नेपाली सञ्चार माध्यममा काम गरेको थोरै समय भए पनि धेरै कुराहरू नजिकबाट नियालेर सिक्न र बुझ्न पाइयो। यसको मतलब यो हैन कि मैले नेपाली सञ्चार माध्यमबाट विश्राम नै लिएँ। अहिले पनि कुनै एक नेपाली सञ्चार माध्यममा काम गरिरहेको छु।
वर्षका हिसाबले स्नातकोत्तरसम्म सात वर्षमा सकिनु पर्ने नेपाली उच्च शिक्षा, नौ वर्षमा बल्ल अबको केही महिनामा औपचारिक रूपमा सकिँदै छ। यसै शिलशिलामा केही मिडियामा काम गर्ने अवसर मिल्यो। जसले गर्दा एक पत्रकारले आफूभन्दा उच्च पद र मिडिया मालिकसँग कस्तो व्यवहार गर्दा रै’छन् भन्ने कुरा बुझ्न पाइयो। जसलाई म चाकरीवाज भनेर सम्बोधन गर्दैछु।
कहिलेकाहीँ सोच्छु– पत्रकारिता गर्न किन पत्रकारिता विषय लिएर पढेँ हुँला भनेर। किनकि यहाँ त कसरी चाकरी गर्ने भन्ने पो सिक्नुपर्दो रहेछ। यदि तपाईं पत्रकार बन्न चाहनु हुन्छ भने मात्र उच्च पद र मिडिया मालिकको हरेक प्रस्तावलाई कसरी स्वीकार गर्ने भन्ने सिक्नुस्। आफूले गरेको सहि काम पनि उसको बिनाकामको अवजेक्सनलाई हजुर सर, भैहाल्छ नि, भन्नुस् न, अहिले नै हुन्छ, हुन्छ नि, हजुर भन्नुस् मात्र म गरिहाल्छु नि भन्नुस्। त्यो मिडियामा तपाईंको जागीर स्थायी हुनेछ। पत्रकारिता पढ्दा पत्रकारिताका सिद्धान्त, उद्देश्य र कार्यहरू पढिन्छ। तर मिडियामा आएर चाकरी गरेको देखिन्छ। अनि हामी जस्ताले कसरी पढाई र भोगाईलाई एकैसाथ आत्मसाथ गर्न सक्छौं?
चाकरीबिना अङ्गालेको यो पेसामा आज बारम्बार मिडिया परिर्वतन भइरहेको छ मेरो। नसाझैँ भएर लागेको छ मलाई। चाकरीवाज नेता झैं भाषण गर्छन्। दिनभरि कागज समातेर कागजको पाना भर्न तिर लागेका ती इमान्दार पत्रकार जसलाई एक कप चिया खान फुर्सद छैन। तर तिनीहरूलाई भिआइपी रेष्टुरेन्टमा पार्टी खान फुर्सद छैन। घरको कथा त परै जाओस् न समयको हामीलाई कुनै मतलब हुन्छ। समाचार–समाचार भन्दाभन्दै दौडिरहेका छौं हामी। अनि तिनीहरू जस्ताले, हामी यो देशका पत्रकार हौं भन्ने? चार कप चिया सकि सक्दा समेत एउटा सम्पादकीय लेख्न नसक्ने सम्पादक कसरी सम्पादक भयो होला? सोच्नुस् त!
कामप्रतिको ईमान्दारीता कसैलाई मन नपर्दो रहेछ। जो आफ्नो मिडिया र कामप्रति ईमान्दार छन् उनीहरू निराश छन्। ती थाकेका छन्। गलेका छन्। आक्रोशित छन्। मिडियाको यस्तो अवस्था देखेर उकुसमुकुस भएका छन्। उपायको खोजीमा पनि छन्। तर, ती झ्याप्पै कतै हिँडिहाल्न सक्ने अवस्थामा पनि छैनन्। किनभने ती ईमान्दार व्यक्तिले आफ्नो पेशालाई न्याय गरेका छन्। कति पत्रकारले त स्वतन्त्र पत्रकारिता गर्दागर्दै बलिदान समेत दिए।
मलाई पत्रकारिता पढाउने गुरुले सधैँ भन्नुहुन्छ, बाबु अध्ययनशील, लगनशील र निडर भए मात्र पत्रकार बन। तर यहाँ त ठीक त्यसको उल्टो छ। तपाईं जत्ति सक्नुहुन्छ डराउनुस, कराउनुस् र चाकरी गर्नुस् मात्र मालिकको। अनि असल पत्रकार बन्नु हुन्छ। यतिसम्म कि सकभर एक एजेन्ट बन्नुस्, आफ्नै मिडिया हाउस भित्रका महिला पत्रकारहरूलाई मालिकको कोठासम्म पुर्याउने। रातिराति म्यासेज पठाउनुस् ति महिला पत्रकारलाई। पद र सुविधाको प्रलोभन देखाउनुस्। अनि ठूलै पत्रकार हुँ भन्दै बजारमा शीर ठाडो पारेर हिँड्नुस्। तपाईंहरू जस्ताले गर्दा हो आज–भोलि पत्रकारको मूल्य बजारमा बेच्न राखेको सब्जीभन्दा पनि सस्तो भएको ।
पत्रकारको नाममा दुई–चार पिस मासु र भोड्कासँग समाचार नलुकाउनुस्। गलतलाई लुकाएर चाकरी गरी पत्रकारिता नगर्नुस्। एक चोटि डराउनुस् आफ्नो समाचारसँग, ताकि त्यो तपाईंको समाचारले भोलि नेपाली मिडियाको भविष्य कहाँ पुर्याउँला भनेर। अनि कसरी एक्लो पत्रकारिताको मूल्य हुन्छ यहाँ? मूल्य त त्यतिखेर हुन्छ, जब कसैले तपाईं के गर्नुहुन्छ भनेर सोध्यो भने छाती फुलाएर भन्न सक्यौं, पत्रकार हुँ म। त्यसैले मह ओसार्ने माहुरी हुँ कि सरुवा रोग भित्र्याउने झिँगा हुँ, वरिपरि झुम्मिरहने भन्ने हेक्का राख्नुस्। त्यत्तिकै भानुभक्त आचार्यले यो व्याङ्गात्मक कविता लेखेका हैनन्–
एक् मन् चित्त लगाइ चाकरि गर्या, खूसी भया छन् हरि
मान्पाथी पनि भुक्तमान् थपिदिया, कैल्यै नछुट्न्या गरी ।।