ने चलन छ। तर अब त्यसमै अड्केर बसी परिधीलाई खुम्च्याउनु पर्ने समय छैन। योग्य र उचित उम्मेदवारको खोजी खुला रुपमा गरीए र स्वीकारिए यसले सामाजिक हार्दिकता र सन्तुलन बढाउँछ भने भनेजस्तो जोडीको खोजी गर्न पनि सजिलो हुन्छ। अरु जातमा पनि असल मानिस हुन्छन् भन्ने सत्यलाई स्विकार्नु पर्छ। खानदान भनेको देखावटी मुखुटो मात्र हो। असल परिवार गरीव र कम आयआर्जन भएकाहरुको पनि हुन्छ। जात र खानदानलाई लिएर परिवार र समाजले पनि होच्याएर नवोल्ने वा रवाफ नदेखाउने हो भने जातपातको विभेद विस्तारै हट्दै जानेछ र समतामुलक समाजको निर्माण पनि टेवा पुग्छ। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने महाकविको भनाइ त हामीले सुनेकै छौ। सानो जात र ठूलो जात भनेर पालिएको अहंम र दूषित मानसिकतालाई हटाउन सके मानिस एकै हो भनेर बुझ्न सजिलो बनाउँछ। जातले हैन गुण र दोषका आधारमा मात्र मानिस असल र खराव हुनसक्छ। समाजमा सबैको समान अस्तित्व हुन्छ भन्ने सत्यलाई भुल्नु हुँदैन। मानिस भनेको एउटै जात हो र मानवता नै सबैको धर्म हो भनेर सबैले अंगीकार गर्न सके सानो ठूलो भन्ने भावना आफै हराएर जान्छ।
दाइजो
दाइजो प्रथा विवाह संस्कारमा रहेको सबभन्दा घिनलाग्दो चलन हो। दाइजो लिने र दिने चलन अविलम्ब रोकिनु जरुरी छ। कानुनले प्रतिवन्ध लगाएको भएपनि यो खुलेआम वा लुकीछिपी संचालन भइरहेकै छ। यदि पुरुषपक्षले लोभ नगर्ने हो र मुख्यत विवाह गर्ने पुरुष चेतनशील भएर यसको विरोध गर्ने हो भने यो प्रथा विस्तारै हट्दै जान्छ र वैवाहिक सम्बन्ध थप शुद्ध हुन्छ। केटीपक्षको मानसिकता सामान्यत दाइजो नदिदा कतै आफनी छोरीलाई बिहेपछि हेला वा र्दुव्यवहार गरीने त हैन भन्ने हुन्छ त्यसैले वाध्य भएर दाइजो दिइराखेको पाईन्छ जसलाई केटापक्षले विश्वस्त तुल्याउने हो र लिन्न भन्न सकेमा विश्वासको वातावरण तयार हुन्छ र उच्च नैतिकता र आदर्शता र उदाहरणीय कदम पनि हुनेछ जस्ले समाजको कुरितीमा सँग्लोपन आउँदै जान्छ। विशेषगरी तराई र मधेसतिर केटाको योग्यताको आधारमा कति दाइजो लिने वा दिने भन्ने चलन देखिन्छ जस्ले विवाह संस्कार कम र कारोवार बढी देखिएको छ। पैसाको लेनदेन गरेर विवाहको सम्बन्ध गाँस्नु कहाँ सम्मको घटिया विषय हो,सोच्न सकिन्छ।कतिपय अवस्थामा सामान्य परिवार वा शिक्षित परिवारमै पनि दाइजो नदिएको वा कम दिइएको वहानामा विवाह गरेको लगत्तै हिंसात्मक घटना घटाइएको प्रशस्त उदाहरणहरु पाइन्छ। यस्ता कुराले हामी कुन जुगमा बाँचिरहेका छौ र हामी कहाँसम्म गिरेर सम्बन्धको किनबेच गरीराखेका छौ भन्ने प्रतिविम्वित गर्दछ। दाइजो प्रथा नियन्त्रण गर्न राज्यनै सक्रिय भएर रोक लगाए र सजाय पनि गर्न थाले विस्तारै उन्मुलनतर्फ जानसक्छ। गरीवका छोरीको समयमा बिहे नै हुन नसक्ने वातावरणको अन्त्य हुनुपर्छ।
मुख्यत विवाहका कार्यहरु भनेको यौन सन्तुष्टि प्राप्त गर्नु, नातासम्वन्ध र परिवारको विकास गर्नु ,सामाजिकिकरणलाई अघि बढाउनु,परम्परालाई पुस्ता हस्तान्तरण गर्नु,पूर्णताको अनुभुत गर्नु , जन्मेका वच्चालाई सामाजिक वैधता प्रदान गर्नु , सामाजिक एकता कायम गर्नु,सामाजिक रुपमा महिला र पुरुषको कार्यविभाजन गर्नु ,एक्लोपनलाई रचनात्मक काममा लगाउन मनोवैज्ञानिक बल दिनु,सामाजिक सम्बन्धको दायरा फराकिलो पार्नु आदि हो।
यतिवेला विवाहको मौसम पनि चलिरहेको बेला माथि उल्लेखित विषयहरुमा व्यक्ति ,परिवार,समाज र राज्यले समेत मनन गरे वास्तवमै विवाह एउटा पवित्र सामाजिक संस्था हुने थियो। विवाह संस्कारयुक्त सामाजिक प्रणालीका रुपमा चिनिनेथियो। देशका सबै तह र तप्काले समानरुपमा विधिवत र समतामूलक तवरमा विवाहको आयोजना हुनेथियो। धनी र गरीवको विवाह भनेर वर्ग विभेद हुनेथिएन। विवाह गर्ने जोडीको सम्वन्ध पनि आपसी समझदारी र विश्वासको भरमा निर्माण भई दिगो हुने थियो। विवाहमा हुने अनाबश्यक खर्च र तडकभडक कम भई सो खर्चले व्यतिmगत साथै सामाजिक तनावमा पनि कमी ल्याई सुन्दर समाज निर्माणमा विवाहको संस्कारयुक्त अभ्यासले पनि भूमिका खेल्ने थियो। विवाहमा लगाउने अनावश्यक खर्च बरु सामाजिक विकासमा लगाए सबैको कल्याण हुनेछ। आपसी सहमति र पवित्र मन लिएर वैवाहिक सम्वन्ध गाँसिए वैवाहिक हिंसाका घटनाहरुमा पनि न्यूनिकरण आउनेछ र सम्बन्धविच्छेदका घटनामा पनि कमी आउन सहयोग पुग्छ।
विवाह वन्धनमा वाँधिएका र वाँधिने तरखरमा रहेका सबैलाई शुभकामना।
(लेखक समाजशास्त्रका विद्यार्थी हुन्।)