कोरोनाको महामारीको दोस्रो चरणले विस्तारै नेपाललाई छुँदै छ। अझ लकडाउनको खबरले पोका पुन्तुरा बाँधेर गाउँ जाने तर्खरमा छौं होला। जन्मभूमिलाई हामी जननी भन्छौं।
दुःख आपत पर्दा जननीभावसँग गाँसिन खोज्नु हाम्रो सभ्यता हो। आमा समान यो भूगोलको प्रेममा सत्यको भाव झल्किन्छ। यो संकटको घडीमा काठमाडौंमा भएकाहरु उडेरै वा गुडेरै भए पनि आफ्नो गाँउ जान खोज्नुले मातृभूमिको भावना आखिरीमा महत्वपूर्ण हुनेरहेछ भन्ने कुरा प्रष्ट्याउँछ।
मातृभूमिभन्दा ठुलो चिज दुनियाँमा केही हुँदैन। सहर एउटा कथा जस्तै हो, नलेखिएको वा नदेखिएको। जब देखिन्छ वा भोग्न सुरु गरिन्छ, विस्तारै मातृभूमिसँग टाढा बनाउँछ।
सहरीया हुनुको हाम्रो व्यथा उस्तै छ। प्लस टु पास गरेपछि काठमाडौं गयौं र भन्यौं गाँउघरले रोक्न सकेन। सकिन्जेल उतै पढ्यौं, डाक्टरी गर्यौं, इन्जिन्यरिङ गर्यौं, विशेषज्ञता हासिल गर्यौं, उतै भासियौं। भन्यौ- गाँउघरले फर्किने माहोल बनाएन। उतै श्रम बेच्यौं, सहर बनायौं जवानी सिध्यायौं। हो, थियो होला सहरिया हुनुको बाध्यता!
गाँउघरमा नै इलम गरी आफ्नो दक्षताले गाँउ विकासमा लगाउनेको मर्म त हामी कहाँ बुझ्छौ र? चिकित्सक भएर यो संकटमा विकट बाजुरामा बिरामी जाँच्छु भन्दा पनि समयमा पिपिई पाइदैन, जोखिम भत्ताको त कुरै छोडौँ।
कोरोनाको लहर फेरि सुरु हुँदा अब सबैलाई जन्मभूमिको खुब याद आइराखेको छ, परिवार समाज गाँउ-ठाँउ साथीभाइ इष्टमित्र सबै आँखा वरिपरि घुमिरहेछन्। हिजोसम्म संकुचित गाँउघर प्रेम एक्कासी हावा भरिएर बेलुन झैँ फुलिरहेछ। अँ साँच्ची, हिजोसम्म डोजरले खन्दै गरेको गाउँको सडकमा उडेको धुलोलाई काठमाडौंबाट फेसबुकमा हेर्दै नाक थुन्नेहरु आज सरकारले गाँउघर फर्किन पर्याप्त समय दिएन पनि भन्दै छन्।
संकटमा मात्र उजागर हुने यो कस्तो खालको प्रेम? यो कस्तो खालको भक्ति? हाम्रा लागि सहर एउटा सपना थियो, झिलीमिली थियो, रमाइलो मोजमस्ती थियो। आफू र परिवार उकास्ने सिढीं पनि थियो तर के हामीले कहिल्यै सोच्यौँ गाँउघरका लागि हामी के थियौं? र हाम्ले के दियौं?
आखिर सोच्ने र दिने बेलामा नै त हामी सहरको सुकिला मुकिला नागरिक भएर जीवन व्यतित गरिरहेछौं! सुन आज म भन्छु हामी गाँउघरका लागि एउटा दक्ष जनशक्ति थियौं र छौं अनि विकट जन्मभूमिको विकासमा हाम्ले सानो योगदान दिन सक्थ्यौं र सक्छौं।
गाँउघरका श्रमका औजारहरु हामीलाई कुरिरहेछन्। यहाँका कोदालीहरु, दाउराका भारीहरु, हलो र असार पन्ध्रहरु हाम्रै बाटो हेरिरहेछन्। हामी काठमाडौंमा बसेर कृषि क्रान्तिका गफ गरेर देश कृषिमा आत्मनिर्भर हुन सक्दैन।
गाउँघरका कक्षा कोठाहरु, घुम्ने मेचहरु, दूरदराजका अस्पतालहरु, जनप्रतिनिधिका आसनहरु हाम्रै प्रतिक्षामा छन्। एउटा आशा गरिरहेछ हाम्रो गाउँठाउँले, जुन आर्यभावना बाल्यकालमा हरेक मनुष्यमा नै मातृभूमिले जागृत गरेको हुन्छ। त्यस्को फेरो समाउँदै साँझ परेपछि गुँड फर्किने चराहरु जस्तै एकदिन फर्किआउनेछन् गाँउघरमा नै।
साँच्चै यो नाता कस्तो हो? जवानीमा नै जननीसँग बियोगिन्छौं र बिर्सिएर जान्छौं। के हामी लाचार छौं? भूकम्प आउँदा ७२ सालमा सबैले गाउँ फर्किने अठोट गर्यौं तर विस्तारै भुल्दै गयौं। विपत्ती आउँछ, हामीलाई झस्काउँछ फेरि उही अवस्थामा फर्किन्छौं। अहिले कोरोनाको कहर छ, कतिखेर गाँउघर फर्कौं र आफन्त भेटौंको मनोदशामा गुज्रिरहेछन् सबै। तर यो कस्तो सम्बन्ध?
क्रुरताले सम्झाउने र शितलताले बिर्साउने। मातृभूमिको माया आफ्ना सन्तानप्रति सदैव रहने तर भुलेर जानेहरुको माया मुतको न्यानो मात्र ठहरिने, यो कस्तो विडम्बना?
हामी मानव जाति हौं। विषाणु, जीवाणु र प्रकृतिका अवयवहरुभन्दा पनि श्रेष्ठ भन्ठान्थ्यौं। तर कोरोना प्रकोपले हाम्रो सोच र क्रियाहरुमा पूर्णविराम लगाइदिँदै छ। हामी जहाँ जस्तो अवस्थामा छौं, त्यही बस्न बाध्य बनाइएका छौं। र हरेक चिज धारण गर्नु मानवजातीको धर्म हो, धर्म जन्मभूमिको हृदयबाट निस्केको हुन्छ।
जहाँ जता नै हाम्रो सत्ता रहेपनि जन्मभूमिको भाव खदिलो रहन्छ, जुन हाम्रो परस्पर श्रद्धा र जन्मभूमिप्रतिको सेवाले निर्धारण गर्छ।
हाम्रो जीवन, धन र सर्वस्व नै आखिर के रहेछ? यी सबैका लागि बिलौना गर्नु नै कत्तिको बुद्धिमानी रहेछ? सुन्दर सपनाको पछि पछि भागी हिँड्नेहरुले सोच्नु पर्ने छ। दुःख पर्दा, आँसु झर्दा, आफ्नोपनको मोहनी एउटा मातृभूमिले जागृत गर्न सक्छ भने किन मातृभूमि सिंगार्न हामी आफ्नो जवानी खर्च गर्न सक्दैनौं?
विकट गाँउघरमा पुरै अँधेरो मात्र देख्नेहरुले किन ज्योतिको पुञ्ज ल्याएर पोख्न सक्दैनन्? के गाँउलाई सरापेर र नेतालाई धिक्कारेर मात्र विकास हुन्छ र? जबसम्म देशले आफ्नो पुँजी, श्रम र जनशक्ति सँगसँगै जोड्न सक्दैन, हामीले हाम्रो देश भनेर गर्व गरिरहन लायकको बन्नै सक्दैन।
आखिरमा प्रकोप र महामारीले देखाउँछ हाम्रो देशको तस्बिर, हामीसँग साधन स्रोत केही छैन भन्ने कुरा। यो नहुनुमा हामी काठमाडौंमा बसेर देशविकासको फुइ लाउने विज्ञ व्यक्ति कति जिम्मेवार? कहिले सोच्नुभएको छ?
आज त महामारी छ, भोलि त किनार लाग्छ लाग्छ तर यसबाट आफू भित्र जन्मभूमि प्रेमको अंकुर हाम्ले उमारेनौँ भने युवा जनशक्तिकै अभावमा गाउँ पछाडि परिरहने छ। अनि यसैगरी हामी भने आफू संकटमा पर्दा गाँउघर पुकारिरहनेछौँ र गाँउघरले चाहेर पनि हामीलाई केही गर्न सक्ने छैन।
किनकि गाँउघर बनाउने जिम्मेवारी हाम्रो काँधमा पनि छ। यो महामारीले सबैको बुद्धि फिरोस्। केही दिनलाई होइन, सधैंलाई गाँउघर फिर्ने जाँगर चलोस्। काठमाडौं पोखरा त घुम्न आम्ला नि फुर्सदमा, हुन्न र? होलान् हतोत्साहित गर्ने स्थानीय व्यवस्था, प्रणाली र संरचनाहरु, सबै मिलेदेखि प्रश्न उठाएदेखि बाङ्गाटिङ्गा रेखाहरु पनि सिधा हुँदै जानेछन्। आशा गरौं।