वि.स. २०५२ सालबाट तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व सुरू भयो।
त्यो समयमा म सानै थिएँ। घरमा आफूभन्दा ठूलाले गरेको कुरा सुन्थें। अब त माओवादी भन्ने पार्टी खुलेको छ रे। रोल्पामा छ । अब दाङमा पनि आउछ रे । त्यसले मान्छे मार्छ रे भन्ने सुनें। मलाई डर लाग्थ्यो। माओवादीले हामीलाई पनि मार्छ कि भनेर म साह्रै डराउथें। धेरै सोच्न नसक्ने भएकाले होला म माओवादी भन्ने ‘जिनिस’ नदेख्दै अब मलाई पनि मार्छ कि भनेर साह्रै डराउथें। मान्छे मार्ने एक किसिमको प्राणीको रूपमा मैले त्यो समयमा माओवादी पार्टीलाई बुझेको थिएँ ।
घरमा बुवा आमाले रेडियो नेपाल सुन्नुहुन्थ्यो। अरु मलाई याद छैन। दिनहुँ बेलुका ७ बजे समाचार र त्यसपछि ७ बजेर २० मिनेटमा ‘घटना विचार’ भन्ने समाचारमूलक कार्यक्रम दिन्थ्यो। त्यही कार्यक्रममा विभिन्न जिल्लाका समाचारहरू प्रसारण हुन्थे।
समाचारमा मैले माओवादी पार्टीले विभिन्न स्थानमा आक्रमण, बम विस्फोट गर्यो भन्ने सुन्थें। यी यावत कुराले म सधैं त्रसित हुन्थें।
केही वर्षपछि वि.स.२०५८ साल मंसिर २८ गते दाङ जिल्लाका विभिन्न स्थानमा माओवादीले आक्रमण गर्यो। जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, वन डिभिजन कार्यालय र विभिन्न स्थानका प्रहरी चौकीमा आक्रमण गरेको थिए । घोराही बजारदेखि २ किलो मिटरको दूरीमा मेरो घर। घर बजारको नजिकै भएकाले जुन दिन घोराहीमा माओवादीले आक्रमण गर्यो । त्यो रातभरि मेरै घर अगाडिको बाटोबाट मानिसहरू हिँडेको, ओहोर दोहोर गरेको सुनिन्थ्यो।
यो भन्दा अगाडि हामीले दोहोरो भिड्न्त देख्न पाएका थिएनौं । सुनेका मात्र थियौं। त्यो पनि रोल्पा, रुकुममा चौकी आक्रमण गरे यति प्रहरीले ज्यान गुमाए भनेको सुनेका मात्र थियौं।
२०५८ साल मंसिर २८ गते।
राति भयंकरको आवाजले कुनै वस्तु पट्केको, ट्रकबाट ढुंगा झारेको जस्तो ड्वाङ–ड्वाङ, पटरर्–पटरर् को आवाज आयो। कुनै वस्तु पट्केको वा कुनै वस्तु ट्रकबाट झारे भन्ने धेरैले ठानेका थिए। बम, गोलीको आवाज दाङवासीले कहिल्यै सुनेका थिएनन्। विस्तारै सबैले अनुमान गरे। राजभर ती आवाजले हामीलाई त्रसित बनायो।
बिहान सबै आ–आफ्नो घरबाट निस्कन थाले र चोक, बाटोमा कुरा हुन थाल्यो रातभरि के पट्केको भन्ने विषयमा। विस्तारै थाहा भयो कि । त्यो आवाज बम र गोलीको हो। रातभरि माओवादी र सेनाबीच दोहोरो भिडन्त भएको रहेछ।
म सानै भएकाले घटना भएको स्थानसम्म डरले म हेर्न गइनँ । अरुले भनेका थिए । धेरै प्रहरी र सेनाहरूको मृत्यु भएको छ । हेर्न नसकिने अवस्था छ । माओवादीतर्फ कतिको मृत्यु भयो भन्ने थाहा भएन। धेरै प्रहरीको दोहोरो भीडन्तमा मृत्यु भएको थियो।
दाङमा भएको घटनाको केही दिनपछि सरकारले देशमा संकटकाल घोषणा गर्यो। त्यस पछिका दिनहरू झनै कठिन हुन थाले। दैनिक कर्फ्यू । राति ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू। त्यसपछिका समय माओवादी प्रभावित जिल्लाका नागरिकका लागि कष्टकर हुन थाले। सशस्त्र माओवादीको द्वन्द्वको कुरा सुन्ने व्यक्ति त त्रसित हुन्छन् भने त्यो भोग्नेको पीडा कस्तो होला ?
बम,गोलीको आवाज, हेलिकप्टरको नाइट भिजनको आवाज, सेनाको नाइट गस्ती, दैनिक रातभरको कर्फ्यू ती कष्टका साथ दैनिकी काट्दै गयौं।
कति हो कति डर लाग्थ्यो मलाई अब मरिने हो की भनेर। बम र गोलीको आवाज सुनेपछि बाच्नका लागि खाटमुनि सुतेको यो क्षण सम्झँदा अहिले पनि शरीरमा काँडा उम्रन्छ।
बेलुका ८ बजेको कर्फ्यू। चाँडै सुत्नुपर्ने बाध्यता। बाटो नजिकको घर, सिसाको झ्याल। कोठाभित्र बत्ती बालेको बाहिर उज्यालो देखिने डर। बत्ती बालेर रातिसम्म पढ्ने भएकाले बत्तीको उज्यालो बाहिर कम जाओस् भनेर झ्यालमा बाक्ला–बाक्ला धेरै तन्नाहरूले झ्याल छोप्थ्यौं।
दैनिक हत्या, आतंक, भिडन्त, तोडफोड, कब्जा,चन्दा सुन्दै हुर्कें। लामो समयसम्म विभिन्न किसिमका आतंकहरू भोग्दै आयौं। बम र गोलीको आवाज नसुनिएको त दिनै हुँदैन्थ्यो।
बम र गोलीको आवाज त हाम्रा लागि सामान्य भइसकेका थिए। गाउँतिरका व्यक्तिहरू त दोहोरो यातनामा परे। राति माओवादी आएर ‘खान दे’ भन्ने, दिउँसो सेना आएर ‘किन खान दिइस्’भन्दै यातना दिन्थे।
सोझा गाउँले दोहोरो यातनाको मारमा परिरहे। राज्य र माओवादी पक्षबाट गरी १७ हजार मानिसहरूले ज्यान गुमाउनु पर्यो। १० वर्षसम्म निरन्तर द्वन्द्व भोग्नुपर्यो।
२०६२/२०६३ सालको आन्दोलनपछि शान्ति सम्झौता भयो। देशमा शान्ति उम्रन थाल्यो। हामी नेपालीले खुलेर सास फेर्न थाल्यौं।
अब देशमा शान्ति अमन चयन हुन थाल्यो भन्दै १० वर्षे जनयुद्धलाई भुलेर मुस्कुराउन थाल्यौं। पहिलो संविधान सभाको निर्वाचन भयो।
लामो द्वन्द्वपछिको चुनावका कारण अब देशमा केही शान्ति अमनचयन होला भनेर नागरिकले आशातित हुन थाले।
तर दुर्भाग्य पहिलो संविधान सभाले संविधान दिन सकेन। फेरि दोस्रो संविधान सभाको निर्वाचन भयो र त्यही सभामार्फत् ०७२ सालमा नेपाली जनताले संविधान पाए।
संविधान अनुसार देशको मुहार फेरिने भयो भनेर सबै खुसी भए। नयाँ कानुन, नयाँ नियम, नयाँ योजना अनुसार देश समृद्धितर्फ लम्कने भन्दै आशाका किरणहरू आम मानिस छाँयो।
१० वर्षको त्यो पीडालाई भुल्न खोजेर अगाडि बढ्न खोजिरहेका छन्।
तर पछिल्लो समयमा फेरि अर्को किसिमको द्वन्द्व हुने त होइन भन्ने त्रास आम नेपालीमा छ । आन्दोलन, क्रान्ति, द्वन्द्व हुन्छ कि भन्ने डर लागेको छ। अब म फेरि त्यो लामो १० वर्षको द्वन्द्व फेरि भोग्न चाहँदैनन् नेपाली जनता।
कुनै कुरामा चित्त बुझेको छैन भने असन्तुष्ट पार्टीले सरकारसँग वार्तामा बसेर समस्या समाधान गर्नतिर लाग्नुपर्छ। आफ्नो दुःख गरी खाने सोझा नागरिकलाई किन अचानो बनाउने ?
सबै कुराको समाधान हुन्छ। त्यसैले समस्याको समाधानका लागि सडकमा द्वन्द्व होइन सरकारसँग वार्ता टेबलमा वाकको द्वन्द्व गरेर समस्याको समाधान गर्नतिर लाग्नुपर्छ।
मिलेर सरकारसँग वार्तामा आउन आन्दोलन गरिरहेका पक्षलाई आग्रह छ।
अब फेरि हतियारको द्वन्द्व चाहँदैनन् नेपाली जनता, फेरि हत्या, हिंसा, आतंकको दुष्चक्रमा फस्न चाहँदैनन् नेपाली जनता।