‘सभ्यता कमरेड !’
भद्रकाली मन्दिरको उत्तरी सिँढी ओर्लेर ऊ पुरानो बसपार्क जाने मुडमा थिई, अचानक आफ्नो पुरानो नाम सुनेर झस्किई । फर्केर हेरी । माथि डिलमा एउटा प्रहरी जवान मुस्काइरहेको छ । उसले चिनिन । निकै सम्झन खोज्दा पनि खुट्याउन सकिन ।
उसका आँखाको प्रश्न र अलमल केटाले बुझ्यो कि ?
भन्यो, ‘म चिन्छु तपाईंलाई ।’
ऊ सुस्तरी उक्लिई । अब सुस्तमै बानी पर्न थालिसकेको छ ।
‘मेरो घर सल्यान हो,’ ऊ माथि आएपछि प्रहरी जवानले भन्यो ।
ऊ मुस्काई मात्र ।
‘मेरो नाम मनीष थापा,’ अझै पनि ऊ अल्मलिई ।
‘भूमिगत हुँदा तपाईं हाम्रो घर आइरहनुहुन्थ्यो,’ उसैले सुनायो ।
‘ए,’ अब उसलाई ढुक्क भयो ।
‘मेरी दिदी तपाईंको भाषण र कुराकानी सुनेर हुरुक्क हुन्थिन्।’
उसले यसरी भन्यो मानौं यही कुरा सुनाउन ऊ वर्षौंदेखि कुरिरहेको छ । केटाको गोरो मंगोल अनुहारका गहिरा र चम्किला आँखामा उसले धेरै प्रश्न देखी तर उसले आफ्नै दिदीलाई हेरेजस्तरी हेरेको छ ।
जवाफमा ऊ मुस्काईमात्र ।
‘तपाईं अहिले के गर्नुहुन्छ ?’ केटोले सोध्यो । त्यसैबेला भद्रकाली मन्दिरमा कसैले जोरसँग घण्ट बजायो । केटोको प्रश्न सुनेर एकपल त उसलाई यस्तो लाग्यो मानौ त्यो घण्ट उसकै छातीमा बज्रिएको होस् ।
उसको मुखमा केटाले खोजेको जवाफ छैन ।
‘म घरको काम गर्छु,’ फिस्स हाँसी । ओठ नजानिँदो तन्किए मात्र । उसले थाहा पाई, आफू हाँसेको सुहाएन । केटो हाँसेन ।
किन अवस्थाहरुले मनस्थिति यसरी किचिदिन्छ कहिलेकाहिँ ?
‘दिदीको नाम के हो ?’ उसले सोधी ।
‘रत्नमाया,’ ऊ निन्याउरो देखियो, ‘उनी त दाङको भिडन्तमा मरिन् ।’
‘कमरेड रत्नमाया,’ हट्टाकट्टा शरीर गोरो ठूलो अनुहार जोसिलो आवाज भएकी रत्नमाया जसले उसलाई खुबै आदर गर्थी । मन पराउँथी । उसकै भाषणको प्रभावमा आफ्ना सबै साथीलाई फकाएर छापामार बनाएकी थिई । भिडन्तमा जब घाइते भएर उनीहरु सँगै थिए, मर्ने बेलामा रत्नमायाले भनेकी थिई, ‘नरुनु सभ्यता दिदी, म त मरेँ भने सहिद हुन्छु, त्यो त खुसीको कुरा हो।’
सम्झेर उसको मन कुँडियो ।
‘भाइ,’ उसले सोधी, ‘आमा कस्ती हुनुहुन्छ ? बिरामी पो हुनुहुन्थ्यो होइन?’
‘आमा पनि त बित्नुभयो,’ केटोले अँध्यारो अनुहार लगायो ।
‘कहिले ?’ उ आत्तिई ।
‘दिदी बितेपछि आमालाई मुटु दुख्ने व्यथाले च्याप्यो, पैसा खोजिवरी अस्पताल लैजान लागेका थियौँ । त्यही दिन खोलाको पुल छापामारहरुले छिनाइदिए, आमा बाटैमा बित्नु भयो ।’
केटाका अ“ाखा उदास छन् । ऊसँग पनि सान्त्वनाका शब्द छैनन् । एकछिन दुबै बोलेनन् । यस्तो बेला शब्दहरु पनि मौन बस्छन् । अनि उसले आफै स्थिति समाल्ने बहाना खोजी ।
‘कहिलेदेखि प्रहरीतिर लागेको ?’
‘दुई वर्ष भयो ।’
उसले सोध्यो, ‘तपाईंले पार्टी छाड्नुभयो र ?’
‘छैन,’ ऊसँग अहिले सम्झनाहरुमात्र छन् ।
‘तपाईं कुन पदमा हुनुहुन्छ ?’
‘कुनै पनि छैन, सदस्य मात्र । मैले राजनीति छाडेँ ।’
‘ए,’ केटाले भन्यो, ‘तपाईंका कुरा सुनेर दिदी मात्र होइन, म पनि खुब जोसिन्थँ,े मलाई आफूसँग लान भनेँ, दिदीले नै मानिनन्।’
हो त नि, किन लान्थी ! उसले भाइका लागि रंगीन सपना देखकी थिई । तिनै सपनाको छायाँ हालेर उसले लडाइँका लागि साहस जुटाउँथी ।
कुन्नि, रत्नमाया निरास हुन्थी होला कि ! भन्थी, ‘दिदी, हामीले यो व्यवस्था ढाल्न भत्काएका यी पुल, स्कुल हाम्रो व्यवस्था आएपछि मेरो भाइले बनाउने छ ।’
ऊ चाहन्थी, भाइ इन्जिनियर बनोस् । कठै उसको मायावी सपना ! उसको आदर्श, उसको भावुकता सबै ऊबेला बाँच्ने सहारा थिए।
केटो निकै गम्भीर भयो र भन्यो, ‘आमा र दिदी बिते, म एक्लो भएँ, त्यसपछि कहिल्यै तपाईं पनि आउनुभएन, अरु पनि आएनन् । धेरैपछि मैले बुझेँ, मान्छे मारेर र पुल छिनाएर क्रान्ति हुँदैन ।’
पूर्वकमरेड सभ्यताको अनुहारमा पछुतो दौडियो, मनमा एउटा शूल रोपियो । उसले हो र होइन नभनी सबै कुरा सुनिरही ।
पहिले ऊसँग अनेकौ प्रश्नका जवाफ हुन्थे, अहिले जवाफ छैनन् । सेल्टर माग्न जाँदा मान्छेहरु अक्करे प्रश्न लिएर बसेका हुन्थे। सभ्यताले नै सामना गर्थी र जवाफ दिन्थी ।
छापामारका आमाबाबु आँसुले बाटो छेक्थे । तिनलाई अञ्जुलीमा थापेर उनीहरुका दुख सुम्सुम्याइदिन्थी । ऊसंग जिन्दगीलाई आफ्नो आदर्श र लडाइँलाई सामना गर्ने र जोगाउने अनेकौं उपाय हुन्थे ।
तर अहिले ...!
प्रहरी जवानले उसको अनुहारमा हेरेको थाहा पाएर समालिई । ‘मान्छे मारेर र पुल भत्काएर मात्र क्रान्ति हुँदैन, सोचाइमा परिवर्तन आउनुपर्छ ।’
‘अनि व्यवहारमा नि ?’ ऊ धारिलो प्रश्न लिएर खडा थियो ।
‘व्यवहारमा पनि,’ उसको आवाज लोसियो ।
प्रहरी जवान हाँस्यो, ‘तपाईंलाई देखेर खुसी लाग्यो । दिदीलाई भेटेजस्तो ।’
ऊ मुस्काई ।
‘कहाँ हो बस्ने ?’
उसले भनी, ‘म सामाखुसी बस्छु । आउँदै गरे हुन्छ नि ।’
‘नम्बर छ ?’
‘छ ।’
नम्बर साटेर गह्रौं पाइला उचालेर हिँडी ।
उसलाई टाउकोमा घनले हानेझैं भएको छ, ‘अनि व्यवहारमा नि ?’
आफूले गरेका भाषण र अर्ति उपदेश सम्झी । अनि सम्झी आफ्नो वर्तमान । मनमा कुरा खेलाउँदै हिँडेकी ऊ बसपार्क पुग्नुपर्ने सहिदगेट पुगी ।
जीवनमा यसरी थाहा नै नपाई कति पुग्ने ठाउँ फेरिए । तनाव भयो, संझनाहरुले थिचिएर माइक्रोको सिटमा उ टोलाई ।
रत्नमायाको हँसिलो अनुहारले गिज्याएझैं लाग्यो π कैयौ रत्नमायाहरु उसले भनेकै भरमा उसको पछि लागे ताकि स्वावलम्बी स्वास्नीमान्छे बन्न सकियोस π देशसँगै धेरै नागरिकको जिन्दगीमा सुख शान्ति होस् ।
‘ओहो, इतिहास यसरी आफ्नै अगाडि झुट सावित हुन्छ भन्ने थाहा भएको भए ?’ उसले आफंैलाई प्रश्न गरी, ‘के गर्थेँ होला मैले?’
के गल्ती गरेँ र मैले व्यवस्था सुधार्ने सपना देखेर ? के भूल भयो र मेरो दुखियाहरुको जिन्दगीमा थोरै पनि खुसी ल्याउने अठोट गरेर ? कसलाई सोध्ने यस्ता सवाल उसले ?
टाउको रन्कियो ।
छोराछोरीलाई लिन स्कुल पुगी ।
ऊ फेरि झस्की । यस्तै साना नानीहरुले पढ्ने गरिब जनताले दुख गरेर बनाएका कैयौ स्कुलहरुमा ऊ आफैंले बम राखेर हिँडेकी थिई ।
‘उफ .... !’
घर पुगेर कोठा मिलाई, बच्चालाई नास्ता खुवाई भाँडा माझी । उनीहरुका लुगा धोई ।
उसलाई एकछिन फुर्सद छैन ।
‘आज पनि प्रधानमन्त्रीको चयन हुन सकेन... तराईमा सशस्त्र समूहले सरकारी अधिकारीको हत्याको जिम्मेवारी लियो ।’
‘उफ... ! टिभी हेर्न छोडेर ऊ खाना पकाउन थाली ।
‘ऊ बाबा,’ टिभी हेर्दै बच्चाबच्ची चिच्याए ।
‘कमरेड सिद्धान्त !’
उसको नाम सुन्दै मुटु ढक्क फुल्थ्यो । सिद्धान्त आफ्नो आदर्शमा अडिग थियो, निष्ठाको राजनीति त उसको मन्त्र नै थियो । जिन्दगी र संसारप्रति ऊ इमान्दार थियो ।
ती दिन र यी दिन कति फरक ? अहिले कमरेड सिद्धान्त उसको पति, केन्द्रीय नेता तथा सभासद् सुरेश भएको छ । उसको उहिलेको कुरा र अहिलेको कुरा, आदर्श, विचार र व्यवहार पनि फरक छ ।
ऊ खुइय्य गर्दै कुर्चीमा बसी ।
‘कमरेड सभ्यता,’ उसको मनमा गुन्जिरह्यो । थुप्रै यादहरु आए, केहीले दुखी बनाए । केही याद पछुतो भएर मनमा गाँठो परे... ।
‘मा..मु,’ सानी छोरी टिभी कोठाबाट दौडिँदै आई र सोधी, ‘मामु क्रान्ति भनेको के हो ?’
‘क्रान्ति भनेको के हो दिदी ?’ एक दिन रुकुमको कुनै सेल्टरमा एउटी किशोरीले यसै गरी सोधी ।
तिम्रो नाम चाहिँ के हो नि ?’ कमरेड सभ्यताले उल्टै सोधेकी थिई ।
‘रत्नमाया थपामगर,’ उसका आँखाको त्यो भरभराउँदो उत्सुकता अहिले छोरीका आँखामा पनि देखेर पूर्वकमरेड ऊ हतास भई । रत्नमायाको अनुहार अबोध थियो तर उसका आँखाको उत्सुकताको ज्योतिमा कमरेड सभ्यताले मसालको कामना गरी ।
‘हेर, यहाँ धनीले जे गरे नि सबैले सहन्छन्, गरिबलाई कसैले गन्दैन, जति दुख गरे नि गरिबलाई खान लाउन पुग्दैन । मान्छे भनेको सबै एउटै हुन्छ तर हेर जातपातले गर्दा तिमीलाई बाउनका छोराछोरीले गन्छन् ? उल्टै हेपेर बोल्छन् । धनीगरिब, जातपात भन्ने यस्तो कुरा हटाएर सबैमान्छेलाई समान बनाउने भनेको क्रान्ति हो । क्रान्ति भैसकेपछि तिमी र साहुको छोरी बराबर हुन्छौ । तिम्रा बा अर्काको देशमा गएर मरिमरी पैसा कमाउनु पर्नेछैन । सबैको खेत घर हुनेछ । जातपात उचनिच केही हुने छैन । तिमीले आफूलाई लागेको कुरा गर्न पाउने छौ । छोरी मान्छे भनेर तिमीलाई कसैले हेप्न सक्ने छैन । क्रान्ति भनेको नराम्रो व्यवस्था फालेर नयाँ व्यवस्था ल्याउने महान कार्य हो ।’
सभ्यता कमरेडले भाषण नै दिई । रत्नमायाको अनुहारमा धेरै कुराहरु अल्झिए तर आँखाको ज्योति बलिरह्यो । पछि रत्नमायाले क्रान्ति गर्न बन्दुक बोकी र भिडन्तमा मरी ।
‘के ऊ सहिद भई ?’
छोरीले फेरि सोधी ।
'मामु ! भन्नु न क्रान्ति भनेको के हो ?'
ऊसँग उत्तरहरु छैनन् ।