कुनै पनि मुलुकमा आइपर्ने जुनकुनै प्रकोप तथा महामारीहरुको सामना गर्न नागरिक सचेतना जरुरी हुन्छ। नागरिक अनुशासन तथा धैर्यता भयो भने सरकारलाई यस्ता महामारीहरुसँग जुध्न मद्दत पुग्दछ।
विश्वमै महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को कारण जनजीवनमा नै प्रभाव परेको छ। यस रोगको प्रभाव सबै मुलुकहरुमा समान छैन। कुनै मुलुकहरुमा ठूलो संख्यामा मानिसहरुले ज्यान पनि गुमाइरहेका छन् भने केही मुलुकहरुमा भर्खर भर्खर-फैलिदो छ। केही देशहरुले यस रोगमा जुधेर नियन्त्रण गर्न सफल पनि भएका छन्।
सचेत नागरिक राष्ट्रका धरोहर हुन्। जसले सरकारको महामारी रोकथामको लागि क्षमता वृद्धिमा योगदान गरिरहेका हुन्छन्। कोरोनाको प्रभाव विश्वभर फैलिएको बेला यसबाट बच्ने उपायहरुको खोजी पनि भईरहेको छ। तर हालसम्म कुनै उपाय पत्ता लाग्न नसकेको अवस्था छ।
भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु वेश। यसको वास्तविक पालना गर्नुपर्ने देखिएको छ। यो सजिलै विभिन्न माध्यमबाट मानिसमा सर्ने भएकोले बढी नै सावधानी अपनाउनुपर्ने देखिएको छ। विश्व व्यापीकरणको कारण मानिस एक ठाउँबाट अर्को ठाउँ पुग्ने प्रक्रियाले विश्वलाई नै सिमाहिन बनाइदिएको छ।
फलतः अहिलेको कोरोना जस्ता महामारीहरु विश्वव्यापी भईरहेका छन्। सरकारले लागू गर्ने आदेश, निर्देशनहरुको पालना भएका मुलुकहरुका मात्र कोरोनाको नियन्त्रण भईरहेको देखिन्छ। यसको लागि नागरिक संयमता त मूल विषय हो।
कोरोनाको परीक्षण र रोकथामका लागि अपनाइएका विधिहरुको व्यवहारिक पालनाले यस्ता महामारी व्यवस्थापनमा अर्थ राख्दछ। नागरिकहरु के-कति हदसम्म सचेत र सतर्क बन्न सक्छन् भन्ने हिसाबले नै यस्ता महामारीहरुको नियन्त्रण तथा रोकथाम गर्न सहज हुन्छ।
महामारी भनेको अप्रत्यासित ढंगबाट निम्तिने गर्दछन्। त्यसमा पनि विश्वभर नै महामारी एउटै महामारी फैलियो भने अरु राष्ट्रहरुले सघाउने सम्भावना पनि कमै रहन्छ। जसको कारण बिरामीहरुले औषधी उपचार नपाएर ज्यान गुमाउने अवस्था आउन सक्छ। अर्कोतर्फ आर्थिक गतिविधिहरु ठप्प हुनगई भोकमारी र गरिबीले सताउन सक्छ।
जसको कारण अन्य विकराल अवस्थाहरु आउन सक्छन्। यसका प्रभावहरु तत्कालिन तथा दीर्घकालीन दुबै खालका पर्दछन्। यस्ता प्रभावहरुको व्यवस्थापन गर्नको लागि रणनीतिक योजनाहरु अख्तियार गर्नु जरुरी छ।
सन् २०१९ को डिसेम्बरमा चीनको हुवेइ प्रान्तको वुहान सहरमा देखापरेको कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको छ। कोरोनाका कारण विश्वभर आर्थिक गतिविधिहरु ठप्प प्राय छन्। यसको प्रभाव नेपालजस्ता मुलुकहरुमा व्यापक हुन सक्छ।
भारतमा पछिल्लो समयमा कोरोनाको संक्रमण दर बढिरहेको छ। बहुसंख्यक नेपालीहरु भारतमा रहेका हुनाले र नेपाल भारतबीच खुला सिमाना रहेका कारण नेपालमा पनि कोरोना संक्रमणको चुनौती बढ्दै गइरहेको छ।
शिक्षा रोजगारी लगायतका अवसरको लागि विदेशमा रहेका नेपालीहरु यस्तो महामारीको बेला आ-आफ्नो घर परिवारसँगै बस्न खोज्नु स्वभाविक हो। पारिवारिक माया मोह तथा हेरविचार र साथका कुराहरु पनि हुन्। तर पनि अत्यावश्यक अवस्थामा बाहेक एक ठाउँबाट अर्को ठाउँमा नहिँड्नु राम्रो हो।
यस्तो अवस्थामा हामी अझ बढी सतर्क रहनुपर्ने हुन्छ। आफ्नो र अरुको सुरक्षाको लागि हामी नागरिकका कर्तव्यबारे सचेत रहनु जरुरी छ।
पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसको कारण संक्रमित मानिसहरुको संख्या करिब ४४ लाख नाघेको छ। यस रोगको कारण मृत्यू हुने मानिसहरुको संख्या करिब ३ लाख पुगेको छ भने उपचार भई निको भएका बिरामीहरुको संख्या १६ लाख बढी रहेको छ।
हालसम्म २ सय १३ मुलुकहरुमा कोभिड १९ फैलिएको छ। नेपालमा हालसम्म २ सय ४५ भन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ। यस रोगको इपिसेन्टर मानिएको चीनमा भने मानिसहरुको चहलपहल सुरु भएका खबरहरु आएका छन्। त्यहाँ जनजीवन पूर्ववत् चल्न थालेको छ।
समयमै सतर्कता अपनाएको हुनाले चीनले सम्भावित ठूलो क्षति टार्यो भनिएको छ। कडा लकडाउन र व्यापक परीक्षणको कारण नै चीनमा कोरोना नियन्त्रण आएको भनिन्छ।
विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिएर सावधानी अपनाउँदै आवश्यक कदमहरु चाल्न अपिल गरेको छ। मानिसबाट मानिसमा सर्ने र लक्षणहरु लामो समयमा मात्र देखिने खालको रोग भएको हुनाले झनै भय थपेको छ।
कोरोना भाइरस शरीर बाहिर पनि केहि दिनसम्म रही संक्रमण गर्नसक्ने र अन्य जनावरहरुमा पनि मानिसबाट सरेका घटनाक्रमहरुबाट थप सावधानी अपनाउनुपर्ने देखिएको छ। फेरि कोरोनाको संक्रमण जो कोहीलाई पनि हुन सक्ने देखिएको छ। भर्खर जन्मेको बच्चादेखि लिएर युवा अनि वृद्धाहरु सबैमा देखिएको हुनाले बढी सतर्क बन्नुपर्ने हुन्छ।
यसले राजनीतिज्ञ, नेता, मन्त्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सर्वसाधारण सबैमा प्रभाव छेडिरहेका घटनाक्रमहरु अन्तर्राष्ट्रिय स्तरमा आइरहेका छन् भने नेपालमा पनि यस्ता केही प्रतिनिधि घटनाक्रमहरु भएका छन्।
कोरोना रोकथामको लागि सावधानी एवं सतर्कता र व्यापक परीक्षण तथा रेखदेखको आवश्यकता पर्दछ। सामाजिक दुरी कायम गर्ने, क्वारेन्टिन बस्ने तथा लकडाउनको पालना गर्ने गराउने सबैको सबैका लागि एकल र सामूहिक दायित्व नै सावित भएका छन्।
परीक्षणको दायरा जति वृहत गर्न सकिन्छ, उति नै कोरोनाको चेन ब्रेक गर्न सहज हुने र कोरोनाको रोकथाम गर्न सकिने जानकारहरु बताइरहेका छन्। रोकथामका लागि लागू गरिने लकडाउन लगायतका कार्यहरुबाट सर्वसाधारण नागरिकको दैनिक रोजिरोटीमा दख्खल पर्न जाने जस्ता असरहरुको यथार्थपरक सम्बोधन गर्ने प्रणाली पनि अत्यावश्यक छ।
लकडाउन रहर नभई बाध्यता हो। यसको यथासम्भव पालना गर्नु नागरिकको कर्तव्य हो। संविधानको धारा ४८ मा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकका कर्तव्य उल्लेख छन्।
सरकारले सदैव नागरिक हक हितको संरक्षणमा ध्यान दिएको हुन्छ र विभिन्न खाले निर्णयहरु गरेको हुन्छ। कुनै-कुनै निर्णहरु तत्कालिन रुपमा अप्रिय लागे पनि समग्रतामा ती निर्णयहरु जनहितमै लागू गरिएका हुन्छन्। यस्ता निर्णयहरुको कार्यान्वयनमा दख्खल पर्ने र प्रभावित भई दैनिकि चलाउन नै गाह्रो हुने वर्गहरुलाई राहतको प्रबन्ध हुनु उत्तिकै महत्वपूर्ण छ।
विश्व नै कोरोनाले थलिएको अवस्थामा नागरिकहरुले पनि सरकारलाई सक्दो सहयोग गर्नु आवश्यक छ। अत्यावश्यक व्यक्तिहरुले मात्र राहत ग्रहण गर्ने नैतिकता देखाउन सक्नुपर्दछ। जो आफै आफ्नो र परिवारको व्यवस्थापन गर्न सक्षम छन् र गरिब तथा विपन्नको नाउँमा राहत लिइन्छ, सच्चा नागरिक बन्न सकिंदैन।
सामाजिक दुरी कायम गर्दै उत्पादनका कार्यहरु गरिरहनु पर्दछ। खाली जग्गाहरुमा खेतीबाली लगाउनेतर्फ ध्यान दिनुपर्दछ। यस्तो अवस्थामा विदेशबाट आएका व्यक्तिहरु हौं भनेदेखि इमानदारीका साथ क्वारेन्टिनमा बस्ने, समाजमा घुलमिल नगर्ने गरियो भने आफू पनि अरु कसैबाट सर्न सक्ने कोरोनाबाट बचिन्छ भने आफ्नो कारण अरु कसैलाई कोरोना सर्ने सम्भावनाबाट जोगाइन्छ।
यो बेला नागरिक सचेतना नै कोरोना रोकथामको सबैभन्दा ठूलो ओखती बन्न सक्छ। आत्मबल उच्च बनाउने हो भने कैयौं संक्रमण र रोगसँग सहजै जुध्न सकिन्छ।
यसबेला सबै नेपाली उच्च मनोबल बनाएर घरमै बस्नुपर्छ। सरकारका निर्देशनहरुको जिम्मेवारीका साथ पालना गर्नुपर्दछ। गाउँघर फिरेका युवाहरु सबै आफू र आफ्नो परिवारको स्वास्थ्य संवेदनशिलतालाई ख्याल गर्दै कृषि उत्पादनमा लागौं र सम्भावित खाद्य संकटबाट जोगाऔं।
कोरोना महामारीबाट बचौं र बचाऔं। नागरिक दायित्व पूरा गरी कोरोना नियन्त्रणमा सरकारलाई सघाऔं।
(लेखक वनस्पति विभागका वैज्ञानिक अधिकृत हुन्।)